Aug 19, 2015

के माओवादी नेता यसो गर्न सक्छन् ?


रामदीप आचार्य
देखिने गरि पाँच चिरा र नदेखिने गरि अनेकौं चिरामा विभक्त माओवादी आन्दोलनको निर्मम समिक्षा आज जरुरी बन्न गएको छ । समिक्षाको मूल दुईवटा विषय हुनु पर्दछ । विगतमा कहाँ चुकियो र अबको दिशा के हुनु पर्दछ ?
वैज्ञानिक आलोचना आवश्यक
हामीले समस्याको सहि समाधान चहाने हो भने सहि विधिको अवलम्बन गर्नै पर्दछ । यो सहि विधि भनेको “वैज्ञानिक आलोचनामा आधारित हरेक विचारलाई स्वागत गर्नु ” हो । मालेमावाद समाजको नेतृत्व गर्ने विज्ञान हो । यो विज्ञान भएको नाताले आलोचनादेखि डराउँदैन । जहाँसम्म पूर्वाग्रह,कुण्ठा र प्रतिशोधको सवाल छ हाम्रो बहशसँग त्यसको कुनै साइनो नै छैन ।
समाजवादको पराजय ससैद्धान्तिक कि अस्थायी ?
कार्ल माक्र्सले परिवार,स्वास्थ्य र सुखको वलिदान गरेर जीवनभरमा जे अनुुसन्धान गरे उनकै शव्दमा “अतिरिक्त मूल्यको सिद्धान्त र ऐतिहासिक भौतिकवाद ” थियो । द्धन्द्धात्मक भौतिकवादको चश्मा जब समाजको अध्ययन गर्न प्रयोग गरियो तब ऐतिहासिक भौतिकवाद बन्यो । महाविष्फोटदेखि आजसम्म जसरी प्रकृति निरन्तर परिवर्तनशिल छ त्यसरी नै समाज पनि हाम्रो पूर्खा बाँदरबाट अलग भएदेखि निरन्तर परिवर्तनशिल छ । यो नै ऐतिहासिक भौतिकवादको सार हो । आजसम्मको मानव समाजको अध्ययनका आधारमा आदीम,दास प्रथात्मक,सामन्ती र पूँजीवादी समाज व्यवस्थाको संश्लेष्ण गरे । यस पछिको समाज व्यवस्था समाजवादी हुने निश्कर्ष निकाले । त्यो समाजवाद सामन्ती समाजवाद,काल्पनिक समाजवाद र लोकतान्त्रीक समाजवाद भन्दा भिन्न वैज्ञानिक समाजवाद हुने निश्कर्षको सार हो ।
वैज्ञानिक समाजवादको पहिलो प्रयोग भूमि सोभियत रुस हो । त्यस पछि चीन र संसारका अन्य मुलुहरुमा पनि लागु गरियो । पचहत्तर वर्ष नकाटेरै सोभियत रुसको विघठन भयो । माक्र्स र एंगेल्सको क्रान्ति सम्बन्धि मत थियो कि विश्वका विकसित देशहरुका अमेरिका,बेलायत, जर्मनी र फ्रान्समा एकैसाथ क्रान्तिको ज्वारभाटा उठ्ने र संसारभर फैलने छ । लेनिनले भने क्रान्ति त्यहाँ हुन्छ जहाँ साम्राज्यवादकोे सांङलो सबैभन्दा कमजोर हुन्छ । यही सूत्र रुसमा लागु भयो । क्रान्ति सम्पन्न भएको लगत्तै सत्ताच्युत वर्ग र वैदेशिक साम्राज्यवादी षड्यन्त्रको कारण “नयाँ आर्थिक नीति” को रुपमा राजकीय पूँजीवाद लागु गर्नु परेको थियो । लेनिनको विश्लेषणमा राजकीय पूँजीवाद नीजि पूँजीवादको तुलनामा प्रगतिशिल हुन्छ र यसले समाजवादमा जाने