आदरणीय जनसमुदाय
एवम् पत्रकार मित्रहरु,
ऐतिहासिक
संविधानसभाको दुःखद् विघटन र विकसित राजनैतिक घटनाक्रमबारे एकीकृत नेकपा
(माओवादी)को धारणा स्पष्ट पार्न आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित तपाईहरुलाई
धन्यवाद दिन चाहन्छु । र यस भेटघाटमार्फत् आम जनसमुदायलाई सत्य-तथ्य बुझाउन सहयोग
गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
२०६९ जेठ १४ गते
मध्यरातमा संविधानसभामार्फत् नेपाली जनताको अग्रगामी नयाँ संविधान बनाउने
आकांक्षालाई तुषारापात गरिएको छ । सबैलाई थाहा छ कि संविधानसभा महान् जनयुद्ध, ०६२/६३
को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, आदिबासी
जानजाति, दलित,
महिला र पिछडिएका क्षेत्र
लगायत तमाम उत्पीडित वर्ग, जाति,
समुदायको संघर्षको
संयुक्त परिणाम थियो । यस्को स्थापनाका पछाडि महान् सहिद, वेपत्ता
र घाइते योद्धाहरुको त्याग बलिदान र नेपाली जनताको बीरता, शौर्यको
गाथा रहेको छ । वास्तवमा संविधानसभाको संघर्ष, निरंकुश
राजतन्त्रको अन्त्य गरी गणतन्त्र,
संघीयता, धर्मनिरपेक्षता, समानुपातिक
सहमागिता स्थापनाको लडाई थियो । त्यसैले संविधानसभाभित्र हामी कहिल्यै पनि एकथान
संविधान बनाउन जुटेका थिएनौं । हाम्रो अभिष्ट नेपालको नयाँ राष्ट्रिय एकीकरणका
लागि थियो । त्यसैलेसंविधानसभाका बैठकहरु र राजनैतिक दलसँगका वार्तामा हामीले
उत्पीडित वर्ग, जाति,
क्षेत्र र लिंगका मागलाई
जोडदार ढंगले राखेका थियौं । मजदूर,
किसान, महिला, आदिवासी
जनजाति, दलित,
मधेसी समुदाय र पिछडिएका
क्षेत्रका जनताका माग चाहना र सपनानै हाम्रा एजेण्डा थिए र त्यसका लागि हामीले
अन्त्यसम्म लडेका थियौं । आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै स्वशासित र
स्वायत्तताको पूर्ण व्यवस्था भएको पहिचानसहितको संघीयता हाम्रो तात्कालिन गन्तव्य
बन्यो । वास्तविक समानतासहितको नयाँ राष्ट्रिय एकता कायम गर्न हामीले अन्त्यसम्म
पहल गर्यौं । हामी कुनै जाति विरुद्ध थिएनौं र हुँदैनौं । अधिकारसहितको राष्ट्रिय
एकताद्वारा नै नेपालका सबैजाति जनजातिहरुलाई एकताबद्ध गरेर सम्बृद्ध राष्ट्र
निर्माणको बाटोमा लाग्न हामीले सचेत प्रयास गरेका थियौं । पहिचानलाई सुनिश्चित
गर्दै प्रदेशहरुको निर्माण,
अंश र वंशमा बराबर अधिकार
प्रदान गर्दै महिलालाई प्रत्याभूत गर्न खोजिएका अधिकारहरु, समानुपातिक
सहभागिताको सिद्धान्तहरुमा दृढ रहदै नयाँ राज्यको निर्माण र नीति निर्माणका सबै
तहमा उत्पीडित, आदिबासी जनजाति र मधेसीहरुको सहभागिता, दलित, मुस्लिम
र महिलाका लागि विशेषाधिकारको व्यवस्था गर्ने सवालमा हामीले कहिँ कतैं सम्झौता
गरेका थिएनौं । अन्तरिम संविधानले समेत ध्यान दिन नसकेको ब्राम्हण, क्षेत्री
