शैलेन्द्र घिमिरे विचार/बहस
प्रचण्ड विद्रोह जति हो त्यो भन्दा वढी निकास हो । जति स्वार्थ हो त्यो भन्दा वढी त्याग हो । प्रचण्ड जति आवेग हो त्यो भन्दा वढी भावना पनि हो । यसो भन्दा प्रचण्डको स्तुतीगान हुन्छ भने प्रचण्ड प्रसंशा र आलोचनाको ब्रम्हाण्ड हो । यहाँ लेखिएका कुरा केही अन्दाजहरु हुन । जुन पूर्णरुपमा मेल नखान सक्छन ,तैपनि यो समीक्षा र प्रक्षेपण हो प्रचण्डको ।
०५२ को प्रचण्डविद्रोह जीवनप्रतिको जाँगरले चलाएको होला भन्दा ठेस्सिनु पर्दैन । जीवनसँग मृत्यु जोडिएकै हुन्छ । शुरुवातमा जसरी पनि वाँचिएला भन्ने मुर्खता सोचिएको भए विज्ञानको परीक्षण अगाडि परिणाम किटानको हक हुदैन भन्ने सामान्य नियम नजानेकाले विप्लवको नेतृत्व गर्न सक्दैन । प्रचण्ड यो मुद्दाका अपवाद हुन ।
उनी मृत्युमा रुन सक्थे । मिडियाका लागि अभिनय नै सही चुनवाङ भिडियो तिनका हार्डडिस्कमा अहिले पनि सुरक्षित नै होला । यसकारण नै आविष्कार भएको थियो हाँस्दाहाँस्दै रुने र रुँदा रुँदै हाँस्ने । उनको तीक्ष्णतामा जनयुद्धको बर्मेली आवसान नेपालले भोगेन । उनका आदरणीयहरुको माओसुत्र अन्ध नक्कलमा उनी ढेपिएको भए आज मुलुक र उनी खरानीमाथिको भीमकाय शोकमा लथालिंग हुन्थे । उनको पहलमा केही उपलब्धीहरु हात परे । तैपनि मान्छेहरु भन्छन् लासका अगाडि उपलब्धी कम भो । उदाहरण त पेरु पनि त थियो ,त्यहाँ भन्दायहाँ मनग्यै भो, लाख भो । कम्तीमा विप्लवी चेतनाका हज्जारौं मस्तिष्कहरु त तयार भए । चाहे मिडियाका आँखामा तिनीहरु बाँदरे नै किन नहोउन , काउछो नसहने वर्ग नै समतामूलक समाज निर्माणको मुख्य इन्जिन थियो र हो ।
प्रचण्डलाई मिडियाले लखेट्छ र लेख्छ उनी स्वार्थको राजनीति गर्छन् । समीकरण नमिलाई लेखेको यो समाचार जाली तमसुकजस्तो लाग्छ जसको प्रायोजन हरिया नोटहरुबाट र निर्देशन नेपालमा उपद्रो इच्छित अमुकतावाट हुने गरेको छ । स्वार्थ खोजेको भए कटुवाल साँहिला उनका हितैषी हुने थिए , गिरिजा उनका दाहिना हुन्थे । सर्त यत्ति थियो गिरिजालालाई राष्ट्रपति र कटुवाललाई निर्भयताको वचन चाहिएको थियो । उनी आफैं श्रृजीत विजयको शिखरवाट ओर्ले तर सम्झौता गरेनन् । यो गरेर ठीक वा बेठीक के गरे यो छलफलको अर्को पाटो बन्ला । तर, निर्धक्क भने हुन्छ उनि लम्पसार पर्न तयार भएनन् । यदि लम्पसार उचित ठानेको भए शक्ति र सत्तामा उनको अटुटता रहन्थ्यो । प्रक्षेपण गलत होला सँगैका सहकर्मीहरुको आतंकले उनले उनकै योद्धाहरुलाई बरु अन्याय गरे, जो बली राजाकै जस्तो विशालता थियो ।आफै माथीको यो अन्यायलाई मिडियाले माओवादीको क्षयीकरण भनेर भट्ट्याइरह्यो र प्रचण्डलाई खेदिरह्यो ।
