Nov 1, 2015

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संक्षिप्त परिचय:

उन्नाइसौं शताब्दीको पूर्वार्द्धतिर जुन सबैखाले पुँजीवादले चरम विकास गर्दै अगाडि बढ्यो र त्यसको गर्भबाट त्यसकै चिहान खन्ने शक्तिका रुपमा औद्योगिक मजदुर वर्गको जन्म भयो, त्यही अवधिमा पुँजीवाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायको युगान्तकारी तथा ऐतिहासिक अभियानलाई विश्व कम्युनिष्ट आन्दोलन भनिन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका संस्थापक नेता कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) हुनुहुन्छ । अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको पहिलो सैद्धान्तिक आधार सन १८४८ मा बनेको कम्युनिष्ट घोषणापत्र हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विचारधारा र पथप्रदर्शक सिद्धान्त माक्र्सवादको नाममा विकसित माक्र्सवाद हो । माक्र्सवादका तीन संघटक अंग छन्, यी अंगहरुको पहिलो विश्लेषण लेनिनले गर्नु भयो । ती हुन् : दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।  कम्युनिस्टहरुको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवादको जग र अतिरिक्त मूल्यको सिद्धान्तका आधारमा राजनीतिक अर्थशास्त्र बनेको छ । अर्थशास्त्र आधार हो भने राजनीति उपरिसंरचना हो । यस प्रकारको दर्शन र अर्थशास्त्रको निष्कर्ष नै वैज्ञानिक समाजवाद हो ।

माक्र्सवादको मूल मान्यता भनेको दुनियाँलाई बुझ्नु र मुख्यतः बदल्नु हो । साथै बदलेकै वस्तुको संरक्षण गर्नु पनि हो । माक्र्सवादको मार्गनिर्देशन र पथप्रदर्शकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको निर्माण र विकास भइरहेको छ । अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन भीषण दुइलाइन संघर्ष, अन्तर्संघर्ष, वर्गसंघर्ष,  क्रान्ति, प्रतिक्रान्ति र उतार–चढावका बीचबाट भइरहेको छ । आज विश्वसर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद–माओवादका रुपमा विकसित भइरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक अभिन्न अंग हो ।

आज अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अत्यन्तै महत्वका साथ अध्ययन गर्न जरुरी छ । नेपाली कम्युनिस्ट आन्दोलनको ६८ वर्षको यस ऐतिहासिक अवधिमा यसले भीषण दुइलाइन संघर्ष, अन्तर्संघर्ष, जनसंघर्ष, वर्गसंघर्ष र दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी र क्रान्तिकारी धाराको भीषण दुईलाइन संघर्षका बिचबाट अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास कम्युनिस्ट लिग (सन् १८३६–१८५२) को इतिहाससित जोडेर अध्ययन गर्न जरुरी छ ।

एंगेल्सको शब्दमा यो नै ‘विश्व इतिहासको पहिलो अन्तर्राष्ट्रिय मजदूर आन्दोलन’ थियो । सन् १८३६ मा जर्मन आप्रवासीहरुले फ्रान्समा न्यायिक लिग गठन गरेका थिए । सन् १८४३ मा यसैलाई परिवर्तन गरेर कम्युनिस्ट लिगको गठन गरिएको थियो । यो नै कम्युनिस्ट पार्टीको पहिलो संगठन थियो । सन् १८४७ मा जेनेभामा कम्युनिस्ट लिगको दोश्रो महाधिवेशन सम्पन्न गरियो । त्यसमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स पनि उपस्थित हुनु भएको थियो । लिगको दोश्रो महाधिवेशनले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मेवारी दियो ।

माक्र्स–एंगेल्सले एक वर्ष लगाएर उक्त कम्युनिस्ट घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नु भयो । यसमा माक्र्स एंगेल्सले ठूलो बौद्धिक, दार्शनिक, सैद्धान्तिक, राजनीतिक क्षमता प्रदर्शन गर्नु भयो । यही घोषणापत्र नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पहिलो सैद्धान्तिक आधार बन्यो । त्यसपछि विश्वसर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको सैद्धान्तिक अस्त्रका रुपमा माक्र्सवादलाई प्राप्त गर्‍यो ।

