नेपाली कम्युनिस्ट आन्दोलनमा विचारधारत्मक
संघर्ष र पार्टी निर्माणको प्रश्न विषयक विचार गोष्ठीमा माओवादी अध्यक्ष प्रचण्डले
दिनुभएको मन्तव्यको अंश;
यतिबेला हामीले लेनिनलाई सम्झनुको अर्थ
लेनिनले माक्र्सवादको कुरा गर्दा बडो जोड दिएर पटक–पटक भन्ने गर्नुहुन्थ्यो,
‘ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको ज्युँदो आत्मा हो,
त्यसो गर्न सकिएन, ठोस वस्तुको ठोस विश्लेषण
गरेर नीतिहरू, योजनाहरू, कार्यक्रमहरू
बनाउन सकिएन भने त्यो माक्र्सवाद हुँदैन ।’ यसलाई पछि आएर
माक्र्सवादको रक्षा, प्रयोग र विकास पनि हो । रक्षा, प्रयोग र विकास विचारधारात्मक संघर्षकै बीचबाट हुन्छ । यो एकातिर दायाँ
विचलन अर्कोतिर बायाँ विचलनका विरुद्धको संघर्ष हो । विचारको संघर्ष पनि कुनै खास
परिस्थितिमा, खास देशमा त्यतिबेलाको शक्ति सन्तुलन के छ,
आफ्नो शक्तिको स्थिति र आफ्ना मित्रहरूको स्थिति के छ र
प्रतिक्रियावादी वैरीहरूको शक्ति र उनीहरूका मित्रहरूको शक्ति के छ भनेर ठीक–ठीक आकलन गर्ने र त्यसैका आधारमा कार्यनीति र रणनीतहरू निर्धारण गर्नेसँग
सम्बन्धित छ ।
हामीले क्रान्तिलाई के भन्यौं भने, ‘कहिल्यै पनि क्रान्तिको पुनरावृत्ति हुँदैन, क्रान्तिको
विकास मात्रै हुन्छ ।’ कम्युनिस्ट आन्दोलनमा कहीं न कहीं
क्रान्तिको पुनरावृत्ति गर्न खोज्ने प्रवृत्ति हामीले देख्दै आयौं । त्यो
फ्रान्सको पेरिस कम्युनपछि, रुसको अक्टुबर समाजवादी
क्रान्तिका बीचमा त्यस्ता थुप्रै प्रवृत्तिहरू देखापरे । रुसको अक्टुबर समाजवादी
क्रान्तिपछि चिनियाँ क्रान्ति सम्पन्न नहुँदासम्म विश्वभरि कम्युनिस्ट आन्दोलनमा
त्यस्ता प्रवृत्तिहरू देखा परे । रुसी क्रान्तिको यान्त्रिक नक्कल गर्न खोज्ने
प्रवृत्तिहरू देखा परे र ती प्रवृत्तिहरूले क्रान्तिलाई निकै ठूलो क्षति पनि पुर्याए
।
माओले जहिले पनि के भन्नुहुन्थ्यो भने,
‘हामीले माक्र्सवाद, लेनिनवाद र माओवादका
सार्वभौम सिद्धान्तलाई आफ्नो देश, काल र परिस्थितिअनुसार,
देशको ठोस परिस्थितिअनुसार लागु गर्नुपर्ने हुन्छ यदि त्यसो गरिएन र
अन्धानुकरण गर्ने प्रयास मात्र भयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।’ फेरि पनि कम्युनिस्ट आन्दोलनमा एउटा यान्त्रिक, अन्धानुकरणको
प्रवृत्ति देखा परि नै रहेको छ । एकातिर कम्युनिस्ट पार्टीभित्र वर्गसमन्वय गर्ने
सम्झौतावादमा जाने प्रवृत्ति निकै खतरनाक रूपले देखा पर्दै आयो जसलाई दक्षिणपन्थी संशोधनवाद
भनेर हामी भन्छौं । त्यो प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने हदसम्म
कम्युनिस्ट आन्दोलनभित्र एउटा क्रान्तिकारी प्रवृत्ति देखा पर्यो तर त्यससँग
लड्दै जाँदा फेरि अर्को बायाँ विचलनका रूपमा एउटा अर्को खालको विर्सजनवाद, अर्को खालको संशोधनवाद, अलिकति जडसूत्रवाद पनि