आधार तयार गर्छ । लेनिनको मृत्यु पछि स्टालिनको नेतृत्वमा समाजवादी निर्माणको काम अगाडी बढ्यो । दोश्रो विश्व युद्धमा फाँसीवादका विरुद्धको मोर्चामा सफलता पनि प्राप्त गर्यो । स्टालिनको मृत्यु लगत्तै ख्रुश्चोभ सत्तामा आयो र समाजवादको पतन शुरु भयो । माओले ख्रुश्चोभ कालिन रुसलाई “नाममा समाजवादी काममा साम्राज्यवादी, सारमा सामाजिक साम्राज्यवादी ”भने । आजको चीनको “बजार समाजवाद” नामको समाजवाद कामको पूँजीवाद नै हो ।
आज संसारमा पाँच थरि माओवादीहरु छन् पहिलो, सत्तामा रहेका कम्युनिष्टहरु पाँचवटा देशहरु चीन,भियतनाम,क्युवा,उत्तर कोरिया र लाओस दोश्रो, सरकार र सदनमा रहेका कम्युनिष्टहरु नेपाल लगायत संसारका पचास भन्दा बढी देशहरुमा छन् तेश्रो, सडकमा रहेका कम्युनिष्टहरु नेपाल लगायतका देशहरुमा छन् चौथो, सशस्त्र संघर्ष गरिरहेका कम्युनिष्टहरु भारत, फिलिपिन्स, टर्कि, पेरु लगायतका देशहरुमा पाँचौं अनलाइन,गुगलहरुमा,गोष्ठि र सेमिनारमा आधारित कम्युष्टिहरु । जे भए पनि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ ।
समाजवादको असफलताबारे मूलतः दुई वटा मतहरु छन् पहिलो मत छ कि समाजवाद असफल हुनु नै थियो किनकी यो खराब सिद्धान्तमा आधारित थियो । यो मत राख्नेहरु तिनीहरु हुन् जसलाई समाजवादले चिहानमा पुर्याउन चहान्छ । दोश्रो थरि मत छ कि समाजवादलाई ठिक ढंगले लागु नगरिएकोले असफल भएको हो । पहिलो मतवाला समाजवादको असफलतालाई सैद्धान्तिक पराजय ठान्दछन् भने दोश्रो थरि मत राख्नेहरु समाजवादको अस्थायी पराजय ठान्दछन् ।
सर्वहारावर्गको अधिनायकत्व भनेको एक दलिय शासन नै हो त ?
वर्गको प्रतिनिधि पार्टी र पार्टीले चलाउने शासन नै सर्वहारा वर्गको अधिनायकत्व हुन गयो । सिद्धान्तत: जनवादी केन्द्रीयताको आधारमा पार्टी र सत्ता संञ्चालन गरियो । खासमा पार्टी र सत्ता जनवादको जगमा होइन नोकरशाही तरिकाले सञ्चालन भए । जसलाइ जनताले अपनत्व गर्न छोडे र प्रतिक्रान्ति हुँदा पनि साथ दिएनन् । देशको प्रतिनिधित्व वर्गले , वर्गको प्रतिनिधित्व पार्टीले , पार्टीको प्रतिनिधित्व केन्द्रीय समितिले र केन्द्रीय समितिको प्रतिनिधित्व केही मुट्ठीभर केन्द्रीय नेताहरुले गर्न थाले । सर्वहारावर्गको अधिनायकत्व बहुुसंख्यकले अल्पसंख्यक माथि गर्ने शासन होइन मुट्ठीभर मान्छेले विशाल संख्यामाथि गर्ने शासन जस्तो बन्न गयो । वर्ग शासन र पार्टी शासन फरक भएन । चीनमा त अहिले पनि चीनियाँ कम्युनिष्ट पार्टी बाहेकका आठवटा नाम मात्रका दलहरु छन् जो कम्युष्टि पार्टीका कामदार जस्ता मात्रै छन् ।
