Sep 2, 2015

कम्युनिष्ट आन्दोलनको संकट र एउटा क्रान्तिकारीको दायित्व:

इन्द्रमोहन सिग्देल ‘बसन्त’

एकताका विश्वको करीव एक तिहाई भूगोल र एक चौथाई जनसंख्यामा आफ्नो राजनीतिक सत्ता स्थापित गरेर विश्व सर्बहारावर्गले साम्राज्यवादी विश्व व्यवस्थामाथि धावा बोल्न सफल भएको थियो । तर, आज ती राजनीतिक सत्ता ढलेका छन् र विश्वको कुनै देशमा पनि कम्युनिष्ट पार्टी सत्तामा छैन । त्यति मात्र होइन क्रियाशील कम्युनिष्ट पार्टीहरुको संख्या औंलामा गन्न सकिने अवस्थामा आइपुगेको छ । ती पार्टीहरु पनि विकासशील अवस्थामा छैनन् । यो वास्तवमा कम्युनिष्ट आन्दोलनले सामना गर्नु परिरहेको एउटा गंभीर संकटको अवस्था हो । यो छोटो लेखमा हिजो विश्वमा कम्युनिष्ट क्रान्तिहरु कसरी सफल भएका थिए, आज ती किन ढले, हाम्रो वर्गले कहाँनेर गल्ती गर्यो र यो संकटको अवस्थाबाट क्रान्तिलाई बढाउन के गर्नु पर्ला भन्नेबारे संक्षिप्तमा प्रकाश पार्न खोजिएको छ ।

यो साम्राज्यवाद तथा सर्बहारा क्रान्तिको युग हो । साम्राज्यवादको विहंगम विश्लेषण लेनिनले गर्नुभएको थियो । त्यसो भएर यो युगलाई लेनिनको युग पनि भन्ने गरिन्छ । जुन १९१६ मा प्रकाशित “साम्राज्यवाद पुँजीवादको उच्च चरण हो” भन्ने आफ्नो अत्यन्त महत्वपूर्ण कृतिमा उहाँले साम्राज्यवाद मरणासन्न पूँजीवाद हो भन्ने निश्कर्ष निकाल्नु भएको थियो । करीव एक सय वर्ष अगाडि गरिएको यो विश्लेषणलाई कम्युनिष्टहरुले आज पनि सही मान्दछन् । तर, यहाँनेर स्वाभाविक रुपमा एउटा प्रश्न अगाडि आउने गर्छ । करीव एक शताव्दी अगाडि नै मृत्युशैøयामा पुगेको साम्राज्यवाद आजसम्म किन मरेको छैन ? किन यो अझ ‘बलियो’ बन्दै छ र सिङ्गो विश्वलाई नै आफ्नो चपेटामा लिइरहेको छ अहिलेसम्म पनि ? लेनिनले गरेको विश्लेषण अपर्याप्त वा गलत थियोे त ? अथवा कम्युनिष्टहरुको आफ्नै कमजोरीका कारण यस्तो हुन गएको हो ? आज इमान्दार क्रान्तिकारीहरुको दिमागमा यी र यस्तै प्रश्नहरुले गहिरो गरी घोचिराखेका छन् । यो लेखमा यी प्रश्नहरुको पनि जवाफ दिन कोशिस गरिने छ ।

पुँजीवाद पनि एउटा जीवित वस्तु हो । वस्तु भएका कारण यो गतिशील छ । यसले पनि विकास नगरी आफ्नो रक्षा गर्न सक्दैन । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वका कारण पुँजीवादी व्यवस्थामा जुन अन्तरविरोध पैदा हुन्छ त्यही नै त्यसको गतिको कारण हो । सुरुमा पँुजीवाद खास देशको सीमाभित्र प्रतिस्पर्धात्मक ढङ्गले क्रियाशील थियो । आफ्नो समयमा माक्र्सले प्रतिस्पर्धात्मक पुँजीवादको विश्लेषण गर्नुभयो । उहाँले जुन देशमा पुँजीवादको चरम विकास हुन्छ, सबैभन्दा पहिला त्यही देशमा सर्बहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न हुन्छ भन्ने निस्कर्ष निकाल्नु भएको थियो । तर, अति उत्पादनका कारण त्यो प्रतिस्पर्धात्मक पुँजीवाद बजार विस्तारका लागि राष्ट्रिय सीमाभन्दा बाहिर गयो र त्यसले एकाधिकारवादी चरीत्र ग्रहण गर्न पुग्यो । विकसित पँुजीवादी देशमा हुने श्रम र पुँजीका बीचको अन्तरविरोधलाई यसले एक हदसम्म मत्थर गराइ दियो । परिणामतः माक्र्सको जीवनकालमा अल्पसमयका लागि फ्रान्समा पेरिस कम्युनको स्थापना बाहेक अरु कुनै देशमा पनि समाजवादी क्रान्ति सम्पन्न हुन सकेन । आफ्नो मृत्युका कारण माक्र्सले एकाधिकारवादी पुँजीको अध्ययन गर्न पाउनु भएन ।

