जनयुद्धको सम्पूर्ण तागतलाई सामन्ती निरङ्कुश राजतन्त्र विरुद्ध केन्द्रित गर्ने लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिका दृष्टिले तथा क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पहलका दृष्टिले समेत सामान्यतः नेपालको राजनीतिक आन्दोलन र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको इतिहासमा चुनवाङ बैठकका निर्णयहरू दूरगामी महत्वका रहेका छन् ।
आफ्नो सारतत्वमा चुनवाङ बैठकका निर्णयले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मुख्यतः माओवादी आन्दोलनमा विद्यमान जनयुद्ध र क्रान्ति सम्बन्धी यान्त्रिक अन्धानुकरण र जडसूत्रवादी प्रवृत्ति (जसले क्रान्तिकारी जनताको असीमित बलिदानका बाबजुद क्रान्तिलाई विसर्जनमा पुर्याउने शृङ्खला खडा गरेको थियो) विरुद्ध जनयुद्धका उपलब्धिलाई बचाएर क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने साहसिक पहलकदमी लिएको छ ।
चुनवाङका निर्णयले यथार्थमा जनयुद्ध सुरु गर्ने र पूर्ण रूपले पराजित र आफै नै ध्वंस नहुँदासम्म पुरानै रूपमा जारी राख्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा हिस्सामा विद्यमान वाम विसर्जनवादी र आत्मघाती परम्परालाई तोडेको छ ।
त्यसले जनयुद्धका उपलब्धिलाई राष्ट्रिय राजनीतिका उपलब्धिका स्तरमा उठाएर बचाउने, ठोस वस्तुको ठोस विश्लेषणका आधारमा भूमण्डलीकरणको आजको अवस्थाको विश्लेषण गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई पुर्याउने कार्यनीति र स्पष्ट योजना प्रस्तुत गर्यो ।
आज राष्ट्रिय राजनीतिको जनु केन्द्रबिन्दुमा एकीकृत माओवादी पार्टी रहेको छ, सङ्घीय गणतन्त्रको घोषणा सहित अग्रगमन र पश्चगमन बिचमा जुन राष्ट्रिय बहस चलेको छ, त्यसका पछाडि चुनवाङ बैठकका निर्णयले प्रमुख भूमिका खेलेको ऐतिहासिक तथ्यमा कम्युनिस्ट क्रान्तिकारीले गर्वसाथ दाबी गर्न सक्छन् ।
वस्तुतः चुनवाङ बैठकका निर्णयले तात्कालिक माओवादीको मात्र होइन देशका अन्य कम्युनिस्ट क्रान्तिकारी एवम् निश्चित सीमासम्म विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीको विचार र भावनालाई पनि प्रतिनिधित्व गर्दछ ।
ठिक त्यही ऐतिहासिक चुनवाङ बैठकलाई इतिहासिकै ‘अत्यन्त नकारात्मक’ भन्दै किरण पक्षले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र साम्राज्यवादी भूमण्डलीकरणको ठोस विश्लेषणका आधारमा सर्वहारा रणनीतिको परिमार्जन गर्नुपर्ने आवश्यकतामाथि प्रहार गरेको छ ।
चुनवाङमा त्यस प्रकारको कार्यनीति लिएर नगई जनयुद्ध पुरानै रूपमा जारी राखेको भए के हुन्थ्यो ? किरण पक्षका अधिकांश पुराना नेताहरू (जसलाई जनयुद्धको नेतृत्वका जीवन्त अनुभवको प्रत्यक्ष अनुभूति नै रहेन) ले यस प्रश्नको कुनै जवाफ दिएका छैनन् र उनीहरूले दिन सक्ने कुरा पनि होइन ।
यथार्थमा चुनवाङ कार्यनीति नअपनाइएको भए नेपाली जनयुद्धको नियति त्यही हुने थियो जुन नियति समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका पेरुसम्मका जनयुद्धले भोगिसकेका छन् ।
चुनवाङ अगाडि मोर्चामा युद्धको स्थिति के थियो ?
जनमुक्ति सेनामा भर्तीको के–कस्तो अवस्था हुँदै थियो ? आर्थिक समस्याले पार्टी र आधार इलाकाका जनतालाई कस्तो प्रभाव पार्दै थियो ? देशको समग्र राजनीतिमा सामन्ती निरङ्कुश राजतन्त्रले कसरी जनयुद्ध विरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरूलाई गुहारेर जनतामाथि अझ भयानक नरसंहारको योजना बनाउँदै थियोे ?
यी सबै कुराको प्रभाव पार्टीमा के–कस्तो परिरहेको थियो ? भन्ने जस्ता क्रान्तिका अत्यन्त गम्भीर, मार्मिक र संवेदनशील प्रश्नमा ऐतिहासिक भौतिकवादी ढङ्गले विश्लेषण नगरी चुनवाङ बैठकलाई ‘अत्यन्त नकारात्मक’ भन्नु मनोगतवाद र आदर्शवादको नमुना बाहेक केही होइन ।
सारमा भन्नु पर्दा किरण पक्षद्वारा गरिएको चुनवाङको खारेजीले वस्तुतः सङ्घीय गणतन्त्र सहित आजका सम्पूर्ण राजनीतिक उपलब्धिको खारेजी तथा जनयुद्ध र क्रान्तिलाई पुरानै रूपमा लगेर सम्पूर्ण रूपले पराजयको खाडलमा हाल्नुपर्दथ्यो भन्ने निष्कर्षबाहेक अर्को निक्लन सक्तैन ।
यो बडो आश्चर्यको कुरा हो कि चुनवाङमा उपस्थित भएर त्यसको मुक्तकण्ठले स्वामित्व लिने कैयौँ कमरेड आज यसप्रकारको एकाङ्गी चरम मनोगतवादी र वाम विसर्जनवादी निष्कर्षमा कसरी सामेल हुन पुगे ?
चुनवाङका निर्णयलाई ‘दक्षिणपन्थी संशोधनवादी राजनीति’ भन्नुभन्दा ठुलो संशोधनवाद अरू के हुन सक्छ ? सामन्ती राजतन्त्र अन्त्यसँगै वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रूपले राज्यको अग्रगामी पुनःसंरचना सहित सङ्घीय गणतन्त्र संस्थागत गर्ने महान् नेपाली जनतामाथि योभन्दा ठुलो धोका र विश्वासघात अरू के हुन सक्छ ?
जीवनको यथार्थ धरातलमा टेकेर क्रान्तिको मौलिकता जनताको सङ्घर्षबाट सिक्नुको सट्टा किताब र सूत्रमा खोज्ने किरण पक्षको विश्लेषणले क्रान्तिलाई होइन अन्ततः प्रतिक्रान्तिलाई सेवा गर्ने जनविरोधी र आत्मघाती दिशा पक्डेको कुरा स्पष्ट हुन्छ ।
भृकुटीमण्डप दस्तावेज
No comments:
Post a Comment