Jan 16, 2012

'फेरि विद्रोह र बलिदान गर्न तयार छौँ’




हामी नेपाली राजनीति र इतिहासको यस्तो बिन्दुमा सत्रौँ जनयुद्ध दिवस मनाउँदै छौँ । मानौँ कि अब संक्रमणकाल अन्त्य हुँदै छ । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा छ । जीत जनताको हुने हो वा जनताका बैरीको भन्ने अन्तिम फैसला भइसकेको छैन, हामी त्यस्तो वेलामा यो जनयुद्ध दिवस मनाइरहेका छौँ । हामी देशभर पूर्वदेखि पश्चिमसम्म विभिन्न जनसभामार्फत यो दिवस मनाउँदै छौँ । हामी जनयुद्ध दिवसको कार्यक्रम बनाउने क्रममा खासगरी केन्द्रीय समितिको बैठक र त्यसपछि पार्टी केन्द्रीय कार्यालयको बैठकमा मैले जनसभा विशिष्ट रूपले मनाउनु छ भनेँ, किनकि यसबीच पार्टी बाहिरको राजनीतिक संघर्ष, देशको राजनीतिक संघर्ष र पार्टीभित्रको संघर्ष पनि अलिकति विशिष्ट ढंगले अगाडि बढ्यो, मानिसलाई थुप्रै विषयमा भ्रम, अस्पष्टता, आशंका छन् । त्यसलाई मेट्ने किसिमले हाम्रो पार्टीबारे रहेका भ्रम, आशंका मेट्ने हिसाबले, माओवादी जस्ताको तस्तै छ, बरु माओवादी अझ अगाडि बढेर यो राज्यको जिम्मेवारी लिन सक्षम छ भन्ने हिसाबले विश्वास दिलाउन विशाल जनसभा गर्न जरुरी छ । मैले त्यतिवेलै केन्द्रीय कार्यालयमा र विभिन्न राज्यका बैठकमा भनेको थिएँ कि एकचोटि फेरि प्रतिक्रियावादी जो इतिहासको चक्कालाई पछाडि धकेल्न चाहन्छन् उनीहरूलाई माओवादी फेरि आयो भन्ने एकचोटि देखाउनु छ । म यहाँ सबैलाई हार्दिक अभिवादन गर्न चाहन्छु, त्यो कुरा तपाइर्ंहरूले साबित गरिदिनुभयो । फेरि एकचोटि माओवादी आयो, माओवादी छोड्नेवाला छैन, यो देशको भाग्य भविष्यलाई यहाँका सम्पूर्ण उत्पीडित जाति, वर्ग, लिंग, क्षेत्रका जनताका सपना पूरा नहुँदासम्म माओवादी अगाडि बढिरहनेछ । यो विश्वास दिलाउन खोजेका थियौँ । तपाईंहरूलाई पार्टी केन्द्र र मेरो आफ्नो तर्फबाट हार्दिक बधाई र धन्यवाद ! साँच्चै तपाईंहरूले हाम्रो पार्टी केन्द्रीय समितिको त्यो आकांक्षा पूरा गर्नुभएको छ ।
हामीले जतिवेला जनयुद्धको ऐतिहासिक पहल गरेका थियौं, उपाध्यक्ष कमरेड किरण र स्थायी समिति सदस्य वर्षमानले केही कुरा गम्भीर रूपले भन्नुभयो । खासगरी क. किरणले धेरै विषय प्रष्ट पार्नुभएको छ । हामीले जनयुद्ध र जनवादी क्रान्ति पूरा गर्ने क्रममा समाजवाद, साम्यवादमा जाने हामीले केही प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गरेका थियौँ । त्यतिवेला हाम्रो स्थिति त्यस्तै थियो । हामीसँग न हतियार, न ठूलो संगठन, न धेरै पूर्णकालीन कार्यकर्ता नै थिए । तर, फेरि पनि हामीलाई हाम्रो विचारप्रति विश्वास