आहुति
पश्चिम नेपालको कर्णालीपारि थरुहट/थारुवानको आन्दोलनको क्रममा भाद्र ७ गते कैलालीको टिकापुरमा जुन स्तरको विभत्स र अमानवीय घटना घट्न पुग्यो त्यसबाट पूरै देश स्तब्ध हुन पुगेको छ । यसबाट कतिपयले नेपालमा संघीयताको मुद्दालाई कमजोर पार्न एउटा गतिलो हतियार फेला पारेकोझैं अभिव्यक्ति दिन थालेका छन् भने अर्कातिर सत्ता भने सेना परिचालनद्वारा विषयलाई थप जटिलतातिर धकेल्न उद्दत देखिएको छ ।टिकापुरमा घटेको घटनाको प्रकृतिले देशीविदेशी धेरै प्रकारका षड्यन्त्रहरुतिर संकेत गरिरहेकै छन् तथापि यो रचनाको मुख्य ध्येय भने त्यस विषयमा केन्द्रित हुनु होइन बरु थरुहट र अखण्ड सुदूर पश्चिमका रुपमा प्रकट विवादको वास्तविक कारणतिर ध्यान खिच्नु हो ।
१) आज देखापरेको थरुहट र अखण्ड सुदूर पश्चिमको सीमा विवादलाई यदि वैज्ञानिक ढंगले समाधान गर्ने वौद्धिक जुक्ति खोज्नेतिर नजाने हो भने नेपालमा धेरै स्थानमा यस प्रकारका समस्याहरु समाधान गर्नै नसक्ने गरी प्रकट हुने निश्चित छ । कुनै न कुनै रुपमा कुनै पनि बेला लिम्बुवान र किरातबीच, मिथिला र भोजपुराबीच, नेवार र तामाङबीच अनि गुरुङ र मगरबीच यस प्रकारको समस्या प्रकट हुने सम्भावना अधिक छ । यो नसल्टाई पनि नहुने र अत्यन्तै संवेदनशील हुने विषय हो ।
अरुतिर जस्तै थरुहट र अखण्ड सुदूर पश्चिमको मुद्दा वास्तवमा दुई उत्पीडित सभ्यताबीचको मुद्दा हो जसरी लिम्बुवान र किरातको मुद्दा । यो सामान्य सीमाको मुद्दा मात्र होइन । केन्द्रीकृत शासनबाट विविध प्रकारले सयौं वर्षदेखि उत्पीडित रहँदै आएका दुई वटा सभ्यताहरु एकआपसमा सहकार्य र एकताद्वारा संघीयता एवम् आफ्नो हित प्राप्त गर्न सक्छन् कि उनीहरु आपसमा भिडन्त गरेर प्रगति गर्न सक्छन् ? यो प्रश्नको सैद्धान्तिक उत्तर दुई वटा उत्पीडित सभ्यताहरु थरुहट र अखण्ड सुदूर पश्चिमका पक्षधरहरुले खोज्नैपर्छ ।
यदि थरुहट र अखण्ड सुदूर पश्चिम पक्षधरहरुले यस विषयमा गम्भीरतापूर्वक चिन्तन गर्दैनन् र एकआपसलाई निषेधमा व्यस्त राख्छन् भने उनीहरुमाथि सयौं वर्षदेखि शासन गर्दै आइरहेकाहरुले फेरि पनि लगातार शासनलाई जीवित राख्न उनीहरुलाई एकआपसमा जुधाइराख्ने निश्चित छ । यही कारणले संघीयता र स्वशासनको हत्या हुन पुग्यो भने न त थरुहट न त अखण्ड सुदूर पश्चिम चाहनेलाई नै फाइदा हुनेछ । बरु त्यसबाट केन्द्रीकृत उत्पीडन जारी राख्न चाहने तत्वहरुलाई नै फाइदा पुग्ने पक्कापक्की छ ।
२) अखण्ड सुदूर पश्चिमको सार के हो ?