दिशाविहिन यात्रामा नेपालको माओवादी आन्दोलन
देखिने गरि पाँच टुक्रामा र नदेखिने गरि अनेकौं गुट र उपगुटमा माओवादीहरु विभक्त छन् । राजनैतिक उद्देस्य अस्पष्ट, संगठन भद्रगोल, विकृति चरम भएको अवस्थामा माओवादीहरु छन् । भन्नलाई एमाओवादीसँग जनवादी क्रान्ति मूलतः पूरा भएकोले समाजवादी क्रान्तिको आधार तयार गर्ने कार्यदिशा छ । समाजवादी क्रान्तिको आधार तयार गर्ने न त राजनैतिक कार्यक्रम छ न त संगठन नै । बरु अर्को फूटको संघारमा उभिए जस्तो देखिन्छ । ने.क.पा.–माओवादी सँग जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशा छ । न त यो कार्यदिशा प्रष्ट छ न त यो कार्यन्वयन हुने संभावना नै । ने क पा माओवादी सँग पनि एकिकृत क्रान्तिको सिद्धान्त छ । यो सिद्धान्तवाला सँग जोश त छ तर भिजन पुरै धुमिल छ । कुन ढोकाबाट पसेर कुन ढोकाबाट निस्कने भन्ने सुस्पष्ट खाका छैन । आजको माओवादी आन्दोलनको मूल समस्या भनेको दिशा सूचक यन्त्रको अभावमा कुहिरो भित्र पसेको जहाज जस्तो भएको छ । यही यन्त्रको अभावमा क्रिष्टोफर कोलम्बस भारत जान भनेर यूरोपबाट हिंडेका अमेरिका पुगे र “अमेरिका पत्ता लगाए ” । यसरी नै हिडेर नेपालका माओवादीहरु मध्य कसैले समाजवाद पो पत्ता लगाउने हुन् कि ? भन्न गाह्रो छ ।
आजको दिशा सूचक यन्त्र कुन् हो त ?
नेपालीमा एउटा अहान छ हिड्दै जाँदा बाटो बिरायो भने पुरानै बाटो फर्कने र नयाँ बाटो खोज्ने । यो सूत्रलाई नेपालका माओवादीहरुले लागु गर्नु पर्दछ । पाँच टुक्रामा विभाजित माओवादीहरु लाज नमानिकन एक ठाँउमा बस्ने व्यव्स्था गर्ने र अगाडीको बाटोको बारेमा सल्लाह गर्ने ।
पार्टी विपरितहरुको एकत्व भएकाले भिन्न विचारहरुलाई सम्मानपूर्वक छलफल गर्ने नीति र विधिको विकास गर्ने । सैयौं फूलहरु फुल्न दिने र विचारका सैयौं धारहरुलाई प्रतिस्पर्धा गर्न दिने विधि लागु गर्ने । छलफलमा स्वतन्त्रता र काम कारवाहीमा एकरुपतालाई लागु गर्ने । अति केन्द्रीयता र अति जनवादबाट पैदा हुने नोकरशाही केन्द्रीयता र अराजकताको अन्त्य गर्ने । अधिकार सहितको कर्तव्यको पालना गर्ने । सबै तहका समितिहरु निर्वाचित गर्ने तर निर्वाचन ज्ञानेन्द्रको नगर निर्वाचन जस्तो होइन । जनवादको उच्चतम् अभ्यासले मात्रै उन्नत स्तरको केन्द्रीयता सम्भव हुन्छ भन्ने सच्चाइको आधारमा ।
माओवादी आन्दोलनको पुनगर्ठनको लागी के गर्ने ?