थियो, श्रमजीवी जनताप्रति विश्वास थियो । नेपालको त्यतिवेलाको परिस्थितिमा नेपाली जनताका इच्छा र आकांक्षा पूरा गर्ने संकल्प र प्रतिज्ञा थियो । त्यसकारण हाम्रो विचार र वर्गप्रतिको विश्वासका कारणले मानिसले कल्पना पनि गर्न नसक्ने ढंगले जनयुद्धको तयारी र पहल गर्‍यौँ । मानिसले हाम्रो आयु तोके, कसैले ६ महिनामा ध्वस्त हुन्छन्, कसैले एक वर्षमा, कसैले तीन महिना तर दश वर्ष पुग्दा नपुग्दै यो देशको सम्पूर्ण राजनीति सयौँ वर्षदेखिको सामन्तवादी र साम्राज्यवादीले बनाएको संयन्त्रलाई धक्का दिँदै युग परिवर्तन गर्ने महान् शक्तिका रूपमा स्थापित भयौँ । युग परिवर्तन हुँदै काठमाडौं आइपुग्यौँ । लडाइँको मोर्चा काठमाडौंमा लड्दै छौँ ।
त्यसरी हेर्दा हामी जतिवेला जनयुद्ध दिवस मनाउँदै छौँ, हामीले हाम्रा मोर्चा कहाँबाट सुरु गर्‍यौँ, सुरु गर्दाका ती दिन म आफैँ मनाङ पुगेको र हतियार हेरेका दृश्य, हतियार ल्याएर तालिम दिएका दृश्य, केही विष्फोटक पदार्थ जम्मा गरेका दृश्य, मानिसले हामीलाई बढो मूर्खतापूर्ण गतिविधि र मूखर्तापूर्ण कार्यनीतिका बाहक भन्थे, दुस्साहसिक भन्थे । यी सबै र पछिल्लापटक हाम्रा टाउकाका मूल्य तोकिदाँका दिनदेखि यी सबै प्रक्रिया संविधानसभाको निर्वाचन सबै एउटा रिलको चित्र हेरेजस्तै मेरो दिमागमा ताजा भएर आउनु स्वाभाविक हो । हामी स्मरण गर्नुभन्दा पनि जनयुद्ध दिवस मनाउँदै छौँ केका निम्ति, यो हाम्रो कुनै औपचारिक कार्यक्रम होइन, औपचारिकता पूरा गर्न मात्र जम्मा भएका छैनौँ हामी । हाम्रो क्रान्तिको उद्देश्यप्रति हामीले फेरि एकचोटि नयाँ प्रतिज्ञा गर्नु छ, त्यो प्रतिज्ञा गर्ने दिन हो । त्यसकारण म यहाँहरू सबैका अगाडि पार्टी र मेरो आफ्नै तर्फबाट नेपाली जनवादी क्रान्ति पूरा गर्ने, समाजवाद र साम्यवादमा अगाडि बढ्ने हाम्रो महान् यात्रामा अविचलित रूपमा अगाडि बढ्ने प्रतिज्ञा गर्न चाहन्छु । दोस्रो आज हामी जनयुद्ध दिवस मनाउनुको अर्थ हामी निश्चय नै जनताको विद्रोहको अधिकार स्थापित गर्ने कुरा हो । किनकि जनयुद्ध आफैँ एउटा प्रतिक्रियावाद, सामन्तवाद, साम्राज्यवादविरुद्ध ऐतिहासिक विद्रोह थियो, त्यसकारण आज हामी यो दिवस मनाउनुको अर्थ पनि हामी जनताको विद्रोहको अधिकारप्रति सम्पूर्ण रूपले समर्पित हुने, जनताको विद्रोहको अधिकारलाई स्थापित गर्ने दिन पनि हो । त्यसकारण म हाम्रो पार्टीका तर्फबाट र मेरो आफ्नै तर्फबाट जनताको विद्रोहको अधिकारप्रति निरन्तर अविचल र त्यसलाई सम्मान गर्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु ।
