कृष्णज्वाला
देवकोटा
बिपी
र प्रचण्डको दिल्लीसँगको लडाइँ नेपाल भारतको उपनिवेश हो कि सार्वभौम देश भन्ने
लडाइँ हो । नेपालको विदेशनीति कुनै पनि सर्तमा भारतविरोधी हुन सक्दैन, तर भारतीय हस्तक्षेपको अहिलेको क्रम रोक्न नसके नेपालको
कुनै विदेशनीति नै बाँकी रहने छैन ।
गणेशराज
शर्माद्वारा सम्पादित र जगदम्बा प्रकाशनद्वारा प्रकाशित 'राजा,राष्ट्रियता
र राजनीति'
पुस्तकमा बिपी कोइरालाले सोधेका छन्- 'के
भन्ने मैले इन्दिरा गान्धीलाई ?म नेपालमा दिल्लीका
हितहरूको रक्षा गर्न तयार छु भन्ने ? त्यो त म टुँडिखेलमा
उभिएर भन्न पनि तयार छु ।,
तर,भारतको समस्या के भने ऊ राजनीतिमा विश्वास गर्दैन, एजेन्टको राजनीतिमा विश्वास गर्छ ।'
दिल्लीको
नेपाल-नीति एकाध अपवादबाहेक सधैँ 'एजेन्ट'को
खोजीमा रह्यो,मित्रको होइन । मातृकाप्रसाद कोइराला र बिपीका बीचमा फाटो
ल्याउने काम जवाहरलाल नेहरूको भएको किटान गिरिजाप्रसाद कोइरालाले पत्रकार जगत
नेपालसँग संवादमा आधारित भर्खरै प्रकाशित पुस्तकमा गरेका छन् । नेपाल-मामिलामा
दिल्लीको समस्या के भने ऊ मित्रमा विश्वास गर्दैन, उसका लागि नेपाली
राजनीतिज्ञहरू या दास हुनुपर्छ, या शत्रु । जो
एजेन्ट बन्दैन,त्यो मित्र पनि रहँदैन ।
सातदेखि
पन्ध्र सालको आठ वर्षको अवधिमा सुरुमा राजा त्रिभुवन र पछि महेन्द्रले जुत्ता
फेरेझैँ प्रधानमन्त्री फेरे । तर, देशको त्यतिखेरको
सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका नेता बिपी कोइराला एकपटक पनि
प्रधानमन्त्री भएनन् । नेपाली कांग्रेस विभाजन गर्ने वित्तिकै मातृकाप्रसाद
कोइराला प्रधानमन्त्री भए,
तर बिपी कोइरालाको पालो आएन । जवाहरलाल नेहरूको खल्तीमा
सीमित हुन नमान्दा बिपीले ठूलो मूल्य चुकाए । १ पुस, २०१७ को शाही कदमपछि
संसद्मा बोल्दै नेहरूले 'प्रजातन्त्र पुनस्र्थापना नभएसम्म नेपाललाई पूर्वघोषितबाहेक
नयाँ कुनै आर्थिक सहायता नदिने' घोषणा गरेका थिए, तर अघिल्लो दशकका तुलनामा ०१७ सालपछिको दशकमा नेपालमा
भारतीय सहायता २ सय ९० गुणा बढी भयो । मुलुकको जननिर्वाचित प्रधानमन्त्रीलाई जेलमै
सडाएर पनि राजा महेन्द्रले नेहरूको सहयोग र आशीर्वाद प्राप्त गरिरहे । बिपी र
भारतीय संस्थापनबीचको द्वन्द्वको एउटै कारण थियो, बिपी भारतको सद्भाव
त प्राप्त गर्न चाहन्थे,
तर त्यसका लागि एजेन्ट बन्नचाहिँ तयार थिएनन् ।
नेपाल-चीन
सम्बन्धमा पनि नेहरू निणर्ायक भूमिका निर्वाह गर्न चाहन्थे । उनी बिपी कोइराला
औपचारिक भ्रमणमा चीन जाने कुराकै विरोधी थिए, तर बिपी गए । नेपाल
र चीनबीचको सीमा बैठक पेकिङ -अहिले बेइजिङ) वा काठमाडौंमा होइन, दिल्लीमा होस् भन्ने नेहरूको इच्छा थियो । जगदम्बाबाटै गत
वर्ष प्रकाशित मातृकाप्रसाद कोइरालाको आत्मकथात्मक पुस्तकको अनुसूचीमा संग्रहित
पत्रहरूमा नेहरूले प्रस्टसँग भनेका छन्- 'चीनसँगको बैठक
पेकिङमा किमार्थ गरिनुहुँदैन । त्यो सकेसम्म दिल्लीमा हुनुपर्छ, नत्र काठमाडौंमा । त्यसमा भारतलाई पनि सहभागी बनाउनुपर्छ ।' नेहरूले यस्तै पत्र टंकप्रसाद आचार्य र बिपी कोइरालालाई पनि
लेखेका थिए । तर,