माक्र्सले पूंजीवादको जसरीे विश्लेषण गर्नु भएको थियो त्यसैलाई आधार मानेर लेनिनले क्रान्तिको रणनीति निर्धारण गर्न खोज्नुभएको भए रुसमा सायद त्यति नै बेला समाजवादी क्रान्ति संभव हुने थिएन । किनभने परिस्थिति माक्र्सले अनुमान गर्नु भएको तिर भन्दा अन्यत्र गइरहेको थियो । त्यसै भएर लेनिनले बारम्बार जोड दिने गर्नुहुन्थ्यो, “ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा हो ।” लेनिनले साम्राज्यवादको विहङ्गम विश्लेषण गर्नु भयो र त्यसका आधारमा साम्राज्यवादको कमजोर कडी भएको पुँजीवादी देशमा क्रान्ति संभव छ भन्ने निस्कर्षमा पुग्नुभयो । लेनिनको यो निस्कर्ष माक्र्सवादबाट विचलन थिएन, बरु त्यसको सिर्जनात्मक विकास थियो । यसले रुसमा समाजवादी क्रान्तिलाई सफल मात्र गराएन, बरु माक्र्सवादलाई नयाँ उँचाइमा समेत उठायो । माक्र्सवाद माक्र्सवाद–लेनिनवादमा विकास भयो, द्वन्द्वात्मक ऐतिहासिक तथा भौतिकवादले थप छलाङ्ग हान्यो ।

यसका साथै, लेनिनले “माक्र्सवाद कुनै जडसूत्र होइन, यो त कामको निर्देशक हो” भनेर सधैं सिर्जनात्मक ढङ्गले माक्र्सवादलाई लागू गर्न जोड दिने गर्नुहुन्थ्यो । अनुभववाद तथा जडसूत्रवाद दुबैका विरुद्ध संघर्ष गरेर लेनिनले सर्बहारा क्रान्तिलाई अगाडि बढाउनु भएको थियो । पुँजीवादको विकास नभइसकेका पूर्वीय देशहरुमा क्रान्तिको कार्यदिशा कस्तो होला भन्ने प्रश्नमा उहाँले दिएको जवाफ निकै सारगर्भित र मननयोग्य छ । उहाँको जवाफ थियो, यो मैले होइन सम्बन्धित देशका क्रान्तिकारी कमरेडहरुले भन्ने विषय हो । यसो भनेर लेनिनले एउटा क्रान्तिकारी कम्युनिष्ट यान्त्रिक र मनोगतवादी होइन सधै वस्तुवादी र सिर्जनशील हुनु पर्दछ भन्नेतर्फ संकेत गर्नु भएको थियो ।
चिनियाँ क्रान्तिका सन्दर्भमा पनि माओले कहिल्यै लेनिन वा अन्य कसैकोे अन्धानुकरण गर्नु भएन । बरु, पूर्वीय देशको क्रान्तिका सन्दर्भमा लेनिनले भनेको कुरालाई उहाँले गहिरो गरी आत्मसात गर्नुभयो । चिनियाँ समाज अर्ध–सामन्ती तथा अर्ध÷नव–औपनिवेशिक अवस्थामा रहेको विश्लेषणका आधारमा चिनियाँ क्रान्तिका दुई अभिभाराहरुको व्याख्या, चिनियाँ समाजको वर्गविश्लेषण र नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा सैन्य कार्यदिशाको अन्वेषणले माओलाई लेनिनवादी मान्यताका विरोधी होइन, बरु लेनिनको एउटा सच्चा उत्तराधिकारी बनायो । यदि माओ सर्बहारा क्रान्ति साम्राज्यवादको कमजोर कडी भएको पुँजीवादी देशमा हुन्छ भन्ने लेनिनको मान्यताका प्रखर अनुयायी मात्र भएको भए सायद चीनमा नयाँ जनवादी क्रान्ति सम्भव हुने थिएन । त्यो मात्र होइन माओले त्यतिबेला कमिन्टर्नले दिएको सुझावलाई जस्ताको तस्तै लागू गरेको भए अर्थात् माओ अनुभववादको शिकार भएको भए चिनियाँ क्रान्तिको नियति के हुन्थ्यो होला भन्न त्यति सजिलो छैन । १९४९ मा चीनमा नयाँ जनवादी क्रान्तिको सफलता, सर्बहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा महान् सर्बहारा साँस्कृतिक क्रान्तिको प्रक्रियामा त्यसको प्रयोगसम्म पुग्दा माओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्नु भयो । यो आज विश्व सर्बहारावर्गका लागिएउटा अपराजेय वैचारिक हतियार बन्न गएको छ ।