प्रचण्ड र प्रचण्ड नजिकको समूहले गर्नु पर्नेः नेता सँधै भइरहने तर आन्दोलन सकिदै जाने अवस्थाको निर्मम समिक्षा गर्नु पर्दछ । विचार, राजनीति , संगठन र कार्यशैलीमा रहेका कमजोरीहरु हटाउन र सच्चाउन तयार हुनै पर्दछ । मुख्य जिम्मा म लिन्छु भनेर मात्रै पुग्दैन ।
किरण–बादलले गर्नु पर्ने : हेडक्वाटर मध्येको आधा आफै भएर पनि माओवादी आन्दोलन सकिनुको पुरै दोष अरुलाई थोपरेर उम्किन सकिदैन । आफ्नो तर्फबाट भएको कमजोरीको निर्मम समिक्षा गर्नु पर्दछ । नियत नराम्रो नभएर मात्रै पुग्दो रहेनछ । विज्ञानको नियतसँग खासै उस्तो साइनो पनि छैन ।
बाबुराम र बाबुराम नजिकको समूहले गर्नु पर्ने काम : यो धर्तिको सबैभन्दा ठूलो र नयाँ शक्ति भनेको श्रमजीवि वर्ग नै हो । शक्तिको खोजीमा कस्तुरी बन्न जरुरी छैन । बाबुराम जस्तो विद्वानले गोजीको गुमाएर भूइको टिप्ने मूर्खता नगर्दा राम्रो ।
विप्लवले गर्नु पर्ने काम : क्रान्तिको लागी क्रान्तिकारी सिद्धान्त चाहिन्छ यो पहिलो शर्त हो । त्यो सिद्धान्तलाई लागु गर्ने क्रान्तिकारी पार्टी चाहिन्छ ,यो दोश्रो शर्त हो । क्रान्तिकारी पार्टी भित्र योग्यतम् जनरल स्टाफ चाहिन्छ, यो तेश्रो शर्त हो । हरेक क्रान्तिले क्रान्तिकारी विज्ञानका नियमलाई लागु गर्नै पर्दछ । नभए त्यो क्रान्ति नभएर अरुनै हुन जान्छ ।
नारायणकाजी र नारायणकाजी नजिकको समूहले गर्नु पर्ने काम : माओवादी आन्दोलनलाई जुटाउनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ । अन्तरविरोध भित्र फाइदा लिनेमा होइन । तत्कालिन माओवादी र एकता केन्द्र मसाल विचको एकता पछि नै देखिने गरि संगठनात्मक वेथितिको सुरुवात भएको हो । अब सच्याउनमा सक्रिय पहल लिनु पर्दछ ।
र , अन्त्यमा, प्रचण्डको गतिशिलता र बहुआयाकिता सहितको नेतृत्व क्षमता, किरणको सिद्धान्त निष्ठता र इमान्दारिता, बाबुरामको बौद्धिकता,बादलको शालिनता र योजनाबद्धता,नारायणकाजीको प्रष्टता,विप्लवको गतिशिलता र चलाखपन अनि मात्रिका र मणिहरुले गरेको योगदान सबैलाई मिलाउने अरु सयौं नेताहरु र हजारौं कार्यकर्ताहरु ,सहिद परिवार र वेपत्ता योद्धा परिवारहरु ,घाइते योद्धाहरु र करोडौं जनसमुदायहरु सबैले नयाँ माओवादीको अपेक्षा गरेका छन् । यो नयाँ माओवादी एकताबद्ध र क्रान्तिकारी माओवादी हो । नयाँ हुँकार र गर्जन बोकेको माओवादी हो । सतिसाल झै उभिन सक्ने माओवादी हो । ध्वँस जस्तै निर्माणमा पनि अब्बल माओवादी , दुःखमा जस्तै सुखमा पनि साथमा रहने माओवादी आजको आवश्यकता हो । डायनोसर बन्ने कि वर्तमानको चालक हाम्रै हातमा छ ।
(लेखक नेकपा–माअ‍ोवादीका केन्द्रीय सदस्य हुन् । )

No comments:

Post a Comment

पपुलर पोस्टस्