एउटा सार्वभौम देशको विदेश-नीतिका जानकार बिपी यसका लागि
तयार भएनन् । उनी पेकिङ गए र भारतको भौतिक सहभागिता र समर्थनबिना नै नेपाल-चीन
सम्बन्धको आधारशीला तयार भयो ।
नेहरूले
त्यसैबेला 'नेपालमाथिको आक्रमण भारतमाथि मानिनेछ र तुरुन्त प्रतिक्रिया
दिइन्छ'
भन्ने अभिव्यक्ति दिए । त्यसविरुद्ध काठमाडौंमा जुलुससम्मका
प्रतिक्रिया भए । र,
प्रधानमन्त्री बिपी कोइरालाले 'त्यसको
निर्णय नेपाल आफैँले गर्ने'
भन्दै सार्वजनिक रूपमै नेहरूको भनाइमा आपत्ति जनाए ।
त्यसपछि नेहरूले आफ्ना आशय त्यस्तो नभएको भन्दै क्षमायाचनाको शैलीमा सफाइ दिनुपर्यो
। ०३३ सालमा पनि बिपी इन्दिरा गान्धीको खेलौना हुनुभन्दा बरु देशमै गएर फाँसी
चढ्छु भन्दै बाध्यात्मक 'मेलमिलाप नीति' लिएर नेपाल फर्किएका
थिए ।
बिपी
कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भारतमामिलामा थुप्रै समानता छन् । यी दुवैले
आफ्नो राजनीतिक जीवनको कुनै चरणमा दिल्लीको प्रत्यक्ष-परोक्ष मध्यस्थता स्वीकार
गरे । संघर्षको चरणमा स्वीकार गरिएको त्यो बाध्यात्मक मध्यस्थता शासनको चरणमा यी
दुवैका लागि महँगो पर्यो । सात सालको त्रिपक्षीय 'दिल्ली सम्झौता' र ०६२ सालको 'बाह्रबँुदे समझदारी' पुराना र नयाँ शासकलाई जोडेर आफू त्यसको रसायन बन्ने भारतीय
रणनीतिका उपज थिए । तर,
शासनमा गएपछि न बिपीले दिल्लीको भार थेग्न सके, न प्रचण्डले । बिपी र प्रचण्डको दिल्लीसँगको लडाइँ नेपाललाई
उपनिवेश होइन,
देश प्रमाणित गर्ने लडाइँ थियो यद्यपि त्यसका व्यक्तिगत पक्ष
पनि छन् ।
प्रधानमन्त्रीका
रूपमा पछिलो औपचारिक भ्रमण भारतमै गर्ने हास्यास्पद परम्परा तोडेर प्रचण्ड चीन
गएकै दिन भारतीय संस्थापनले झलनाथ खनाललाई सरकारबाट बाहिरिएर नयाँ सरकारको नेतृत्व
गर्ने पहल लिए कांग्रेस र मधेसको समर्थन जुराइदिने आश्वासन दिएको थियो, तर त्यतिखेर खनाल मानेनन् । नेपालको सार्वभौम परराष्ट्रनीति
तय गर्ने दिशामा प्रचण्डको त्यो भ्रमण अत्यन्त प्रतीकात्मक थियो । प्रचण्ड
दिल्लीको रोबोट बन्दैनन् भन्ने त्यो सन्देशपछि दिल्ली माओवादीमाथि आक्रामक भयो र
माओवादीविरुद्धको दिल्लीको षड्यन्त्र र घेराबन्दी निकै छिटो नेपालको
शान्तिप्रक्रिया र संविधान निर्माणविरुद्धको घेरावन्दीमा परिणत भयो ।
प्रचण्डका
व्यक्तिगत कमजोरीको लामो सूची छ । उनी आफ्ना आग्रह र विश्वासलाई आक्रामक शैलीमा
प्रस्तुत गरिहाल्छन् । पार्टीको सर्वोच्च नेताले यदाकदा राजनीतिलाई कूटनीतिक लेपन
दिनुपर्छ । प्रचण्ड कहिलेकाँही राजनीतिको मोर्चामा कूटनीति र कूटनीतिको मोर्चामा
राजनीति बिर्सिदिन्छन् । बानेश्वरको आमसभामा जब उनले दिल्लीलाई खुला चुनौती दिए र 'मालिकसँग
कुरा गर्ने'
घोषणा गरे, त्यसको प्रत्यक्ष
प्रसारण हेरिरहेका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भनेका थिए रे, 'दिल्लीलाई यति सरापेपछि त यो जुनीमा अब प्रचण्ड
प्रधानमन्त्री बनेकोबन्यै हो ।' दिल्लीलाई टिप्पणी
गरेपछि नेपालमा कोही सिंहदरबार पुग्दैन भन्ने नजिरलाई अन्ततः गलत प्रमाणित गर्नु
नै छ । झलनाथ खनाललाई प्रधानमन्त्री बनाएर प्रचण्डले दिल्लीलाई अलिकति जवाफ दिएका