जनयुद्ध दिवस मनाउनुको अर्को अर्थ सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट श्रमजीवी जनसमुदायको एकताको प्रदर्शन र संकल्प गर्नु पनि हो । जनयुद्ध दिवसको उपलक्ष्यमा म हाम्रो पार्टीमा अहिले कायम भएको एकता र सुदृढ गर्ने आवश्यकता नेपाली जनतासँग पार्टीको एकता र सुदृढ गर्नुपर्ने आवश्यकताप्रति म सम्पूर्ण जनसमुदायको ध्यान आकषिर्त गर्न चाहन्छु । जबसम्म पार्टी र जनता एक भइराख्छन्, हामीलाई कसैले हराउन सक्दैन, हामील विजयी हुन सक्छौँ । त्यसकारण यो एकताको सन्देश, संकल्प र प्रतिज्ञा गर्ने दिन पनि हो । म पार्टीका तर्फबाट क. किरणले भनेजस्तै एकताबद्ध भएर एकढिक्का भएर हाम्रो मिसन, उद्देश्य पूरा गर्न अगाडि बढ्ने एकताको सन्देश पनि व्यक्त गर्न चाहन्छु ।
हाम्रो पार्टी निश्चय नै अहिले मात्रै होइन, कम्युनिस्ट पार्टी त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र हमेसा संघर्ष भइराख्छ, त्यसभित्र एकता संघर्षबाट मात्र पैदा हुन्छ । त्यतिवेला हाम्रो पार्टी सानो थियो । हामीले अवसरवाद, संशोधनवाद, विचलनवादविरुद्ध कठोर संघर्ष गरेका थियौँ । त्यो संघर्षका बीचबाट मात्रै जनयुद्धको तयारी भएको थियो । त्यसबाट मात्रै जनयुद्धको पहल भएको थियो । खाली यतिवेला मात्र होइन, जनयुद्ध सुरु गरेपछि पनि हाम्रो पार्टीभित्र धेरै गम्भीर वैचारिक संघर्ष भए, ती संघर्षको बीचबाटै जनयुद्ध अगाडि बढेको थियो । जनयुद्ध हुँदा पार्टीमा बडो राम्रो एकता थियो भन्ने होइन, त्यहाँ विचारको संघर्ष थिएन भन्ने होइन, त्यतिवेला पार्टीमा विचारको गम्भीर संघर्ष थियो । बहस थियो, कहिलेकाहीँ पार्टी टुट्ने पो हो कि भन्ने स्थिति जनयुद्धका वेलामा पनि आउँथ्यो । तर, फेरि पनि हामीले त्यो विचारधारात्मक संघर्षलाई एउटा नयाँ रूपान्तरण, एकता कायम गर्दै अगाडि बढेका थियौँ । त्यही ऐतिहासिक क्रान्तिकारी परम्पराद्वारा अगाडि बढाउँदै हाम्रो पार्टी अहिले पनि भिन्न परिस्थितिमा शान्ति प्रक्रिया, संविधान निर्माणको प्रक्रियामा गम्भीर वैचारिक बहसमा प्रवेश गर्‍यो र त्यो बहस अहिले पनि जारी छ, हामी कम्युनिस्ट अझ खासगरी माओवादी के कुरामा अरूभन्दा भिन्न छन् भने उनीहरू संघर्ष गर्नुपर्दा कहीँ कतै क्रान्तिको उद्देश्य, कहीँ मजदुर, किसानका, सम्पूर्ण श्रमजीवी जनसमुदाय, विश्वभरिका न्यायप्रेमी जनसमुदायका इच्छा आकांक्षा हराउने त होइनन्, पार्टीले कुनै रंग बदल्ने त होइन भन्ने चिन्ताका साथ बहस हुन्छ । साथै बहस एक कारण हुन्छ, कहीँ हामी क्रान्तिलाई आजको विश्व परिस्थिति, देशको परिस्थिति, आवश्यकताअनुसार नलिएर यान्त्रिक ढंगले विदेशको नक्कल गर्ने भएर क्रान्ति बरबाद त हुँदैन भन्ने चिन्ता पनि हुन्छ । त्यसकारण पार्टीभित्र बहस हुन्छ । माओवादी अरूभन्दा भिन्न पार्टी  हो । त्यसकारण बहस गर्दा, संघर्ष गर्दा दुईटा ढुंगा टुक्र्याएर आगोको झिल्को बलेजस्तो गरेर संघर्ष गछौर्ं हामी संघर्ष गर्दै आएका