सँक्षिप्तमा भन्नुपर्दा माक्र्सवादी हुनु भनेको विद्यमान परिस्थितिको क्रान्तिकारी रुपान्तरणका लागि द्वन्द्वात्मक भौतिकवादी पद्धतिलाई सिर्जनशील भएर प्रयोग गर्न सधै आफूलाई तयार राख्नु होे । एउटा कम्युनिष्ट पार्टीले सच्चा क्रान्तिकारी बन्नका लागि उसले एक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई गहिरो गरी बुझ्न जरुरी छ दुई, त्यही दृष्टिकोणका आधारमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्दछ, तीन,सही राजनीतिक तथा सामरिक कार्यदिशा र वैज्ञानिक रणनीति तथा कार्यनीति विकास गर्नु पर्दछ, चार, त्यो कार्यदिशालाइ व्यवहारमा उतार्नका लागि वर्गसंघर्षमा हाम्फाल्न तयार नेतृत्व तथा कार्यकर्ताको एउटा विशाल पंक्ति तयार पार्नु पर्दछ, पाँच, मनोगतवाद, अनुभववाद तथा व्यवहारवादका गल्तीहरुबाट आफूलाई बचाउनु पर्दछ, छ, यान्त्रिक तथा जडसूत्रीय कमजोरीबाट आफूलाई अलग राख्न सक्नुपर्दछ र सात, मालेमावादलाई सिर्जनात्मक ढङ्गले लागू गर्न साहस गर्नुृपर्दछ आदि । रुस तथा चीनका सफल क्रान्तिबाट एउटा क्रान्तिकारीले सिक्ने कुराहरु यिनै हुन् ।

तर, आज लेनिनको रुस र माओको चीनमा प्रतिक्रान्ति भइसकेका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा मुख्यतः माओको निधनपछि क्रान्तिकारी आन्दोलनहरु सफलतापूर्वक अगाडि बढेका देखिंदैनन् । २० औं शताव्दीको ९० को दशकमा पेरुको नयाँ जनवादी क्रान्तिले एउटा गुणात्मक उचाइ हासिल गरेको थियो । त्यस्तै गत शताव्दीको अन्तिम दशकमा नेपाली नयाँ जनवादी क्रान्ति विश्व साम्राज्यवादको चुनौती भएर खडा भएको थियो । इण्डिया, फिलिपिन्स, टर्की, बङ्गलादेश लगायतका देशहरुमा चलेका जनयुद्ध ती देशका सत्ताका विरुद्ध गंभीर चुनौती बनेका थिए । तर, अहिले पेरुको क्रान्तिले गम्भीर धक्का खाएको छ, नेपालको नयाँ जनवादी क्रान्तिलाई प्रचण्ड–बाबुराम मण्डलीले दुश्मनकोे पोल्टामा सुम्पेका छन् र वाँकी देशका क्रान्तिहरु पनि एकपछि अर्को गरी धक्का खाँदै निकै कमजोर बनेका छन् । त्यसमाथि चीनको प्रतिक्रान्तिपछि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण वैचारिक भूमिका निर्वाह गर्दै आएको रिमको पनि अघोषित विघटन भएको छ । यो सबैले यतिबेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आम निराशा पैदा गरेको छ । यो विश्व कम्युनिष्ट आन्दोलनको यतिबेलाको तीतो यथार्थ हो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन यो अवस्थामा पुग्नुका पछाडि मुख्यतः दक्षिणपंथी संशोधनवाद जिम्मेवार छ । यही नै कम्युनिष्ट आन्दोलनको मुख्य खतरा रहँदै आएको छ । रुसको क्रान्तिमा ख्रुश्चोभी आधुनिक संशोधनवाद र चिनियाँ क्रान्तिमा ल्यु–शाओ–ची तथा तेङ्ग–सियाओ–पिङ्गको दक्षिणपन्थी संशोधनवाद प्रतिक्रान्तिका निमित्त जिम्मेवार थिए । रुस र चीनमा संशोधनवाद पैदा हुनुका पछाडिका आत्मगत र वस्तुगत कारणहरुबारे विश्व कम्युनिष्ट आन्दोलनमा केही समीक्षा भएका छन् । यसको अरु गहिरो समीक्षा गरेर कम्युनिष्टहरुको ज्ञानको भण्डारलाई समृद्ध गर्न जरुरी छ ।

