–देव गुरुङ
यही भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राज्यपक्षले आपराधिक घटनाको रुपमा लिएर दमन, धरपकड र राज्य आतङ्क खडा गरिरहेको छ । के स्थिति त्यस्तै हो ? तर त्यसको पृष्ठभूमिको घटनाक्रमलाई हेर्दा त्यस्तो बिल्कुल देखिदैँन र यो विशुद्ध राजनीतिक परिघटना हो भन्ने कुरा स्पष्ट देखिन्छ ।
किनभने ३ दलका शीर्ष नेताहरूले नयाँ संविधानको मस्यौदा साथै प्रादेशिक सिमाङ्कन गरेपछि त्यसको विरुद्ध थारुवान, मधेश, भेरी–कर्णाली र मगरातका जिल्लाहरूमा जनता सडकमा उत्रे । सुर्खेत र जुम्लामा प्रहरीको गोलीबाट कैयौँको हताहत भयो र कयौँ घाइते बनाइए । भेरी–कर्णालीको आन्दोलनको सन्दर्भमा तीन दलका नेताहरू थोरै पछाडि हटे पनि अन्यत्रको सन्दर्भमा तीन दलका नेताहरूले हठ प्रदर्शन गरिरहे । थारुवान, मगरात र मधेशको सन्दर्भमा झन निर्मम देखिए । थारुवान र मधेशमा अझ उल्टो आन्दोलनका विरुद्ध कफ्र्यु जारी गर्दै साम्प्रदायिक भड्काव सिर्जना गर्न समेत राज्य पक्षका पहाडे सामन्ती ब्राम्हणवादी नेताहरू र सरकारी अधिकारीहरू लागिपरे ।
त्यसैक्रममा कैलालीमा केही समय पहिलेदेखि नै प्रशासनले थारुवान-थरुहट आन्दोलनको विरुद्ध धनगढी क्षेत्रमा अघोषित रुपमा कफ्र्यु लगाउँदै आयो । अर्को तर्फ त्यही नै प्रशासनको संरक्षणमा अखण्ड सुदुरपश्चिमको नाममा गरिएका गतिविधिहरूलाई भने खुलारुपमा छुट मात्र होइन उनीहरूले जिल्ला बन्द गर्दा धनगढीका कैयौँ सरकारी कार्यालयहरू र एयरपोर्ट समेत बन्द गर्न लगाएर बन्दको पक्षमा व्यापकता रहेको सन्देश समेत दिने प्रयत्न जिल्ला प्रशासनले गर्यो । आदिवासी थारुहरूलाई धनगढीको मुख्य बजार क्षेत्रमा कहिँकतै कुनै पनि प्रकारको कार्यक्रम गर्न प्रशासनले दिएन र मुख्य बजार तर्फ आउने सडकहरूमा काँडेतार नै लगाए । तर अखण्डको निम्ति भने काँडेतार भित्रको मूल बजारक्षेत्र, जहिले कार्यक्रम गरे पनि खुला छुटका साथै प्रशासनको संरक्षण रहँदै आयो । त्यसबाट पञ्चायत कालमा प्रशासनले मण्डलेहरूलाई खुला छुट र संरक्षण दिएको र विपक्षहरूलाई पुरै निषेध गरेको निरंकुशता र ज्यादतीको स्मरण हुन्छ । राज्यपक्षले गर्दै आएको भेदभाव र पक्षपातका बावजुद थारु समुदायले काँडेतार भित्रको मूल बजार क्षेत्रमा जबरजस्ती प्रवेश नगरी काँडेतार बाहिरै र टीकापुरलगायतको गाउँ बस्तीहरूमा शान्तिपूर्ण कार्यक्रमहरू गर्दै गरे । प्रशासनको संरक्षणमा पटक–पटक अखण्ड पक्षलाई उचालेर थारु पक्षको विरुद्ध आक्रमण गर्न लगाउने र साम्प्रदायिक भड्काव गराउन खोजे पनि थारुहरूले प्रतिवाद गरेका थिएनन् । यद्यपी थारु समुदायका तर्फबाट बोलिदिने केही व्यक्तिहरूले स्थितिलाई उत्तेजक बनाउने अभिव्यक्तिहरू दिएका भए तापनि थारुहरू निकै संयम र धैर्य बनेका देखिन्छन् । आजका मितिसम्म पनि उनीहरूले अखण्ड पक्षधरहरूका विरुद्ध कुनै पनि प्रकारको हिंशाजन्य प्रतिशोधात्मक कार्यहरू गरेका छैनन् ।