यस विषयमा लेनिनले यसरी दर्शाउनु भएको छ,– ‘यो दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रुपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।’माओले यसलाई यसरी संश्लेषण गर्नु भएको छ,– ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ; माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो, यदि यसलाई मनन् गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःखकष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।’

यस विषयमा माक्र्स स्वयम्ले यसरी व्याख्या गर्नु भएको छ– ‘जसरी दर्शनले सर्वहारावर्गममा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।’सन् १८५२ मा कम्युनिस्ट लिगको विघटन हुन पुग्यो । सन् १८६४ मा कार्ल माक्र्सको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रियको गठन भयो । माक्र्सवादको जन्म सँगसँगै अवसरवादको जन्म र विकास हुदै जानु पनि स्वाभाविक थियो । प्रथम अन्तर्राष्ट्रियमा अराजकतावाद र अवसरवादका विरुद्ध माक्र्सले कडा सैद्धान्तिक बहस चलाउनु पर्‍यो । त्यही अवधिमा पेरिस कम्युनको निर्माण भयो । सुरुमै प्रतिक्रियावादी सत्तावाट आक्रमण भयो । ७२ दिन पछि पेरिस कम्युनको विघटन हुन पुग्यो । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियलाई पनि स्वयम माक्र्सद्वारा विघटन गराइयो । सन् १८८३ मार्च १४ मा माक्र्सको निधन भयो ।

सन् १८८९ मा फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । सुरुमा यसले राम्रै भूमिका खेलेको थियो । सन् १८९५ अगष्ट ६ मा एंगेल्सको निधन भयो । एंगेल्सको निधन भएपश्चात सन् १८९६ मा एडवर्ड बर्नस्टिन (१८५०–१९३२) ले दोस्रो अन्तर्राष्ट्रिय भित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेश गरे । त्यसैले वर्नस्टिनलाई शास्त्रीय संशोधनवादका जन्मदाता भनिन्छ । यसरी विधिवत रुपमा वर्नस्टिनबाट माक्र्सवादका विरुद्ध संशोधनवादको विजारोपण भयो । प्लेखानोभ रुसका पहिलो माक्र्सवादका प्रचारक थिए ।

उनले सन् १८८३ मा रुसमा ‘मजदुर मुक्ति दल’ गठन गरेका थिए । यो नै सोभियत रुसको पहिलो कम्युनिस्ट पार्टी थियो । यही नै रुसमा स्थापित कम्युनिष्ट पार्टी थियो । यसलाई लेनिनले नयाँ ढंगले विकास गर्नु भयो । सन् १९०३ मा रुसी कम्युनिस्ट पार्टी भित्र ठूलो अन्तरसंघर्ष चर्कियो र ‘बोल्सेविक र मेन्सेविक जन्म भयो । वोल्सेविकको नेतृत्व लेनिनले गर्नुभयो । मेन्सेविकको दक्षिणपन्थी बाटो तय गर्‍यो । सन् १९१४ मा दोस्रो अन्तर्राष्ट्रियको विघटन भयो । लेनिनले दक्षिणपन्थी संशोधनवाद तथा मध्यपन्थी अवसरवादका विरुद्ध समेत कडा सैद्धान्तिक संघर्ष चलाउनु भयो । र लेनिनको नेतृत्वमा सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन भयो ।