आन्दोलनको पछिल्लो चरणमा पेरु र नेपालका क्रान्तिले पनि गंभीर धक्का खाएका छन् । पेरुको पार्टीभित्रबाट पैदा भएको दक्षिणपन्थी अवसरवादी लाइन (च्इी) नै त्यहाँको धक्काका लागि जिम्मेवार छ । नेपालमा पनि प्रचण्ड–बाबुरामको नव–संशोधनवादले नै क्रान्तिलाई ध्वस्त बनाएको हो । यसरी पेरु र नेपालमा पनि रुस र चीनमा जस्तै क्रान्तिको प्रमुख दुश्मन संशोधनवाद नै देखिएको छ । यो एउटा यथार्थ हो । तर, दक्षिणपंथी संशोधनवादलाई सरापेर मात्र क्रान्तिकारीहरुको दायित्व पूरा हुन सक्दैन । विश्व कम्युनिष्ट आन्दोलनको पछिल्लो स्थितिमा त्यसमा पनि पेरु तथा नेपालमा क्रान्तिको गंभीर धक्कालाई रोक्न ती पार्टीभित्रका क्रान्तिकारीहरु कहाँनेर चुके र क्रान्तिको रक्षा गर्न किन सकेनन्, त्यसको समग्र समीक्षा आजको अनिवार्य आवश्यकता हुन गएको छ । आजको स्थितिबाट सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका निम्ति विश्वभरिका माओवादी क्रान्तिकारीहरुले यसलाई पहिलो काम बनाउनु पर्दछ ।

यतिबेला कम्युनिष्ट क्रान्तिकारीहरु माओवादी आन्दोलनभित्र चलेका गम्भीर वैचारिक बहसहरुलाई व्यवस्थित ढङ्गले संचालन गर्ने र त्यसको वज्ञौनिक ढङ्गले संश्लेषण गर्ने काममा केन्द्रित हुनु पर्दछ । क्रान्तिले चारैतिर गंभीर धक्का खाएको वर्तमान सन्दर्भमा मालेमावाद अपर्याप्त भयो भन्ने बहसहरु पनि यत्रतत्र हुने गरेका छन् । त्यतिमात्र होइन चीनको प्रतिक्रान्तिपछि मालेमावादको सान्र्दभिकता समाप्त भएको र २१ औ शताव्दीमा क्रान्तिका चुनौतीहरुको सामना गर्न नयाँ सिद्धान्तको आविस्कार पनि भइसकेको भन्ने कुराहरु बहसमा आएका छन् । यो नयाँ संश्लेषणको नाममा अभिव्यक्त उत्तर–मालेमावादी रुझान हो । अर्कोतिर २१औं शताव्दीको क्रान्तिमा एक सय ५० वर्षभन्दा पुरानो माक्र्सवादलाई लागू गर्न खोज्नु वाष्प इञ्जिन फिट गरेर जेट–विमान उडाउन खोज्नु जस्तै हो भन्ने उटपट्याङ्ग तर्कहरु पनि नेपाली माओवादी आन्दोलनभित्र सुनिन थालेका छन् । यो माक्र्सवादलाई गतिशील विज्ञानको रुपमा नभएर यन्त्रको रुपमा बुझ्ने यान्त्रिक चिन्तन र उत्तर–मालेमावादी रुझानको वर्णशंकर अभिव्यक्ति हो । क्रान्तिकारी सिद्धान्तको विकासको नाममा मालेमावादमाथि नै आक्रमण गर्ने यो यान्त्रिक तथा उत्तर–मालेमावादी प्रवृत्तिलाई परास्त गर्न र मालेमावादको विकास गर्नका लागि वैचारिक संघर्ष एवम् वर्गसंघर्षलाई नयाँ उँचाइमा उठाउनु अनिवार्य भइसकेको छ । विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरुले यसलाई दोस्रो काम बनाउनु पर्दछ ।