उनको जीवन जति जटिल अरुको सायदै होला । चित्त बुझाउन पर्ने उनका लागि धेरै छन्, घर भित्रका र केही समयदेखि छुट्टिएर बसेकादेखि छिमेकीसम्मै । तिनका आँखामा प्रचण्डसँग जति अपेक्षा अरुसँग नहोला । घरभित्रकाले घरमूली हुन देओस् भन्छन्, छुट्टिएर बसेकाले आफ्नो निम्ति पनि पहुँच पुग्ने चुलो निर्माण गरेर पुरानै घरमा हुलोस् भन्ने चाहन्छन् र छिमेकी हामीलाई पनि मासु लाग्ने गरी मेसो मिलाओस् भन्ने चाहन्छन । तर लडाइमा भने उनी एक्लै हुन्छन् , सके र जिते सबैले हिस्सेदारी खोज्छन् नसके साथ दिदैनन् र आरोपित गर्छन् लम्पसार पर्यो भनेर । घरनै नमिलेको बेला उनलाई दुनियाँ मिलाउने दायित्व छ । उनी नाँई भन्दैनन् । कहिलेकाँही उनी जे हुन् त्योभन्दा बढी आँक्छन् र खाल्डोमा पर्छन् ।
उनको मस्तिष्कको गतिशीलताको मापन त अहिलेसम्म भएको छैन होला तर उनी नमिलेकासँग पनि मिल्न सक्छन् र त्यस्तो बाध्यता श्रृजना गरिदिन्छन् ताकी कटु आलोचकले पनि उनलाई मियो नमानी धरै हुँदैन । उनी हिसाबमा माहिर छन् । माहिर भएकै हुनाले कहिलेकाँही चमत्कार गर्छन् र कहिले नपत्याएको ठाँउबाट फुस्किन्छन् । अहिलेको संविधानसभा र त्यसपछि बन्ने संसदको गणित देखाएर एमाओ अध्यक्ष केपी ओलीलाई फुक्र्याउँदै संकटको बेला सबैलाई एकै ठाँउमा ल्याउने उनको काइदा जो कसैको दिमागमा फुर्दैन । १६ बुँदे लडाई अन्त्यको घोषणा नभएको केही समयपछि उनी आफैले भन्ने छन । उनको दिमागमा यो पनि छ की आन्दोलन वा लडाइ लम्वीएको छ । अर्को भाषामा यो स्थगन वा आरामको अवस्थामा छ । यतिबेला यति गर्नु नै उपलब्धी थियो । संविधानसभामा प्रक्रिया अगाडि बढीसकेको थियो, समय आन्दोलनको अनुकूलतामा थिएन । सत्ताधारीहरु विपत देखाएर एजेण्डामाथि आक्रमण गर्ने सुरमा थिए । संविधानसभामा रहेको तागतले यो थेग्दैनथ्यो । सडक भूकम्पले पल्टाएको थियो । या ठाँउमा न बाँस न बाँसुरीभन्दा गाँजको बाँस नै सुरक्षित गर्नु ठीक थियो । १६ बुँदे यही हो, यसले बाँसको अस्तित्वलाई कायम राखेको छ । यहाँ जनजाति नेता राजकुमार लेखीको भनाई सम्झनु सान्दर्भिक होला । उनले भनेछन्– भोट जति रुख र घामलाई अनि कहाँवाट आउछ त पहिचान ? ठीकै हो अब पहिचानको कुरामात्र गर्नेका लागि लडाईमा आफैं नारिने बेला आएको छ । प्रचण्ड उनको आन्दोलनमा अरुलाई होम्न सिपालु छन । यो आन्दोलन यस्तो आन्दोलन हुनेछ जो पहिचानले जित्दा मात्रै सकिन्छ । यस्तो आन्दोलन बनाउन सिपालु कालीगढ चाहिन्छ, प्रचण्ड आन्दोलन निर्माणका कुशल कालीगढ समेत हुन् ।