कर्णालीपारिका पहाडी जिल्लाहरु यथार्थमा डोटेली सभ्यता हो । डोटेली सभ्यता नेपालको केन्द्रीकृत राज्यबाट धेरै लामो समयदेखि उत्पीडित रहेको सभ्यता हो । त्यहाँ रहेका खस–आर्य र नेपालका अन्य क्षेत्रमा रहेका खस–आर्यबीच उत्पीडक र उत्पीडितको सम्बन्ध रहेको छ ।
धेरै मानिसलाई थाहा छैन कि कर्णालीपारिको डोटेली सभ्यताले वि.स. २०१८ सालपछि मात्र काठमाडौंकेन्द्रित शासनसँग भौतिक रुपमा विद्रोह गर्न छाडेको हो । त्यसभन्दा अघि डोटेली सभ्यता निरन्तर केन्द्रीकृत शासनविरुद्ध पटकपटक विद्रोहमा थियो । यो समयलाई हिसाब गर्दा र लिम्बुवानले वि.सं. १८३१ मा केन्द्रीकृत शासनसँग सम्झौता गरेको वर्षबाट गन्ने हो भने लिम्बुवानले केन्द्रीकृत शासन स्वीकार गरेपछि पनि १८७ वर्षपछिसम्म डोटेली सभ्यता काठमाडौंकेन्द्रित शासनसँग विद्रोह गर्दै थियो ।
गोरखाका लखन थापाले विद्रोह गर्नुभन्दा २७ वर्षपहिले अछामका बलदेव शाही (बाँकावीर)को नेतृत्वमा राणा शासनका विरुद्ध विद्रोह भएको थियो जुन विद्रोहलाई काठमाडौंले दैलेख र जाजरकोटका रजौटाको सहयोग लिएर दमन गरेको थियो । त्यो बेलादेखि नै कर्णालीपारिका डोटेली सभ्यताका मानिसले कर्णालीवारिकालाई पूर्वीय भनी घृणा गर्न थालेका हुन् ।
बझाङका राजा तत्कालिन मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहलाई चन्द्रशमशेरले ज्वाइँ बनाएर जित्न खोजेका थिए तर चन्द्रशमशेरहरुको विचार र तरिकासँग मतभेद राख्दै सम्पूर्ण रुपमा केन्द्रीय शासनसँग सम्बन्धविच्छेद गरी उनले काठमाडौं छाडेका थिए । पञ्चायत काल सुरु भएपछि बझाङका राजा ओम सिंहसँग राजा महेन्द्रले पारिवारिक नाता राख्न खोज्दा त्यसलाई इन्कार गरी उनले बझाङको स्वायत्तताका निम्ति सशस्त्र विद्रोह सुरु गरेका थिए जुन विद्रोहलाई महेन्द्रले सेना पठाएर दार्चुलामा वि.सं. २०१८ सालमा ओम सिंहको हत्या गरी दबाएका थिए ।
यस प्रकार कर्णालीपारिको डोटेली सभ्यता केन्द्रीकृत शासनबाट निरन्तर उत्पीडित सभ्यता हो र डोटेली सभ्यताका कयौं राजपरिवारका कुलकुलायन देवस्थलहरु आजको कैलाली कञ्चनपुरका केही भागहरुमा रहेको तथ्य पनि विभिन्न लिखतहरुमा भेटिन्छ । पञ्चायतको प्रोत्साहन नीतिसँगै डोटेली सभ्यताका पहाडी बस्तीका मानिसहरु तराई क्षेत्रमा झर्ने क्रम तीव्र भयो र आजको कैलाली कञ्चनपुरमा पहाडबाट झरेका डोटेली सभ्यताका मानिसहरुको आजको जनसङ्ख्या बन्न पुग्यो । वास्तवमा अखण्ड सुदूर पश्चिमको सट्टा डोटेली सभ्यताको मुक्तिको विषय उठ्नु जरुरी थियो तर अखण्ड सुदूर पश्चिम नामाकरणले त्यो आन्दोलन उत्पीडित सभ्यताको नभई सामान्य सीमाको विवादजस्तो बन्न पुग्यो जसलाई सच्याइनु आवश्यक छ ।
३) थरुहट सभ्यता के हो ?