गम्भीर रूपमा देखियो । हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा अझ त्यसमा पनि मुख्यत:
एकीकृत नेकपा माओवादीअन्तर्गत धेरै बहस गर्यौं ।
कहीं न कहीं हाम्रो पार्टीभित्र, हाम्रो आन्दोलनभित्र बेलामौकामा अधिभूतवाद, यान्त्रिकता,
संकीर्णता, मनोगतवाद यी प्रवृत्तिहरूले टाउको
उठाउने गरेका छन् । यतिबला हामी विचारधारात्मक पार्टी निर्माणको कुरा गर्दैछौं,
यतिबेला नेपालको ठोस परिस्थितिमा क्रान्तिलाई अगाडि बढाउने कुरा
गर्दैछौं, यतिबेला दक्षिणपन्थी संशोधनवादबाट बाह्य रूपमा
खतरा छ । त्यससँग विचारधारात्मक संघर्ष अहिले पनि त्यत्तिकै टड्कारो छ । हाम्रो
क्रान्तिकारी आन्दोलनभित्र यान्त्रिक, जड अधिभूतवादी,
संकीर्ण मनोगतवादी सोचका विरुद्ध पनि संघर्ष गर्दै पार्टी निर्माण
प्रक्रिया अगाडि बढाउनु पर्ने खाँचो छ । म यतिबेला लेनिनको क्रान्तिकारी लफ्फाजी
भन्ने संकलन स्मरण गर्दछु । कसरी क्रान्तिकारी लफ्फाजीले प्रतिक्रान्तिलाई सेवा
गर्छ । नियत राम्रो भएर मात्रै हुँदैन । हामीले के सोच्छौं, हाम्रो
सोच्ने तरिका वैज्ञानिक छ कि छैन भन्ने कुरा मुख्य हुन्छ ।
२०४६ सालको आन्दोलनभन्दा अगाडिदेखि मैले यो
पार्टीको नेतृत्वमा रहँदा सधैं यस्ता प्रवृत्तिका विरुद्ध लडें । मूलभूत सिद्धान्त
र मूलभूत कर्यदिशा एउटै हुनेहरू एकले अर्कालाई दक्षिणपन्थी, मध्यपन्थी
वा गद्दार भनेर विभिन्न खालको आरोप लगाएर टुटफुटको शृंखलातिर गएको बेला एकीकृत
बनाउन मेरो पहल रहिरह्यो । एकै ठाउँमा बसेर नै विचारधारात्मक संघर्ष चलाएर पार्टी
र आन्दोलनलाई अगाडि लैजान जरुरी छ भनेर पहिलो पहलकदमी पनि भयो । त्यतिबेला सशस्त्र
संघर्ष वा वर्गसंघर्षबारे जे सोचाइ थियो, सशस्त्र
संघर्षबाहेक अरू कुरा गर्ने क्रान्तिकारी हुनै सक्दैनन् भन्ने माओवादी
आन्दोलनभित्र पनि एउटा पक्षमा एउटा सोच थियो । हतियारबाहेक अरूको कुरा गर्यो कि
त्यो दक्षिणपन्थी हो, जनयुद्धबाहेक अरू कुरा गर्यो कि त्यो
दक्षिणपन्थी नै हो, उसले जतिसुकै वैचारिक ढंगले माझिएको कुरा
गरे पनि, जतिसुकै द्वन्द्वात्मक कुरा गरे पनि त्यो चाहिं
दक्षिणपन्थी नै हो भन्ने एउटा बालरोगजस्तो त्यतिबेला पनि थियो । त्यस प्रवृत्तिलाई
कम–बेसी त्यतिबेलाको चौथो महाधिवेशनको स्कुल पनि भन्न सकिन्छ
। त्यसबेला पनि ती धाराहरूका बीचमा संघर्ष थियो । अहिले सेना समायोजन भएको छ ।
अहिलेको माओवादी अध्यक्षले सबै चीज छोडेको हो कि भन्ने भ्रम पनि परेको छ
साथीहरूलाई । म उनीहरूलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने ०४६ सालको
जनआन्दोलनपछि सशस्त्र संघर्षमा गइहाल्ने परिस्थिति छैन, त्यसकारण
हामीले पार्टी एकता पनि गर्नुपर्छ र संसदीय निर्वाचनलाई पनि उपयोग गर्न जानुपर्छ,
अहिले तुरुन्तै छापामार कारबाही गर्नु नेपाली जनताको चाहनाविपरीत