१६ बुँदेपछि पत्रकार सम्मेलन गर्दै विप्लव विपत्तिए, वैद्य बम्किएर भने एकताको औचित्य सकियो । यो सही हो । लामो समयदेखि माओवादी आन्दोलनका धाराहरुबीचको एकता प्रसँगमा जे ठहराव थियो त्यो भत्किएको छ । यो नयाँ शीराबाट अगाडि नगइ सुख्खै छैन । बहिस्कार गरेको संविधानसभावाट माग पूरा हुने अपेक्षा गर्नु मुर्खता थियो वा बहिष्कारका बीचमा बनेको संविधानसभाले गर्न लागेको निर्णयमा ताली लगाउनु पागलपन ठहथ्र्याे । वैद्यले आफू सद्दे रहेको देखाए । विप्लवले केही समय अगाडिमात्र पहिचानको आन्दोलनलाई डलरवादी आन्दोलन भनेका थिए । हिजो यो कसरी धोका भयो त्यो विप्लव आफैले जानुन तर प्रचण्डलाई यो कुरा पनि थाहन छ, विप्लव राजनीतिक टिप्पणीमा पनि केटाकेटी छन ।
अँ कति सकेको ? यो एक मूर्खले मात्र गर्न सक्छ, वाम राजनीतिमा पाकेकाहरुको टिप्पणी यस्तो छ । ठीक हो मूर्ख नभइ बहादुर बनिदैंन । बहादुरिता र विवेक नभई नयाँ युगको जन्म पनि हुँदैन । प्रचण्ड इतिहासको त्यस्तो अपरेशन थिएटरका मुली चिकित्सक हुन् जहाँ पहिल्यै मृत्युको संभावनाका बारेमा आफन्तको स्वीकृति लिएर शरीर चिरिन्छ । यो ५०–५० को खेल हो तर, प्रचण्ड त्योभन्दा बेसी सफल छन्, जहाँ असफल छन् उनी आफैंले हारेका छन् । यति हुँदापनि मिडियामा उनी विरुद्धको प्रचारमा कमी छैन ।
मिडियामा उनी कहिले भित्ताका हुन् त कहिले सहमतिका । घाँटी सफा गरेरै भने पनि मिडिया सुन्दैन । अहिले यो जब मिडियालाई उछिनेर जनताको कानको तहसम्म आइपुग्यो मिडियाले भन्दैछ उनको वजन पुगेन । हज्जारौ झुट प्रचण्डकाविरुद्ध नटाँसी पत्रिका बिक्दैन भन्ने तिनका मालिकलाई राम्रैसँग थाहा छ । तर, तिनीहरुलाई के थाहा छैन भने मुलुकले योभन्दा ठूलो अर्को विपतको सामना गर्नुपर्यो भने वर्तमानका सत्ताधारी दलकै कार्यकर्ताले प्रचण्डलाई देशको प्रधानमन्त्री बन्न नाराजुलुस गर्नेछन् । नवनिर्माण प्राधिकरणमा बाबुरामको चर्चा नवनिर्माणमा माओवादी गतिशीलताको प्रमाण हो भन्ने तिनले बुझेर पनि बुझ पचाउँदैछन् । जे होस् प्रचण्ड कमजोरीसहितका नायक नै हुन् तर, उनको सबैभन्दा ठूलो कमजोरी के हो भने उनी अँगेनोमा सितो नभए पनि चुठेल्नोमा डकार्न सक्छन् । यसैमा त राजनीतिको मजा छ जो प्रचण्ड जान्दछन् र मान्दछन् ।
No comments:
Post a Comment