पनि छन् तर झलनाथ डोढको वैशाखी सावित हुने सम्भावना बढेको छ ।
प्रचण्डका
दिल्लीमाथिका झन्डै आधा दर्जन टिप्पणी अत्यन्त कटाक्षपूर्ण, प्रस्ट र आक्रामक रहे । उनीमाथि भारत र नेपालको संवेदनशील
सम्बन्ध नबुझेको आरोप लाग्न सक्छ, तर दिल्लीसँग उनको
संघर्ष र कटाक्षमाथि असहमतहरूले पनि यति त स्वीकार गर्नैपर्छ- नेपालमामिलामा
दशकौँपछि प्रचण्डले दिल्लीलाई प्रतिरक्षात्मक तुल्याइदिएका छन् । दिल्लीसँग समर्पण
गरेको भए प्रचण्ड निरन्तर प्रधानमन्त्री भइरहन्थे । उनलाई अपदस्थ गर्ने कारक
देखिएका रामवरण वा कटुवाल केवल औजार मात्रै थिए, त्यसको पटकथा
दिल्लीको थियो भन्ने जो कोहीलाई थाहा छ । यो लडाइँमा सबैभन्दा बढी निजी हानि
प्रचण्डकै भएको छ तर समर्पण नगरेर अहिले पनि उनले दिल्लीलाई आक्रामकबाट
प्रतिरक्षात्मक तहमा पुर्याइदिएका छन् । नेपालको भावी विदेशनीति स्वतन्त्र बनाउन
यो एउटा प्रस्थानविन्दु हुन सक्छ ।
दिल्लीका
आँखा यतिखेर माओवादी पार्टीमा छन् । यो तीन पिल्लर र एक छत भएको पार्टी हो ।
डा.बाबुराम भट्टराई छवि र अन्तर्राष्ट्रिय प्रभावका हिसाबले पहिलो पिल्लर हुन् ।
दोस्रो पिल्लर महरा अनन्त,
प्रभाकर, विप्लव र पासाङहरूका
दोस्रो पुस्ता हो,
जसले जनयुद्धलाई मैदानबाट नेतृत्व दियो । तेस्रो पिल्लर
मोहन वैद्य,
देव गुरुङ र सिपी गजुरेलहरू हुन् जो जीवनभन्दा बढी किताबसँग
लगाव राख्छन्,
तर तिनको सिद्धान्तप्रेमले पार्टीलाई एमाले हुन दिएन । यी
तीन पिल्लरका छत फेरि पनि प्रचण्ड नै हुन् । माओवादीलाई संगठित र एकीकृत राख्न
उनको नेतृत्वको विकल्प छैन । अहिले उनी ढल्नु माओवादी बाइसेचौबीसे राज्यमा परिणत
हुनु हो । तर,
दिल्लीले नबुझेको के भने अहिलेको नेपाली राजनीतिमा
प्रचण्डलाई घृणा त गर्न सकिन्छ, तर अस्वीकार र
नजरअन्दाज गर्न सकिन्न । माओवादीको विग्रह विखन्डनको तहमा पुग्यो भने त्यो धुलो र
धुँवा दिल्लीसम्म पनि पुग्नेछ । एकीकृत माओवादीसँग संवाद र नेपालसँग सम्मानजनक
सम्बन्धमै दिल्लीको दीर्घकालीन हित छ ।
प्रचण्ड
अहिले नेपाली राजनीतिमा घृणा र आवश्यकता दुवैका विरोधाभास भएका छन् । माओवादीको
नेतृत्वमा सरकार त के,
गृह मन्त्रालय पनि नभएको हेर्न चाहने कांग्रेस र एमालेको
एउटा पक्षले समेत नयाँ संविधानका विवाद सल्ट्याउन गठित उपसमितिमा प्रचण्ड नै
अध्यक्ष हुनुपर्छ भनेर अडान लिइरहेको देखिन्छ । गिरिजाप्रसादको मृत्युपछि नेपालको
राजनीतिमा शान्ति र संविधानका उनी सबैभन्दा ठूला शंका र सबैभन्दा ठूला आशा भएका
छन् । एउटा राजनीतिज्ञका लागि यो आफैँमा विडम्बनाको स्थिति हो । तर नेपाली राज नीतिको
सबैभन्दा ठूलो सत्य नै यही विडम्बना हो ।
नेपालको
विदेशनीति कुनै पनि सर्तमा भारतविरोधी हुन सक्दैन, तर भारतीय
हस्तक्षेपको अहिलेको क्रम रोक्न नसके नेपालको कुनै विदेशनीति नै बाँकी रहने छैन ।
प्रचण्ड आँटिला हुन् कि दुस्साहसी, मूर्ख हुन् कि
दूरदर्शी,
यो भविष्यले भन्नेछ । तर, निकैपछि एउटा नेता
दिल्लीको वर्चस्वसँग जुधेको छ । ऊ कम्तीमा दयाको पात्र होइन ।
No comments:
Post a Comment