लगायत आर्य खसहरुको पहिचान हक अधिकार सुनिश्चित गर्न पनि हाम्रो पार्टीले पहल
लिएकै थियो ।
नेपाली जनताको
चाहना अनुरुप नै ‘वेष्ट मिनिस्टर प्रणाली’बाट
देशलाई मुक्त पारेर राजनैतिक स्थायित्व र स्थिरता प्रदान गर्न जनताबाट चुनिएको
कार्यकारी प्रमुखसहितको अधिकार बाँडफाँड भएको मिश्रति शासकीय स्वरुपका लागि
सम्झौता गरेका थियौं । शिक्षा,
स्वास्थ्य, रोजगारी, खाद्य
सम्प्रभुता र आवाश जस्ता जीवनका संवेदनशील विषयलाई मौलिक अधिकारमा समावेश गरी
सामाजिक आर्थिक रुपान्तरणको नयाँ प्रक्रियामा जाने आधारहरु प्रदान गरिएका थिए ।
सबै पक्षमा सामन्ती उत्पीडनलाई अन्त्य गर्ने सन्दर्भमा वर्णव्यस्थाजन्य छुवाछुतलाई
खतम गर्ने गुणात्मक व्यवस्था गरिएको थियो । सामन्ती शोषणलाई अन्त्य गर्ने
प्रक्रियामा उत्पीडक वर्गलाई क्षतिपूति दिने मान्यतालाई हामीले दृढतापूर्वक
अस्वीकार गरेका थियौं । सारमा भन्दा नेपाली जनताको सामन्तवाद र साम्राज्यवाद
विरोधी संविधानका लागि लडेका थियौ । र त्यो पहिचानसहितको संघीयता स्थापना गर्ने कि
नगर्ने विषयमा गएर अन्तरविरोध संकेन्द्रीत हुन पुग्यो । देशलाई पहिचानसहितको
संघीयतामा जान दिन नचाहने एकात्मकतावादीहरु घोर पुरातनवादी र यथास्थितिवादीहरुले
संविधानसभालाई सफल हुन दिएनन् । संविधानसभा यस्तै दुर्घटनामा पर्ला भन्ने सोचेर नै
हामीले तीन महिना समय थपेर भए पनि संविधान बनाउने वैकल्पिक बाटो खोजेका थियौं ।
सर्वोच्च अदालतको आदेशलाई स्वागत गर्नेहरुले नै सो आदेश कार्यान्वयन गर्न सरकारले
गरेको चुनावी घोषणालाई असंवैधानिक भनी विरोध गर्नेहरुको लोकतन्त्रको आवरण पनि
उदाङ्गएिको छ । तिनै तत्वहरुले अदालतलाई पनि उत्प्रेरित गरेर सामाजिक सद्भावसहितको
समृद्ध राष्ट्र बनाउन अवरोध पार्न उद्यत् भए ।
सबैलाई ज्ञात नै छ
शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण काम सेना समायोजन गरेर हामी संविधान निर्माणमा
जुटेका थियौं । परिवर्तन, गणतन्त्र र संघीयतालाई संस्थागत गर्नु नै
हाम्रा थातिरहेका मुख्य जिम्मा थिए । शान्ति प्रक्रिया पूरा भएको एक हप्ताभित्र
संविधान बनाउछौं भनेर जनताका अगाडि झुट कुरा गर्नै संघीयता विरोधीहरुले २०६९ जेठ
१४ गते संविधानसभाको हलमा प्रवेश गर्ने साहस समेत गरेनन् । हामीले प्रक्रिया
-मतदान) मा गएर संविधान निर्माण गर्न गरेका पटक-पटकका प्रस्तावलाई अस्वीकार मात्र
गरिएन अपितू हिजोको ऐतिहासिक दिनमा सभासद्हरुसँग गएर आ-आफ्ना अडानहरु प्रष्ट राखौ
भन्दा त्यसलाई समेत स्वीकार गरिएन । जनतामा रहेको सार्वभौम अधिकारको आफ्ना
प्रतिनिधिमार्फत् प्रयोग गर्ने निर्णय प्रक्रियामा सहभागी हुने अधिकार समेत उपयोग
गर्न वञ्चित गरियो । जनतालाई प्रतिनिधित्व गर्ने मधेसी, आदिवासी
जनजाति, दलित महिला, मुस्लिम