छौँ । अहिले पनि हामीले गरेको संघर्षबाट तपाईंहरूले देख्नुभयो साँच्चै झिल्का बलेकै छ, आगो सल्किएकै छ । फेरि प्रतिक्रियावादीविरुद्ध, प्रतिक्रान्तिकारीविरुद्ध, संशोधनवादीको संघर्षमा यही पार्टी हो जसले चट्टानको जस्तो एकताको प्रदर्शन गर्न सक्छ, सम्पूर्ण जनसमुदायलाई नेतृत्व गर्न सक्छ, यो कुरा हामीले पटकपटक साबित गरेका छौँ । अहिले पनि हामी यो ठूलो संघर्षको बीचबाट नै हामी एकताबद्ध भएर आएका छौँ । हो यहाँ खासगरी क. किरणले भनेजस्तै हाम्रो पार्टी टुट्छ, फुट्छ र कमजोर हुन्छ भन्ने सपना प्रतिक्रियावादीले देखेकै थिए देशभित्र र बाहिरका । तर, हामी एकमत भएर एउटै निर्णय गरेर आयौँ । देशभरि प्रशिक्षण गर्‍यौँ, अहिले सभा गर्दै छौँ ।  यसले प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीलाई आतंक छ । तर, हामी के भन्छौँ भने हामी अलिकति अर्कै भिन्न धातुले बनेका मान्छे हौँ । हामी अरूजस्तो समान्य मान्छे होइनौँ, हामी जरुरी पर्‍यो भने फेरि विद्रोह गर्न र बलिदान गर्न तयार छौँ । यही सन्देश हाम्रो पार्टीको नयाँ सन्देश हो । तपाईं हामी अहिले यतिवेलाको पार्टीको कार्यभार भनेको शान्ति प्रक्रियालाई सम्मानजनक निस्कर्षमा पुर्‍याउने । संविधान जनताको परिवर्तनको चाहनाअनुसार सामन्तवाद, साम्राज्यवादविरोधी सारतत्वको संविधान बनाउने हामी त्यसमा इमान्दारीतापूर्वक लाग्छौँ, लागेका पनि छौँ । तपाइर्ंहरूलाई थाहा छ, शान्ति प्रक्रिया झन्डै निष्कर्षको नजिक पुगिसकेको छ, त्यो अरू कसैले गरेको होइन, माओवादीले गरेको हो । संविधान निर्माण प्रक्रियामा व्यवधान छन्, हामी जनताको भावना र परिवर्तनको चाहनाअनुसार संविधान बनाउन प्रतिबद्ध छौँ । यहाँ कसैले शंका गर्नु पर्दैन । तर, यदि कसैले माओवादीलाई झुक्याएर, शान्ति प्रक्रियामा माओवादीलाई ह्युमिलेट गरेर या माओवादीलाई अलग्ग राखेर जबर्जस्ती शान्ति टुङ्ग्याउन सकिन्छ भनेर कसै ठान्यो भने या संविधान घुमाइफिराई पहिलेकै राजतन्त्रकालीन सामन्ती संविधान नै बनाउन सकिन्छ भन्ने कसैले ठानेको छ भने त्यो निकै ठूलो भ्रम हुनेछ । जनसमुदाय म के भन्न चाहन्छु भने हामी शान्ति र संविधानको निम्ति गम्भीर ढंगले लागेकै छौँ । सम्मानजनक शान्ति र जनताको संविधानको निम्ति । तर, प्रतिक्रान्तिकारी र प्रतिगामीले