यी तीनवटै अन्तर्राष्ट्रियले समाजवादका लागि सर्वहारा अन्तर्राष्ट्रिय संघर्षको जग बसाल्यो । दोस्रो अन्तर्राष्ट्रियको अवधि त्यो अवधि थियो, जब कैयौं देशहरुमा यस आन्दोलनको व्यापक तथा जनवादी रुपमा विस्तारका लागि जमिन तयार गरि दियो । तेस्रो अन्र्तराष्ट्रियले दोस्रो अन्तर्राष्ट्रियका उपलब्धिहरुलाई समेट्यो, त्यसका अवसरवादी सामाजिक अन्धराष्ट्रवादी, पुँजीवादी तथा निम्न पुँजीवादी दोषहरुलाई निकालेर फाली दियो र त्यसले सर्वहारावर्गको अधिनायकत्वलाई व्यवहारमा लागु गर्न शुरु गर्‍यो ।’



लेनिनले ‘पुँजीवादको चरम अवस्था साम्राज्यवाद हो र साम्राज्यवाद वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला हो’ भन्नु भयो । ‘पुजीवादीले विकास गरेर समाजवादी क्रान्तिका लागि पूर्वाधारहरु निर्माण भइसकेको एउटै देशमा पनि समाजवादी क्रान्ति गर्न सकिने अवधारणा अघि सार्दै आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण संघर्षको युग हौं’ भन्दै लेनिनले आफ्नै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ तारिखका महान रुसी अक्टुबर क्रान्ति सम्पन्न गरेर सर्वहारावर्गको अघिनायकत्व स्थापित गर्नु भयो । महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले विश्वभरका उत्पीडित र जनसमुदाय तथा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि ठूलो शिक्षा र प्रेरणाको श्रोत बन्न पुग्यो ।

त्यस पछि एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका लगायतका विश्वका कैंयन देशहरुमा माक्र्सवाद लेनिनवादको पथप्रदर्शकमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु निर्माण हुन पुगे । लेनिनको मृत्यु पछि तेस्रो अन्तर्राष्ट्रियको नेतृत्व स्टालिनले गर्नु भयो । स्टालिनले लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवादको रुपमा स्थापित तुल्याउनु भयो । उहाँले एकातिर भीषण दुईलाइन संघर्षका बिचबाट रुसमा समाजवादलाई स्थापित गर्नका लागि विशेष प्रयत्न गर्नु भयो भने अर्कोतिर भूमिका निर्वाह गर्नु भयो । यस प्रक्रियामा स्टालिनका कतिपय कमी, कमजोरी र सीमा पनि रहे । सन् १९३९–१९४५ सम्म दोस्रो विश्वयुद्ध चल्यो ।

दोस्रो विश्वयुद्धको प्रक्रियामा सन् १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको विघटन भयो । सन् १९४५ मा उत्तर कोरिया र उत्तरी भियतनाममा मुक्ति आन्दोलन सफल भएर समाजवाद लागु गरिएको थियो भने सन् १९४९ मा माओत्सेतुङ नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । सन् १९५३ मार्च ५ तारिखका दिन स्टालिनको निधन भयो । स्टालिनको निधनपश्चात, सोभियत रुसमा प्रतिक्रान्ति भयो । ख्रुश्चोब रुसको कम्युनिस्ट पार्टी र सन् १९५६ मा सोभियत सरकारले नेतृत्वमा आएपछि कम्युनिस्ट पार्टीले २० औं महाधिवेशनको आयोजना गर्‍यो । त्यसबेला ख्रुश्चोव रुसी कम्युनिस्ट पार्टीका महासचिव र सोभियत राष्ट्रपति थिए ।

उनले त्यस महाधिवेशनमा संशोधनवादी लाइन पारित गराए । उनले रुसी कम्युनिष्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरे । ख्रुश्चोबलाई आधुनिक संशोधनवादका संस्थापक भनिन्छ । यता चीनमा पनि सन् १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले आठौं महाधिवेशनको आयोजना ग¥यो । त्यस महाधिवेशनमा ल्यू साओ चि. मण्डलीले पुँजीवादी लाइन घुसायो र त्यही पारित भयो र चीनमा पनि प्रतिक्रान्ति भयो ।