कन्चनपुरदेखि पूर्वको मोरङसम्म फैलिएको थारु जातिको थरुहट सभ्यताको आदिम इतिहासबारे अझै थप अध्ययन जरुरी छ भनी समाजशास्त्रीहरु बताउँछन् तर आजको बर्दिया, बाँके, कैलाली र कञ्चनपुरसम्म फैलिएका थारुहरु चाहिँ दाङबाट क्रमशः फैलिएका हुन् भन्ने कुरामा धेरैको मतभिन्नता छैन । कञ्चनपुरमा रहेका राणाथारु भने बाह्रौं शताब्दीको आसपासमा दक्षिणबाट प्रवेश गरेका भनी धेरैले मान्दछन् ।
दाङ केन्द्रविन्दु बनाई थरुहट सभ्यता कसरी विकसित भयो र आजको पश्चिम तराईमा कुन कुन कालखण्डमा कसरी फैलियो भन्ने विषयमा यथेष्ट सामग्रीहरु भेटिँदैनन् । तर, पञ्चायत कालमा पहाडबाट मानिसहरु झर्ने क्रम तीव्र भएपछि र विभिन्न ठाउँबाट आज मधेशी भनिने समुदाय ती क्षेत्रहरुमा आएपछि थारुहरुमाथि पहाडबाट झरेका र मधेशी समुदायबाट समेत विभिन्न प्रकारले शोषित उत्पीडित हुँदै आएको तथ्य आज सर्वस्वीकार्य नै छ । यस प्रकार थरुहट/थारुवान नेपालको एउटा अति नै उत्पीडित जाति र सभ्यता हो ।
४) डोटेली सभ्यता काठमाडौंकेन्द्रित केन्द्रीकृत शासनद्वारा उत्पीडित सभ्यता हो भने थरुहट/थारुवान काठमाडौंकेन्द्रित केन्द्रीकृत शासनद्वारा, पहाडीया खस अहंकारद्वारा र हिन्दू मधेशी अहंकारद्वारा समेत उत्पीडित सभ्यता हो । डोटेली र थरुहट सभ्यताका जनताको बीच आजको पश्चिम तराईका जिल्लाहरुमा रहेको अन्तरविरोध उनीहरु आफैले सिर्जना गरेको अन्तरविरोध होइन । बरु डोटेली र थरुहट दुवै सभ्यतालाई शोषण र उत्पीडन गर्दै आएको काठमाडौंको केन्द्रीकृत शासनले जवरजस्ति उनीहरुबीच जन्माइदिएको अन्तरविरोध हो ।
यसरी हेर्दा आज ती दुई सभ्यता एकआपसको निषेधकारी काममा लाग्नु वैज्ञानिक कुरा हो या एकअर्कासँग सहकार्य र एकताद्वारा काठमाडौंको केन्द्रीकृत शासनसँग संयुक्त रुपमा लड्नु चाहिँ सही कुरा हो ? उत्तर स्पष्ट छ, उनीहरु दुवै एकताबद्ध भएर लड्छन् भने काठमाडौंको केन्द्रीकृत शासनसँग दुवैले बढी अधिकार प्राप्त गर्न सक्छन्, उनीहरु आपसमा लड्छन् भने दुवैले अन्तत्वगत्वा कम अधिकार पाउँछन् या पुरानै स्थितिमा बाँच्न बाध्य पारिन्छन् । यो दुवै सभ्यतासँग सम्बन्धितहरुले विचार गर्नैपर्ने गम्भीर विषय हो जुन आज विलकुल अन्धकारमा हराइरहेको छ ।