सोचेजस्तो ०४७ सालको संविधानको कुरा आयो भने मैले आज तपाईंहरूको अगाडि पार्टीको तर्फबाट भन्नैपर्छ, तपाईंहरू विद्रोहका निम्ति तयार रहनुस्, विद्रोहको विकल्प हुनेछैन । हामीलाई यथास्थितिवादी संविधान स्वीकार्य छैन । माओवादी जसले आज युगान्तकारी परिवर्तनको नेतृत्व गरेको छ, त्यसलाई कमजोर बनाउने षड्यन्त्रद्वारा त्यसलाई अपमानित गर्ने गरियो भने शान्ति प्रक्रिया सम्भव छैन । हामी इमानदारीसाथ र पूरै जिम्मेवारीसाथ शान्ति र संविधानमा छौँ । तर, हामी के देखिराखेका छौँ भने प्रतिगामी प्रतिक्रियावादी कुनै न कुनै रूपमा जनताविरुद्ध षड्यन्त्रमा छन्, मैले सुरुमै भनेँ कसले जित्छ, प्रतिक्रियावादीले कि जनताले, माओवादीले कि अरूले भन्ने कुराको फैसला अझै भैसकेको छैन । हाम्रो तागत भनेको नेपाली, श्रमजीवी, देशभक्त, सबै उत्पीडित जनता शक्तिको स्रोत हो । हामीलाई अहिले काठमाडौं कसले ल्याइपुर्‍यायो ? हाम्रो टाउको उहीँ गिँड्ने भनिएको थियो । अरू कसैले ल्याएको होइन, नेपाली जनताले । अहिले हामीलाई संविधानसभाको ठूलो पार्टी कसले बनायो ? कसैले माया गरेर दिएको हो र ? अरू कसैले होइन, नेपाली जनताले हो । अहिले हामी सरकारको एउटा ठाउँमा छौँ कसले बनायो ? नेपाली जनताले । त्यसकारण आज हामी तपाईंहरूका अगाडि आउनुको उद्देश्य हाम्रो जनयुद्ध, जनआन्दोलनका उपलब्धि पूरा भइसकेका छैनन्, धरापमा छन् । जनवादी क्रान्ति पूरा हुने त आधारभूत रूपमा सिंगै बाँकी छ, हाम्रा आन्दोलनका उपलब्धि पनि धरापमा छन् । त्यसकारण हामी तपाईंहरूसँग अपिल गर्न आएका छौँ । तपाईंहरूले खबरदारी नगर्ने, जागरुक नहुने हो भने, एकताबद्ध भएर अगाडि नआउने हो भने शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया धरापमा पर्नेवाला छ । किनकि शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया नेपाली जनताको
त्याग र बलिदानबाट जन्मिएको हो ।
म पार्टीको तर्फबाट यही अपिल गर्न चाहन्छु, तपाईं हामी एक हुँदासम्म दुनियाँको कुनै पनि तागतले हामीलाई पराजित गर्न सक्नेछैन । हामीले उनीहरूलाई पराजित गर्नेछौँ नेपाली जनता विजयी हुनेछ, २१औँ शताब्दीको दोस्रो दशकमा नेपाली जनताले विश्वलाई नै केही नयाँ सन्देश दिन सक्ने सम्भावना छ, यो ऐतिहासिक कार्यभार हाम्रो पार्टी र आम नेपाली जनताको काँधमा छ, हामी सबै गम्भीर बनौँ, शान्ति प्रक्रियालाई सम्मानजनक ढंगले निष्कर्षमा पुर्‍याउने संविधान जनभावनाअनुसार लेख्ने कुरामा गम्भीर ढंगले खबरदारी गर्दै अगाडि बढौँ, यदि त्यसमा षड्यन्त्र भयो भने विद्रोहको विकल्प