नयाँ संविधानको मस्यौदामा कैलाली कञ्चनपुरसहितको अखण्ड सुदुरपश्चिम कायम हुँदा हुँदै पनि अखण्ड पक्षले यहि भदौ ४ गते धनगढीमा मोटरसाइकल जुलुस प्रदर्शन गर्ने निश्चित गर्दै त्यसलाई अत्तरिया छेऊसम्म मात्रै लैजाने भनी अघिल्लो दिन प्रशासनको रोहवरमा थारु संघर्ष समितिसँग सहमति गरे । तर अखण्ड पक्षधरले उक्त दिनको मोटरसाईकल जुलुसलाई अघिल्लो दिनको सहमति उल्लंघन गरेर लम्की हुँदै टीकापुर तर्फ लग्यो । त्यसपछि नै स्थिति तनाव र झडपको अवस्थातर्फ गयो । सोही दिन बेलुकादेखि प्रशासनले टीकापुर क्षेत्रमा कफ्र्यु जारी गर्यो । त्यो पनि केवल थारु समुदायलाई मात्र । अखण्ड पक्षधरहरूको निम्ति खुला छुट मात्र होइन, पुलिस प्रशासनकै संरक्षणमा थारुहरूका विरुद्ध धाक धम्कि दिँदै आतङ्क सिर्जना गर्न थाले । तत्पश्चात ५ गतेदेखि नै थारु संघर्ष समितिका प्रतिनिधिहरूले प्रशासन समक्ष ‘टीकापुरमा मात्र कफ्र्यु किन ? त्यसमा पनि थारु समुदायलाई मात्र कफ्र्यु किन ? अखण्डको साम्प्रदायिक आतङ्कलाई प्रशासनिक संरक्षण किन ?’ भनेर दुई दिनसम्म लगातार आग्रह गर्दा पनि प्रशासनले कुनै सुनुवाई गरेन् र थारुसमुदायका विरुद्ध कफ्र्यु जारी राखे । त्यसपछि ७ गते कफ्र्यु तोड्ने पूर्व जानकारीका साथ थारुसमुदायले प्रतिरोध गरेका थिए । अतः ७ गतेको घटना सामन्ती एकाधिकारवादी प्रशासनको कदमको विरुद्ध थारु समुदायले गरेको विद्रोह हो भन्ने स्पष्ट देखिन्छ ।
अन्याय र ज्यादती भएमा त्यसका विरुद्ध विद्रोह गर्नु जनताको नैसर्गिक अधिकार पनि हो । हो, निश्चय पनि त्यसमा दुखद घटनाहरू घटेका छन् । वरिष्ठ प्रहरी उपरिक्षक लगायत थुप्रै सुरक्षाकर्मी र आन्दोलनकारीहरूको परिस्थितिजन्य हताहती भएको छ । यी सबैका बावजुद पनि सयौँ वर्षदेखि पहाडे सामन्ती ब्राम्हणवादको उत्पीडनमा पर्दै आइरहेका आदिवासी थारुहरूले सो उत्पीडनका विरुद्ध गरेको विद्रोहको संकेत हो । थारु समुदायले थारुवान÷थरुहट स्वायत्त प्रदेशको निम्ति जुन एकता, साहस र वीरता प्रदर्शन गर्यो, त्यो दुरगामी ऐतिहासिक महत्वको परिघटनाको रुपमा नेपालको इतिहासमा दर्ज हुनेछ ।
आदिवासी जनजाति थारुका विरुद्ध पहाडे सामन्ती ब्राम्हणवादले खडा गरेको राज्य व्यवस्थाले उक्त घटनालाई आपराधिक घटनाको रुपमा लिने, कानुन र व्यवस्थाको नाममा दमन र धरपकड गर्ने, हत्या र हिंसाका लागि भिजलान्ते खडा गरी साम्प्रदायिकता मच्चाउनेलगायतको राज्य आतङ्क खडा गरियो भने त्यस विरुद्धको आगो थारुवानमा मात्र होइन, अन्यत्र पनि फैलने कुरा सुनिश्चित छ । त्यसैले सत्तारुढ पहाडे सामन्ती ब्राम्हणवादी नेताहरूले समयमा नै ठण्डा दिमागले सोचुन् र थारुलगायतका उत्पीडित आदिवासीहरूको निम्ति स्वायत्त प्रदेश र राज्यका सबै अङ्गहरूमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने चेतना पलाओस । टीकापुर घटनाले यही शिक्षा दिएको छ ।
No comments:
Post a Comment