यसै क्रममा कमरेड माओत्सेतुङले संशोधनवादका विरुद्ध महान बहस छेड्नु भयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओद्वारा नेतृत्व गरिएको क्रान्तिकारी धारा र ख्रुश्चोबद्वारा नेतृत्व गरिएको दक्षिणपन्थी अवसरवादी धाराबीच भीषण दुई लाइन संघर्ष चल्यो । यस संघर्षमा भियतनाम लगायतका कतिपय कम्युनिस्ट पार्टीहरुले मध्यमार्गी भूमिका खेल्न पुगे । अन्ततः अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन क्रान्तिकारी धारा र अवसरवादी धारामा विभाजित हुन पुग्यो । यसै क्रममा माओद्वारा प्रतिपादित सर्वहारा अधिनायकत्व अन्तरगत क्रान्तिको निरन्तरताको सिद्धान्तको मान्यताका आधारमा सन् १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरियो ।



यो क्रान्ति एकै साथ दुइलाइन संघर्ष र वर्गसंघर्षको एक संश्लेषित अभिव्यक्ति थियो । यसै क्रममा माओले विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण हुन्छ भन्ने कुरामा विशेष जोड दिँदै ‘तीन गर र तीन नगर’ को मान्यता प्रस्तुत गर्नु भएको थियो । ती मान्यता  थिए ‘माक्र्सवाद लागु गर संशोधनवाद होइन, प्रस्ट र खुला होऊ, छलछाम र षडयन्त्र नगर, एकताबद्ध होऊ नफुट’ कतिपय कमी, कम्जोरी तथा सीमा रहेतापनि महान् सर्वहारा साँस्कृतिक क्रान्ति विश्व कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी ऐतिहासिक कदम थियो । सन् १९७६ सेप्टेम्बर ९ तारिखका  दिन माओको निधन भयो ।



माओको निधन पश्चात चीनमा प्रतिक्रान्ति भयो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा र समाजवादी क्रान्तिको इतिहासमा अर्को गम्भीर धक्का पुग्न गयो । माओको निधन पश्चात माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा विश्वका कतिपय कम्युनिस्ट पार्टी र संगठनहरुले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पुनः संगठित गर्नका लागि सन् १९८० मा पहल शुरु भयो । परिणामस्वरुप सन् १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (Revolutionary Internationalist Movement – RIM) को गठन हुन पुग्यो । यसले विश्व कम्युनिस्ट आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गर्‍यो ।



चिनिया महान सर्वहारा साँस्कृतिक क्रान्तिको प्रभाव भारतमा पनि निकै नै पर्‍यो । चारु मजुमदारको नेतृत्वमा दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष चलाउदै सशस्त्र जनयुद्धको थालनी भारतमा गरियो । यसले सिंगो दक्षिण एशियामा दक्षिणपन्थी संशोधनवादको विरोध र क्रान्तिकारी कम्युनिस्ट विकासका लागि ठूलो प्रभाव पारेको थियो र यसैको प्रत्यक्ष प्रभावमा वि.सं. २०२८ सालमा नेपालमा सशस्त्र झापा आन्दोलन भएको थियो । यस घटनाले दक्षिणपन्थी अवसरवादको दलदलमा फँसिरहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई ठूलो झट्का दिएको थियो ।



यसै प्रक्रियामा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (Revolutionary Internationalist Movement – RIM) सित सम्बध तथा असम्बद्ध कतिपय पार्टीहरुद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि फिलिपिन्स, टर्की, पेरु, नेपाल लगायतका देशहरुमा जनयुद्धको प्रक्रिया अगाडि बढाइएको थियो । भारतमा पनि जनयुद्ध अहिलेसम्म पनि प्रभावकारी ढंगले विकसित हुदै गएको छ ।