छैन, जनतको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले चुनौती दिन सक्दैन, जनता नै निणर्ायक शक्ति हो । मैले के भन्ने गरेको छु भने संविधान लेखन प्रक्रियामा नेपालको अहिलेको अदालतले ल है ६ महिनाभन्दा समय छैन भन्यो, मैले भने अदालतले के भन्छ हामीलाई त्यो सरोकार छैन, हामीलाई जनताको अदालतले के भन्छ, त्यही मान्छौँ, जनताको अदालतको फैसलाबाहेक अरू अदालत हामी जान्दैनौँ मैले भनेको छु । आज हामी तपाईंहरूको अगाडि उभिएका छौँ । तपाई सबै न्यायाधीश, म कठघरामा छु, तपाईंहरूसँग अपिल गरिराखेको छु न्यायको निम्ति, किनकि तपाईंहरूले फैसला गनुर् छ । तपाईंहरूको फैसला हामी मान्छौँ ।
क. किरणले मलाई ताकेर केही कुरा भन्नुभयो । त्यो मैले भन्नुपर्छ भन्ने लागेको छ, उहाँले भन्नुभयो, जनयुद्धमा उहाँ हामी सबैसँगै बसेर नेतृत्व गरेर आयौँ । जनयुद्धको बीचबाट प्रचण्ड भयो, प्रचण्ड बनियो, त्यो साँचो कुरा हो । पार्टीले बनाएको जनताले बनाएको सहिदहरूले बनाएको हो । म अहिले ती हजारौँ सहिद जो एकचोटि प्रचण्डलाई देख्न पाए हुन्थ्यो भन्दाभन्दै सहिद भए, ती सहिदको सपना मैले सम्भिmराखेको छु । यो कुरा साँचो हो, अहिले शान्ति प्रक्रियामा आएपछि हाम्रो लडाइँको मोर्चा फेरिएको छ, हामी नयाँ खालको मोर्चामा छौँ । यो मोर्चा पनि हामीले जित्नु छ । शान्ति र संविधानको मोर्चा हामीले जित्नु छ । हो यतिवेला राजनेता बन्ने र सर्वहारा नेता बन्ने, कमरेड किरणले भन्नुभयो, तपाईं सर्वहारा नेता बनिराख्नुस्, सर्वहारावर्ग र श्रमजीवी जनताद्वारा बनाइएको प्रचण्ड हो । अरू कसैद्वारा बनाइएको प्रचण्ड होइन । मलाई त्यो कुरा राम्रोसँग थाहा छ, तर सर्वहारा वर्गलाई विजयसम्म लानका लागि बाटो घुम्ती मोडमा जानुपर्ने हुन्छ, सीधा बाटो जान्छु भन्दा बर्मा, टर्की, पेरु, फिलिपिन्स, मलायामा के भयो मेरो दिमागमा ती सबै कुरा छन् । मलाई सबभन्दा अग्लो ठाउँमा तपाईंहरूले राखिदिनुभयो । त्यसकारण अग्लो ठाउँबाट धेरै देखेँ मैले, त्यसकारण क्रान्तिलाई कसरी बचाएर लानुपर्छ भन्नेबाहेक अरू कुनै वर्गको नेता हुन सक्दिनँ । श्रमजीवी, सर्वहारा र नेपाली जनताको बाहेक अरू हुन सक्दिनँ । मलाई के लाग्छ भने सर्वहारावर्गको सच्चा नेता हुनु नै सच्चा राजनेता हुने कुरा पनि हो । राजनेता हुने कुरालाई घृणा गर्ने कुरा होइन । सर्वहाराको सच्चा नेता सच्चा राजनेता हुन्छ, सच्चा राजनेता सर्वहाराको नेता हुन्छ । कमरेड किरणको चिन्ता मलाई थाहा छ, किनकि उहाँसँग करिब ३२ वर्षदेखि सँगै छौँ, २५-२६ वर्षदेखि एउटै कमिटीमा छौँ । २३ वर्ष हुन लाग्यो म पार्टीको मुख्य नेतृत्वमा छु । सबै