सामान्यतः ८०को दशकमा भएको चीनको प्रतिक्रान्ति र विशेषतः ९० को दशकको सामाजिक साम्राज्यवादको विघटनपछि साम्राज्यवादका थिङ्कटैङ्कहरुले विभिन्न बहानामा निवर्गीय अवधारणालाई अगाडि सारेर माक्र्सवादको क्रान्तिकारी सारमाथि वैचारिक आक्रमण गर्दै आएका छन् । तिनीहरुले समावेसी लोकतन्त्र, सहभागितामूलक लोकतन्त्र, पूर्ण समानुपातिक प्रतिनिधित्व, मानवाधिकार, नागरिक सर्बोच्चता तथा पहिचान जस्ता निवर्गीय पदाबलीहरु प्रयोग गरेर माक्र्सवादको वर्गीय पक्षधरतामाथि धावा बोल्दै आएका छन् । यसले उत्पीडित वर्ग तथा समुदायमा रहेका जनताको ठूलो हिस्सालाई भ्रममा पार्ने गरेको छ । यो भ्रमलाई सफा नगरी कुनै पनि देशमा क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन । खासगरी पछिल्लो चरणमा साम्राज्यवादले अगाडि सारेका उत्तर–आधुनिकतावादी र नवउत्तर–माक्र्र्सवादी दर्शनमाथि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको वर्चस्वलाई पुनस्र्थापित गर्न बैचारिक संघर्षलाई माथि उठाउनु पर्दछ ।

त्यस्तै साम्राज्यवादले प्रतिक्रियावादी सार तर जनपक्षीय रुप बोकेका नयाँ र मीठा कार्यक्रम तथा पदावलीलाई प्रयोग गरेर आफ्नो वर्चस्वलाई कायम गर्दै आएको छ । ती मीठा पदावलीहरुको असली सारलाई नबुझ्दासम्म आन्दोलन दिग्भ्रमित भइरहने र त्यसको प्रतिक्रियावादी सारलाई बुझ्ने बेलासम्म क्रान्तिकारी आन्दोलनले धेरै क्षति व्यहोरिसकेको हुने जुन स्थिति विगतमा बन्न गयो, त्यसबाट क्रान्तिकारीहरुले गम्भीर पाठ सिक्नुपर्दछ । क्रान्तिकारीहरुको इमान्दारी र सोझोपनबाट प्रतिक्रियावादीहरुले फाइदा उठाइरहेका छन् । जनताका थिङ्कटैङ्कहरुलाई तयार पार्ने र तीनलाई वौद्धिक काममा खटाउने कुरामा क्रान्तिकारीहरुको उदासीनता र ढिलासुस्तीले आन्दोलनलाई निकै नोक्सान पु¥याउने गरेको छ । कम्युनिष्टहरुले साम्राज्यवादका दलालहरु भन्दा सतर्क र सक्रिय भएर मात्र तिनीहरुमाथि आफ्नो वर्चस्व कायम गर्न सक्दछन् । यसलाई क्रान्तिकारीहरुले गंभीरतापूर्वक लिनु पर्दछ ।