पेरुमा सशस्त्र जनयुद्धको प्रक्रियाबाट क्रान्ति सफलताको निकट पुगिसकेको अवस्थामा गोन्जालोको गिरफ्तारी भयो । कतिपय कमी, कमजोरी र सीमासहित गोन्जालोको गिरफ्तार पश्चात पेरुमा नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खान पुग्यो । त्यहाँ भीषण दुईलाइन संघर्ष चल्यो । तर पनि त्यहाँ जनयुद्ध रोकिएको छैन । र उतार चढावका साथ अगाडि बढ्ने क्रममै छ । पेरुमा मन्दगतिमा जनयुद्ध चलिरहेको छ । नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । अहिले ६८ वर्ष पार गरिसकेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन यस ऐतिहासिक अवधिमा वर्ग संघर्ष, जन संघर्ष, अन्तसंघर्ष, दुई लाइन संघर्षका बिचबाट अगाडि बढ्ने क्रममा मूख्यतः दक्षिणपन्थी संशोधनवाद र क्रान्तिवादी धाराकै बिचको संघर्ष पेचिलो बनिरह्यो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाज हुदै साम्यवादको दिशामा अगाडि बढ्नका लागि नेकपा (माओवादी) द्वारा संचालित दश वर्षे महान जनयुद्ध चुनवाङ्ग र १२ बुदेहुदै बुलेट छोडेर ब्यालेटको वाटोतिर लाग्यो किरण र विप्लव समूह क्रान्तिमा गम्भिर धोका तथा विश्वासघात गरियो भन्दै अलग्गिए नेपाली क्रान्तिले गम्भीर प्रकारको धक्का खायो । तर पनि नेपालमा क्रान्ति समाप्त भएको छैन । कुनधारको वाटो सहि यो समयले प्रमाणित गर्ला ।

कमरेड प्रचण्ड एमाओवादी हुदै माओवादी केन्द्र पुनर्गठन र क्रान्तिकारी धुर्वीकरण गरेर ब्यालेटको वाटो क्रान्ति नयाँ तरिकाले संचालन गरिरहेका छन । कमरेड मोहन वैद्य किरण नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यले नेकपा–माओवादी हुँदै नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्दै क्रान्तिलाई अगाडि बढाउने कार्य गर्ने भनिरहेका छन । कमरेड विप्लव नेपाल कम्युनिस्ट पार्टी गठन गरेर एकीकृत क्रान्ति गर्ने भनिरहेका छन ।

यति ठूलो इतिहास बोकेको आन्दोलनको विस्तृत रुपमा अन्यत्रै व्याख्या–विश्लेषण र संश्लेषण गर्न भने जरुरी छ । यसबाट ठूलो शिक्षा लिन आवश्यक छ । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिकारी कार्यदिशाको अनिवार्य आवश्यकता पर्दछ । साथै यस प्रकारको सिद्धान्त, पार्टी तथा कार्यदिशालाई विकसित तुल्याउदै अगाडि बढ्नु पनि आवश्यक पर्दछ । आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यो युगमा साम्राज्यवादसित संशोधनवाद घनिष्ट रुपमा जोडिएको हुन्छ र कम्युनिस्ट पार्टीमा विद्यमान निम्नपुँजीवादी प्रवृत्तिसित त्यसको मेल हुन्छ ।

तसर्थ कम्युनिस्ट पार्टीमा त्यसको निरन्तर शुद्धिकरणको आवश्यकता पर्दछ । आज अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको छ । यसको मुख्य कारण दक्षिणपन्थी अवसरवाद तथा सवै खाले संशोधनवादीहरुको भीषण आक्रमणको शिकार बन्न पुगेको हो भन्ने कुराको अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासको द्वन्द्ववादलाई अत्यन्तै सरिक ढंगले ग्रहण गर्न जरुरी छ । र सबै खाले संशोधनवाद तथा अवसरवादलाई महान बहस र दुईलाइन संघर्षद्वारा अन्त्यगरी माओवादी आन्दोलनको धुर्विकरण गर्न जरुरी छ ।

No comments:

Post a Comment

पपुलर पोस्टस्