अप्ठ्यारा सप्ठ्यारामा कमरेड किरणहरूसँगै छौँ । मलाई थाहा छ, उहाँहरूले कहाँ चिन्ता गरेको हो भन्ने कुरा । मैले मेरो चिन्ता पनि भन्ने गरेको छु । क्रान्ति दायाँ बायाँ गर्ने होइन । क्रान्तिको बाटो बांगोटिंगो हुन्छ, त्यो बक्र रेखामा जान्छ । सीधा रेखामा जान्छु भन्यो भने क्रान्ति दुर्घटनामा पर्ने खतरा पनि हुन्छ । दुर्घटनाबाट बचाउनुपर्छ भन्ने चिन्ता सबैको साझा चिन्ता पनि हो । यो साझा चिन्तामा आफैँले बनाएको नेतृत्व आफैँले निर्माण गरेको नेतृत्वको बिम्ब तपाईं सबैको दिमागमा पर्ने गर्छ प्रचण्डको बिम्ब । त्यो बिम्बलाई भत्काउनुभन्दा धेरैपटक सोच्नुपर्ने हुन्छ । त्यो बिम्ब जो बनाइएको छ, त्यो नेता नेतृत्वलाई खबरदारी, आलोचना गर्नैपर्छ, त्यसको स्वागत गर्छु भित्र र बाहिर । तर, नेतृत्वको सोचाइलाई पनि धेरै कोणबाट हिसाब गर्नैपर्छ । नेतृत्व त्यही हो । जसले निकै अप्ठ्यारो बाटोमा नेतृत्व गर्न सक्छ । जहाज हामीले भन्ने गरेका छौँ, चट्टानमा ठोकिएर दुर्घटनामा पर्न पनि सक्छ, भुमरीमा डुब्न पनि सक्छ । तिनबाट छलेर लाने कुरा हो । नेतृत्व सधैँ लोकप्रीय नहुँदो रहेछ । कहिलेकाहीँ जनतालाई चित्त नबुझ्दा नबुझ्दै पनि गर्नुपर्ने बाध्यता हुन्छ त्यही हो नेतृत्व । मलाई लाग्छ इतिहासका महान् सर्वहारावादी नेताहरू पनि सरल रेखामा गएनन् । म त्यो सम्झन्छु, लेनिनलाई ब्रेसलितो सन्धिका वेलामा यो जर्मनीको दलाल भयो भनेर घोषणा गर्नेसम्म पुग्यो पार्टी नै । लेनिन पार्टीको केन्द्रीय समितिमा अल्पमतमा पर्ने स्थिति पनि आयो कयौँ समयसम्म । तैपनि, लेनिनले त्यो नगर्ने हो भने रुसी क्रान्ति बरबाद हुन्छ भनेर त्यही गरी नै राख्नुभयो । त्यस्ता घुम्ती र मोडमा कहिलेकाहीँ बडो अप्ठ्यारा निर्णय लिनुपर्ने अवस्था आउँदो रहेछ । म यो भनिरहेको छैन कि कमजोरी भएका छैनन्, कमजोरी भएका छन् कमजोरी हुन्छ । त्यसको आलोचना हुनुपर्छ, त्यसलाई सच्याइनुपर्छ, रूपान्तरण हुनुपर्छ, तर इतिहासले बनाउने हो नेतृत्व भन्ने कुरा जनताले बनाउने हो नेतृत्व भन्ने कुरा । नेतृत्वलाई बदनाम गर्न पूरै अहिले साम्राज्यवादी विश्व, प्रतिक्रान्तिकारी विश्व लागेको छ । सर्वहारावादीको नेतृत्व जति सबै बदनाम होस् । प्रचण्ड, किरण, बाबुराम, प्रकाश, बादल बदनाम हुन् । भएका टिमजति सबै बदनाम हुन् । कोहीलाई देब्रे कोणबाट त कोहीलाई बदनाम गरियोस् । यो षड्यन्त्र छ । हामी कम्युनिस्ट, तपाईं आदरणीय जनसमुदायले नेतृत्वको आलोचना गर्दा नेतृत्वको रक्षा गर्ने जिम्मेवारी पनि पक्कै स्मरण गर्नुहुनेछ । हाम्रा कमरेडले पनि पक्कै यी दुइटै एउटा हातले आलोचना गर्ने