कम्युनिष्ट आन्दोलनको इतिहासमा वैज्ञानिक समाजवादको प्रयोग गर्दा क्रान्तिकारीहरुबाट थुप्रै कमीकमजोरीहरु हुन गएका छन् । त्यसको व्यापक समीक्षा गर्ने र तिनलाई सच्याउने कुरामा तिनीहरुकोे भूमिका अपर्याप्त रहेको छ । साथै,सारमा मात्र जोड दिने र क्रान्तिकारी सारअनुसार रुपको विकास गर्न पर्याप्त ध्यान नदिने समस्याले पनि क्रान्तिकारीहरु पछि परेका हुन् । कम्युनिष्ट आन्दोलन जुन एउटा गंभीर मोडमा खडा हुन पुगेको छ, त्यसको रक्षा र विकासका लागि क्रान्तिकारीहरुले माक्र्सवादका तीनवटै संघटक अंगहरु (दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवाद) मा विकास गर्न जरुरी छ । यसलाई सैद्धान्तिक बहसबाट मात्र होइन, सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक प्रक्रियाबाट अगाडि बढाउनु पर्दछ । विश्वभरिका क्रान्तिकारीहरुले गर्नुपर्ने यो तेस्रो काम हो ।

पछिल्लो समयमा साम्राज्यवादको नव–औपनिवेशिक चरणमा भएको विकासले विभिन्न देशका अर्थ–सामाजिक अवस्थामा समेत व्यापक परिवर्तन आएको छ । खासगरी साम्राज्यवादी वित्तीय पँुजीको आयात र वैदेशिक रोजगारीको विस्तारका कारण तेस्रो विश्वका मुलुकहरुमा सामन्तवाद क्रमशः खिइदैं गएको र दलाल पुँजीवादको विकास भएको कुरा एउटा यथार्थ हो । तर, यसको अन्तर्वस्तुलाई बुझ्ने सवालमा कतिपय इमान्दार कम्युनिष्टहरुमा पनि भ्रम पर्न गएको देखिन्छ । यसलाई आधार बनाएर आगामी क्रान्तिको चरण समाजवाद हुने तर्कहरु पनि यदाकदा उठ्ने गरेका छन् । गहिरो गरी बुझ्नुपर्ने कुरा के हो भने यो राष्ट्रिय पुँजीवाद नभएर साम्राज्यवादी दलाल पुँजीवाद हो । तसर्थ यसले समाजवादी क्रान्तिका लागि आर्थिक आधारको काम गर्न सक्दैन । त्यसकारण क्रान्तिको स्तर नयाँ जनवादी नै हुन्छ । तर अब गरिने नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनीतिमा भने यो अर्थ–सामाजिक अवस्थामा आएको परिवर्तनले माग गरे अनुसार विकास गर्न जरुरी छ । यो हाम्रो देशको मात्र होइन तेस्रो विश्वका देशहरुको एउटा आमप्रवृत्ति हो । यसबारे तेस्रो विश्वका अरु देशमा चलेको बहसबाट पनि अध्ययन गर्नु पर्दछ ।

अन्तमा, विश्व कम्युनिष्ट आन्दोलन यतिबेला अत्यन्त रक्षात्मक अवस्थामा पुगेको छ । यो कुरा साँचो हो । तर, यसो हुनुका पछाडिको कारण उत्तर–माक्र्सवादीले भने जस्तो माक्र्सवाद आफै होइन । मुख्यतः हामी कम्युनिष्टहरु नै यसका जिम्मेवार हौं । माक्र्सवादको दार्शनिक आधार भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यो विज्ञान हो । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुका पछाडिको मूल कारण हामीले बाहिर खोज्ने होइन । त्यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अन्तरवस्तुलाई ग्रहण गर्न नसक्ने, गरे पनि द्वन्द्वात्मक भौतिकवादी पद्धतिलाई सिर्जनात्मक ढङ्गले व्यवहारमा लागू नगर्ने, बरु त्यसको उल्टो, मनोगतवाद, अनुभववाद तथा व्यवहारवादका र यान्त्रिक तथा जडसूत्रवाद जस्ता कमजोरीमा फँस्ने समस्यामा व्यक्त हुने गरेको छ । एउटा क्रान्तिकारी कम्युनिष्टले यी र यस्तै कमजोरीहरुका विरुद्ध आजीवन आत्म–सँघर्ष गरेर र त्यसलाई पार्टीको दुई–लाइन संघर्षमा प्रयोग गरेर मात्र उसले कम्युनिष्ट पार्टीलाई समाजवादी क्रान्तिको र वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने एउटा क्रान्तिकारी साधन बनाउन सक्छ । आजको संकटपूर्ण घडीमा विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने वैज्ञानिक बाटो यही हो ।

No comments:

Post a Comment

पपुलर पोस्टस्