यहाँ विचार गर्नैपर्ने कुरा के हो भने थरुहट सभ्यता डोटेली सभ्यताभन्दा पनि बढी शोषित र उत्पीडित सभ्यता हो । त्यसैले उसप्रति डोटेली सभ्यताले बढी नै विनम्रतापूर्वक व्यवहार गर्नु जरुरी हुन्छ । यसको अर्थ डोटेली सभ्यताले बोल्न भन्न चाहेको विषयलाई पटक्कै वास्ता नगर्ने कुरा पनि ठिक हुँदैन किनभने ऊ पनि एउटा उत्पीडित सभ्यता हो । यसर्थ, थरुहट/थारुवान र डोटेली सभ्यताबीचको अन्तरविरोध समाधान गर्ने तरिकामै हेरफेर आवश्यक छ । आजको उनीहरुले लिएको रणनीति एकआपसप्रति निषेधमा आधारित छ जबकि त्यो अन्तरविरोध मित्रतापूर्ण हो र रणनीति पनि सहकार्यमा आधारित बनाउनैपर्दछ ।
५) यो मुद्दा केन्द्रीकृत शासनद्वारा उत्पीडित रहेका सभ्यताबीचको आपसी मित्रतापूर्ण अन्तरविरोधमा आधारित भएकाले र नेपालमा धेरै स्थानमा यही प्रकारको अन्तरविरोधहरु जीवित रहेकाले आजको टिकापुर घटनाबाट यस्ता मुद्दाको समाधानको विधिबारे पुनर्विचार जरुरी छ । यदि यसलाई उत्पीडित सभ्यताका पक्षधरहरुले सहकार्य र एकताद्वारा समाधान गर्न पहलकदमी लिन थाल्दैनन् भने यो कुरा ग्यारेन्टी छ कि नेपालमा संघीयता सम्भव छैन किनभने नेपालको आजसम्मको राज्यको चरित्र उत्पीडितहरुको पक्षमा छैन ।
देश संघीयतामा जानु भनेको उत्पीडित र पिँधका जनतालाई अधिकारसम्पन्न बनाउनु हो । जुन कुरा परम्परागत शासकहरु कुनै हालतमा सजिलै चाहँदैनन् । यस प्रकारका घटना र विद्वेष नेपालका परम्परागत शासकहरुका निम्ति उत्पीडितहरुलाई आपसमा जुधाउने सुनौलो अवसर हो । यो अवसरलाई उनीहरुले बढीभन्दा बढी उपयोग गरी भड्काउन नै लाग्नेछन् र परम्परागत शासक चरित्रलाई दीर्घजीवि बनाउन सफल हुने सम्भावना नै बढ्नेछ । यस प्रकारको अन्तरविरोधलाई केवल केन्द्रको जिम्ममामा छोड्ने हो भने नेपालको आजको शासनको चरित्र हेर्दा समस्या झन् बल्झाउने र निहित स्वार्थ पूरा गर्नेतिर जाने नै बढी देखिन्छ ।
त्यसैले यस्ता मुद्दालाई हल गर्न उत्पीडित सभ्यताका पक्षधर बौद्धिकहरु, समाजशास्त्रीहरु, स्थानीय राजनीतिज्ञहरु र समाजका प्रतिष्ठित व्यक्तिहरुले पहल गर्नु अति आवश्यक हुन्छ र अहिले भइसकेको छ । यदि निर्णय गर्ने जिम्मा केन्द्रलाई मात्रै दिने र तल चाहिँ सबै प्रकारको गलत चलखेललाई मूकदर्शक भएर बस्ने अवस्था भयो भने निश्चित छ– थरुहट/थारुवान-डोटेलीविरोधी उत्पीडकहरुको नै विजय हुनेछ ।
No comments:
Post a Comment