Jun 19, 2013

प्रचण्डले यसरी लेखेका थिए जनयुद्धको पहिलो योजना:


“हामी मजदुरहरूलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन आफैलाई राजनैतिक सत्ता संचालन योग्य बनाउन समेत तपाईहरू १५,२०,र ५० वर्षका गृहयुद्ध एवं अन्तराष्ट्रिय युद्धका बीचबाट गुज्रनु पर्ने हुन्छ ।” – कार्ल माक्र्स
“गृहयुद्ध बिना आजसम्म इतिहासमा कुनै पनि महाक्रान्ति सम्पन्न हुन सकेको छैन र त्यस विना पूँजीवादबाट समाजवादमा संक्रमण कुनैपनि गम्भीर माक्र्सवादीले सोच्न सक्दैन ।” – भि.आई. लेनिन
“हरेक कम्युनिष्टले यो सच्चाईलाई आत्मसाथ गर्नै पर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले बन्दुक चलाउँछ र कुनै हालतमा बन्दुकले पार्टी चलाउँन दिइने छैन ।” – माओत्सेतुङ्ग
१. भूमिका
माक्र्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागु गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवं वर्गसंघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित गर्यो । त्यस कार्यदिशा मुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित बैँठकले व्यवस्थित रूपले पार्टीको सैन्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य आजका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिकाबारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकास प्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवं भौगोलिक विशिष्टताहरू समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवं कार्यनीतिहरूको खाका तयार गर्यो ।
नेपालमा सचेत ढङ्गले जनयुद्धको उठान गर्ने उद्देश्यमा केन्द्रीत रही विस्तारित बैँठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरू निश्चित गर्यो । त्यस अनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रूपमा परिभाषित गर्यो । वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक एवं संघर्ष सम्बन्धि न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजना अनुसार ती कामहरू मूल रूपमा पूरा गरिएका छन् । ती सबै कामको पार्टी ने.क.पा.(माओवादी) को ०५२ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित जनयुद्धको प्रथम योजना सम्बन्धि प्रस्ताव र आम जनसमुदायमा निकै सकारात्मक र उत्साहवद्र्धक प्रभाव परेको छ ।
देशमा प्रतिक्रियावादी राज्यसत्ता र त्यस अन्तर्गतका राजनैतिक गुटहरूमा विकास भइरहेको आम संकटको प्रक्रिया तथा हाम्रो तर्फबाट नयाँ स्पिरिड अनुसार उनिहरूको भण्डाफोर एवं देशका विभिन्न भागमा अघि बढिरहेको विविध रूपका संघर्षका कार्यक्रमहरूले आज पार्टीको छवि देशको एकमात्र वैकल्पिक क्रान्तिकारी राजनैतिक शक्तिका रूपमा स्थापित गर्दै आइएको छ । त्यस सन्दर्भमा प्रमुख कुरा के हो भने पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट संघर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रूपले तयार भएको छ ।
यसरी वस्तुगत एवं आत्मगत दुवै हिसाबले नेपालमा सशस्त्र संघर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ । त्यसकारण केन्द्रीय समितिको यो बैठकको काँधमा नेपाली समाज र पार्टीको इतिहासमा एक नयाँ पृष्ठ खोल्ने जनयुद्धमा पहलकदमीको योजना तयार पार्ने दुरगामी महत्वको जिम्मेवारी आएको छ ।
२. जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरू
क. हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
ख. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरूद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।
ग. हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जाती कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झैतामा टुंग्याउने साधन बन्न कदापी दिईनेछैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातीवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहने छ ।
घ. हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अद्धि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ ।) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
ङ. हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारीत रहने छ ।अन्तरविरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्धन्दात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृर्दयले जनताको सेवा गर्ने जनतासंग घनिष्ट संबन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
च. हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्ने छ । पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष संचालन गरीने छ । कृषि क्रान्तिलाई मेरूदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवि जनससमुदाय मूख्यतः गरीव किसाहरू माथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरूको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
छ. युद्धमा आफ्नै नियम अनुसार त्यो सरल रेखामा होईन जटिल बक्र रेखामा अघि बढ्ने छ । लनिनको “क्रान्ति आँफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरूरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराव कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठिक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।
३. योजनाबारे
यो योजना जनयुद्ध थालनीको योजना हुनेछ । यसका तीन उपचरण प्रथम, थालनीको तयारी, द्वितीय थालनी र तृतीय निरन्तरता हुनेछन् ।
४. लक्ष्यहरू
यस योजनाका निम्न प्रमुख लक्ष्यहरू हुनेछन् ।
क. प्रतिक्रियावादी राज्यसत्ताका विरूद्ध नयाँ जनवादी राज्यसत्ताका लागि सशस्त्र संघर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु ।
ख. नयाँ जनवादी क्रान्तिका लागि संघर्षको प्रधान रूप सेना र सघर्षको प्रधान रूप युद्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरू तथा छापामार कार्यवाहीका माध्मबाट अभिव्यक्त गर्नु ।
ग. देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरूलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्न ।
५. नाराहरू
यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरू निम्न वमोजिम हुनेछन् ।
क. मुख्य नारा
नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !!!
ख. सहायक नाराहरू
राजतन्त्रात्मक संसदीय व्यवस्था—मुर्दावाद !
पञ्चकाँग्रेस गठबन्धन सरकार—मुर्दावाद !
जमिन कस्को—जोत्नेको !
विद्रोह जनताको—अधिकार हो !
नयाँ जनवादी क्रान्ति—जिन्दावाद !
जनयुद्ध—जिन्दावाद !
सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद—मुर्दावाद !
संसोधनवाद, नवसंसोधनवाद—मुर्दावाद !
माक्र्सवाद–लेनिनवाद–माओवाद—जिन्दावाद !
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)–जिन्दावाद !
– दस्तावेजबाट

No comments:

Post a Comment

पपुलर पोस्टस्