र अर्को हातले रक्षा र सहयोग गर्ने यो द्वन्द्ववादलाई प्रयोग गरिएन भने हामी जानेर वा नजानेर प्रतिक्रान्तिकारीको डिजाइनभित्र पर्ने र क्रान्ति बरबाद हुने खतरा रहन्छ । त्यसकारण म कमरेड किरणलाई फेरि पनि सम्मानसहित हामी एकता हुने क्रान्तिकै लागि हो । क्रान्ति द्वन्द्वात्मक भौतिकवादी दर्शनअनुसार नै अघि बढ्छ । आजको परिस्थितिलाई हामीले हिसाब गरेका छौँ हामी सबै छलफलमै छौँ । हाम्रो एकता कायम भएको छ । यसलाई सुदृढ गर्ने आवश्यकता छ । हामी सबै कमरेड र सबै जनसमुदायको सहयोगले देशलाई सुदृढ गर्दै अगाडि बढ्दै छौँ र नेपालबाट जनवादी क्रान्तिको एउटा नयाँ मोडल, विचारको नयाँ शृंखला विकास गर्दै विश्वभरिका श्रमजीवी जनताको मुक्तिका निम्ति अगाडि बढ्नेछौँ । हाम्रो पार्टी एकीकृत नेकपा -माओवादी) हो । यसमा विभिन्न अवसरवादी समूहमा रहेका क्रान्तिकारीले विद्रोह गरेर महान् विशाल पार्टी भएको छ । हामी विशाल पार्टीबाट तर्सिने होइन । बरु यो विशाल पार्टीलाई लिएर हाम्रो मिसनमा अगाडि बढ्ने संकल्प गर्ने हो । आज पनि हामीले केही साथीलाई पार्टी प्रवेश गरायौँ । उहाँहरूलाई पनि म स्वागत गर्न चाहन्छु । मजदुर, किसान, उत्पीडित हाम्रा दलित महिला, आदिबासी, जनजाति, पहाडी, हिमाली सबैसबै हामी एकजुट हुनुको विकल्प छैन । हामीले संघीय संविधान बनाउने कुरा गरेका छौँ । त्यो एकताबद्ध पहलबाट मात्र सम्भव हुन्छ । हामी संविधान निर्माणको क्रममा जहाँ मैले नेतृत्व गरेको छु त्यहाँ मैले के देखेको छु भने मजदुर किसानको प्रतिनिधित्व हुन्छ कि हुँदैन, आदिबासी, जनजाति, दलित, महिला, सेती, महाकाली, कणार्ली, पूर्वेली जनताको समानुपातिक प्रतिनिधित्व हुन्छ कि हुँदैन ? त्यहाँ हाम्रो पहल छ । हामी त्यो बहसमा छौँ । हामी साथसाथै गरिब, किसान सुकुम्बासीहरूको समस्यालाई ठीक ढंगले सम्बोधन गर्ने बसहमा पनि छौँ । अहिले भर्खरै बाबुरामजीको नेतृत्वमा सरकार छ । अस्ति सुकुम्बासीलाई उठाउने कुरा भयो । मैले भनेँ सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरीकन डन्डा लगाउने काम गरियो भने पार्टीको समर्थन हुनेछैन । जनताको हित नै पार्टीको प्राथमिक कर्तव्य हो । आज जनयुद्धको महान् दिवसको दिन हामी सबै एकताबद्ध हुने संकल्प गरौँ, हामी सबै अगाडि बढ्ने प्रतिज्ञा गरौँ । हामी सबै एकताबद्ध भयौँ र अगाडि बढ्यौँ भने हाम्रो जित सुनिश्चित छ । 

-सत्रौँ जनयुद्ध दिवसका अवसरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार खुला मञ्चमा दिएको मन्तव्यको सम्पादित अंश)


No comments:

Post a Comment

पपुलर पोस्टस्