र पिछडिएका क्षेत्रका जनताका शक्तिसँग त्रसित, प्रतिक्रियावादीहरुले
संविधानसभाको बैठक समेत हुन नदिएर नेपाली जनता विरुद्ध गरेको षड्यन्त्र र अपराधको
फैसला नेपाली जनताले गर्ने नै छन् । यो प्रक्रिया अघि बढाउन नचाहने विभिन्न
प्रवृत्ति र पात्रहरुबारे मुल्यांकन गर्ने जिम्मा हामी जनतालाई दिन्छौं । यस
सन्दर्भमा हामी कमजोरीबाट मुक्त छौं भन्ने हाम्रो मनसाय होइन । हामीबाट पनि गल्ती
भएका छन् । हामी नेपाली जनतासँग त्यसका लागि विनम्रतापूर्वक माफी माग्दछौं । र
फेरि पनि संविधानसभाको चुनाव गराएर जनतामा गएर नै हामी यो गल्ती कमजोरीलाई
सच्याउँदै आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छौं ।
हिजो संविधानसभा
भंग गरी नेपाली जनतालाई निराशा र अध्यारो मार्गतर्फ धकेल्ने षड्यन्त्र विरुद्ध
सरकारले संविधानसभाको अर्को निर्वाचनको मिति घोषणा गरेर आशा र उज्यालोको बत्ति
बालेको छ । हाम्रो पार्टी यसलाई स्वागत गर्दछ । यसले संक्रमण काललाई चाडै अन्त्य
गर्न सहयोग पुग्ने विश्वास गरेका छौं । नयाँ निर्वाचन र नयाँ जनादेश लिने सर्वोच्च
अदालतले दिएको विकल्प अनुरुप वाध्यात्मक स्थितिमा सरकाले लिएको यो कदम संवैधानिक
तथा लोकतान्त्रिक छ ।
देश ज्यादै
अप्ठेरो स्थितिमा छ । यस्तो बेला राजनैतिक सहमतिको अझ बढी आवश्यकता छ । आग्रह
पूर्वाग्रह नराखी राष्ट्रिय सहमतिको सरकार निर्माण लगायतका विषयमा नयाँ समझदारी
बनाउन हामी सबै राजनैतिक दलहरुलाई आग्रह गर्दछौं । देशलाई अनावश्यक द्वन्द र
अराजकतातर्फ जान नदिन सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ । राजनैतिक दलहरुले
मिलेर नै गल्ती कमजोरीको समीक्षा गरी देशलाई निकास दिनुपर्छ । त्यस प्रकारको एकता, सहमति
र निकासको अर्को विकल्प हामीसँग छैन ।
यस अवस्था हामी
पार्टीका तमाम् कमरेडहरुलाई भ्रमबाट मुक्त भएर एकताबद्ध हुन पनि आव्हान गर्दछौं ।
पार्टीले पहिचानसहितको संघीयता छाड्दैछ भनेर पार्टी पंक्तिमा भ्रम छरिएको थियो ।
घटनाक्रमले सबै कुरा स्पष्ट पारेको छ । पार्टीभित्रको अस्वस्थ वातावरणलाई स्वस्थ
बनाएर एकताबद्ध हुन हामी सम्बन्धित सबै कमरेडहरुलाई आव्हान गर्दछौं ।
जनयुद्ध, जनआन्दोलन, मधेस
आन्दोलन, आदिबासी जनजाति लगायत सबै उत्पीडित वर्ग, जाति
र लिंगको स्वाधिनताको संघर्ष सकिएको छैन । वास्तवमा संविधानसभाभित्र उत्पीडितहरुको
प्रतिनिधीहरुका बीच देखिएको एकताले संघीयता विरोधीहरु अतालिएका छन् । यो संघर्षलाई
सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विघटित संविधानसभाका सबै सदस्यहरुलाई हामी
बधाई दिन चाहन्छौं र आगामी दिनमा समेत त्यो एकता कायम रहने विश्वास व्यक्त गर्दछौं
।
१५ जेठ, २०६९
प्रचण्ड
अध्यक्ष
ए.ने.क.पा.
(माओवादी)
No comments:
Post a Comment