हन्छ भन्दा मलाई अहिलेकै आरोप लगाइएको थियो । त्यतिबेला मैले क्रान्तिको तयारी,
विचारधारात्मक तयारी, राजनीतिक तयारी, सांगठनिक तयारी गर्नकै निम्ति आएको हो भन्ने कुरा भन्दा पनि केहीले
मानेनन् तर त्यो प्रमाणित छ आज पनि ।
नेपालमा क्रन्तिकारी भनेको मोहनविक्रम सिंह हो
भनेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा थुप्रै पोथाहरू, दस्ताबेजहरू
तयार पारिए । तर, त्यो विश्लेषण यान्त्रिक थियो, अधिभूतवादी थियो भन्ने कुरा पछि जनयुद्धले पुष्टि गर्यो । उनीहरूले
हामीलाई के आरोप लगाए भन्ने कुराको पर्वाह नै नगरी नेपाली क्रान्तिलाई अघि बढायौ ।
हामीले जनयुद्ध उनीहरूले भन्या जस्तो गरी अगाडि बढाएनौ । हामीले जनयुद्ध एक ठाउँमा
चिङकाङसाङ बनाएर पनि सुरु गरेनौं । हामीले जनयुद्ध र जनआन्दोलनको सम्बन्धलाई
इन्कार पनि गरेनौ । कतिपय यान्त्रिक र संकीर्ण मान्छेहरूले भन्छन्, ‘हामीले त ०४६ सालभन्दा अगाडि नै भनेका थियौं, यिनीहरू
दक्षिणपन्थी हुन्, त्यसकारण अहिले सावित भए ।’ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका मानिसहरूले गएको २० वर्षमा के गरे ?
तिनीहरूले बनाएका पार्टीहरू विसर्जन भए । के त्यही हो माक्र्सवाद ?
अहिले त्यसो भन्ने मान्छेहरू युरोप–अमेरिकामा
मुट्ठीभर बुद्धिजीवीबाहेक साम्राज्यवादीहरूको प्रतिकार गर्नेमा कुनै सिन्को
भाँचेको हामीले देखेका छैनौ ।
हामीले हाम्रो वर्ग, राष्ट्र
र जनताका निम्ति कसरी क्रान्ति अगाडि बढाउँछौं भन्ने प्रश्न हाम्रो हो । हामीले
आफैं जानेका पनि छौ, यो अर्काले अर्ती दिने विषय होइन । हामी
विज्ञानको चोटीमा चढ्न प्रतिबद्ध छौं, हामी निरन्तर अगाडि
बढ्छौं । हामी नेपालमा त्यही ढंगले अगाडि आएका छौ । अहिले हामीमाथि जे आरोप लागे
पनि कुनै पर्वाह छैन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिलाई
अगाडि लाँदैछौ । हामीले त्यस्तो बाटो अपनाएनौं, जसले बर्मा,
मलाया र पेरु पुर्याउँथ्यो । हामीले हाम्रै जीवनकालमा पेरुको
उदाहरण पनि हेर्यौ । हामीले त्यो बाटो पनि जान चाहेनौं । हामी नितान्त नयाँ र
जोखिमपूर्ण बाटोबाट जाँदैछौ । त्यसकारण हामीलाई के विश्वास छ भने त्यसरी जाँदा
मात्रै क्रान्तिको विकास गर्न सक्छौं । क्रान्तिका उपलब्धिको रक्षा गर्न सक्छौं
भन्ने विश्वास छ ।
हामी कहिलेकाहीं के सोच्छौ भने एकचोटि बनाएपछि
त्यो बडो शुद्ध, पवित्र र निरन्तर गतिमा गइरहनु पर्छ ।
पार्टी बन्छ, पार्टी भत्किन्छ, भताभुंग
हुन्छ, फेरि बन्छ । त्यसकारण माओले के भन्नुभयो भने पार्टी
भनेको जमेको पोखरीजस्तो होइन, गडगडाउने याङसी नदीजस्तो
भत्काउँदै हिंड्छ । मेरै जीवनकालमा धेरै चोटि पार्टी भत्काइदिएको छु, धेरैचोटि पार्टी बनाएको पनि छु । त्यसको नेतृत्व मैले गरेको छु भन्ने मलाई
विश्वास छ । किनभने, म आउनेबित्तिकै मैले मशाल सिध्याइदिएको
हो । यो मोटो मशालको पछि लागेर हुँदैन भनेर त्यसको दाहसंस्कार गरेपछि एकता केन्द्र
बन्यो । एकता केन्द्र पनि फेरि भत्काइयो र माओवादी बनाइयो । फेरि माओवादी भत्काइयो
र एकीकृत माओवादी बनाइयो, भोलि के हुन्छ हेर्दै जानुहोला ।
त्यसकारण पार्टी भनेको साधु–सन्तको जमातजस्तो केही
मान्छेहरूले ठान्छन्, बडो सिस्टमभित्र हुन्छ । तर त्यस्तो
हुँदैन । वर्गसंघर्षको प्रतिविम्ब पार्टीमा पर्छ, विचारको
भीषण संघर्ष पनि चल्छ । पार्टी भत्किंदै गर्छ, पार्टी बन्दै
गर्छ । पार्टी अगाडि बढिरहन्छ । यो वर्गसंघर्षको यात्रा हो । त्यसकारण मैले धेरै
पार्टी भत्काएको छु । धेरै पार्टी बनाएको छु । म नेतृत्वमा हुँदाहुँदै पनि केही
पार्टी भत्किंदै छ, केही बन्दै छ । त्यसकारण पार्टी भनेको
नयाँ–नयाँ बन्ने वस्तु हो । कहिले हामी पुरानो पार्टी हो
भन्ठान्छौं । होइन, यो पुरानो पार्टी हुँदै होइन । पार्टी
नयाँ हो, नयाँ भइराख्छ । त्यसकारण निरन्तर नयाँ पार्टी
बनाउनेतिर हामी जानुपर्छ । नयाँ पार्टी बनाउने बेलामा नयाँ विचारधारात्मक लाइन
त्यसमा दृढतापूर्वक उभिने र परिस्थितिको ठीक–ठीक आकलन गर्ने,
संघर्षकै बीचबाट पार्टी निर्माण गर्ने हो । हामी सबै शान्त
मनस्थितिले एक ठाउँमा बसेर योजना बनाएर पार्टी बन्ने होइन । भीषण लडाइँभित्रबाट
पार्टी बन्ने हो । भीषण लडाइँबाटै पार्टी अगाडि जाने हो । यही स्पिरिटले सोच्यौं
भने धेरै नयाँ र धेरै राम्रो ठाउँमा पुग्छौ ।
हामी अहिले नेपाल सरकारको नेतृत्व पनि
गरिराखेका छौं । विचारधारात्मक संघर्ष पनि गरिराखेका छौं । हामी सेना समायोजन
गरिराखेका छौ । हामीले शाही नेपाली सेनासँग समायोजन गरेको होइन, नेपाली सेनासँग, गणतन्त्रवादी सेनासँग समायोजन गरेको
हो । किन डराउनु पर्यो ? यत्रो सानो चित्त भएकाले क्रान्ति
गर्ला भनेर कसैले नसोचे हुन्छ । क्रान्ति गर्न ठूलो छाती चाहिन्छ । पार्टी निर्माण
गर्ने कुरा पनि त्यही हो । नेपाली सेनालाई विश्वासमा लिन किन तयार नहुने ? त्यसलाई दुस्मनै ठान्नु पर्ने कारण के छ ? त्यो किन
नबुझने ? चार आधार र तयारी गर्ने भनेको के हो ? यस दृष्टिकोणले पार्टी संघर्षकै बीचमा बन्छ, संघर्षभित्रै
भत्कन्छ । फेरि संघर्षकै बीचमा बन्छ । त्यसकारण यो पार्टी निर्माणबारे पनि हामीले
यान्त्रिक भौतिकवादी, अधिभूतवादी सोचाइ राख्नु हुँदैन ।
द्वन्द्वात्मक भौतिकवादी हुनुपर्छ । परिस्थितिअनुसार हाम्रै पार्टीभित्र
देख्दादेख्दै हामी कति चोटि फुट्यौ ,कति चोटि जुट्यौ । कहा
आइपुग्यौं ? त्यसकारण नेतृत्व गर्ने द्वन्द्वात्मक भौतिकवादी
विचार भयो भने हामी जित्छौ । हाम्रो विकल्प नेपालमा छैन । हाम्रो पराजयको कारण
बाहिर छैन, तपाईं–हामीले बुझेनौ भने
तपाईं–हामीभित्रै छ । त्यो नै हाम्रो काल हो । अरू कसैले
हामीलाई हराएर हराउन सक्दैन ।
No comments:
Post a Comment