May 18, 2011

उत्कर्षता : वर्गसंघर्ष र अन्तर्संघर्षको

 गंगा कार्की 'विश्व'
क्रान्ति जति विजयको नजिक पुग्छ, प्रतिक्रान्ति पनि त्यति घाँटीघाँटीसम्म पुग्छ भनेर हिजो भाषणहरु सजिलै गरिन्थ्यो । त्यो सच्चाइको अनुभूति जीवन-व्यवहारमै त माधव नेपालको नेतृत्वमा बनेको कठपुतली सरकारपछिका दिनहरुमा, खासगरी संविधानसभाको म्याद थप्ने र माधव नेपालले राजिनामा दिने विषय उठेदेखि भयो । संविधानसभामा प्रधानमन्त्रीको चुनावसम्म आइपुग्दा सङ्घर्ष चरमोत्कर्षमा पुगेको छ । पुराना प्रतिगामी राजनीतिक परम्परा र मूल्य-मान्यताहरु अन्तिम मृत्युशैयामा छटपटाइरहेका छन् । यता क्रान्तिकारी आमूल परिवर्तनको अग्रगामी दिशा पनि विजय र पराजयको अन्तिम दोसाँधमा उभिएको छ । अबका केही महिनाभित्र प्रतिक्रान्ति वा क्रान्तिमध्ये कसले जित्ने भन्ने कुराको निकै डरलाग्दो फैसला हुँदै छ । इतिहासमा कहिल्यै नथोपरिएको कालरात्री थोपरिने वा कालरात्री सम्पूर्ण रुपले समाप्त हुने भन्ने प्रश्नको अन्तिम नतिजा छिट्टै हुँदै छ । वर्गसङ्घर्षमा सास फेर्न कठिन हुने बङ्गुरको खोरभित्र पसेपछि त्यसको नकारात्मक प्रभाव केही सुकिलामुकिलाहरुमा पनि पर्ने नै भयो । अहिलेको प्रधानमन्त्रीय चुनाव गराउने पटकपटकको खेलले केही बुद्धिजीवीहरुलाई नकारात्मक प्रभाव परेको छ । क्रान्ति सजिलो ढंगले पूरा हुन्छ भन्ने लागेका इमानदार कार्यकर्ता, जनता र संसारका समर्थकमा विजय झन्पछि झन् अप्ठ्यारो अक्करमा पर्दै गएको देखेर निराशा, आशंका, अविश्वासले चर्को रुपमा घर जमाउँदै गरेको छ । प्रधानमन्त्रीको निर्वाचन जुन प्रक्रियाबाट गुजि्ररहेको छ, सामान्य ढंगले हेर्दा त्यो पदका लागि किन यति मरिहत्ते भन्ने नै देखिन्छ । एमालेभित्रका केपीहरु, काङ्ग्रेसभित्रका रामचन्द्रहरु, मधेशवादी दलका गच्छदारहरुले माओवादी पार्टी अहिले पनि वैधानिक ढंगले सत्ता कब्जा गर्ने रणनीतिबाट तलमाथि छैन भनेर दावाका साथ भनिरहेका छन् । सरकारको नेतृत्व गर्नलाई एमाले-काङ्ग्रेसजस्तै कथित नागरिक पार्टी एनेकपा -माओवादी) हुनुपर्‍यो अन्यथा कुनै पनि हालतमा माओवादीलाई सरकारको नेतृत्व दिन सकिँदैन भनेर घोषणा गरिरहेका छन् । यसको अर्थ, एनेकपा -माओवादी) ले आत्मसमर्पण नगर्ने भयो, जसका कारणले भारतीय नेपाली दलाल भैयाहरु नेपालको अहिलेसम्मको रामराज्य सदासदाका लागि समाप्त हुने भयो भनेर न भोक न निद्रा भएका छन् । यो कतै केपी वा रामचन्द्रको सवाल नभएर आफ्नो बर्गको समाप्तिको सवाल भएर प्रतिगामीहरु एकढिक्का भएर, न्वारनदेखिको बल लगाएर आफ्नो अन्तिम अस्त्र उठाइरहेका छन्, एनेकपा -माओवादी) लाई अहिले पनि 'आतङ्ककारी' भनिरहेका छन् । अग्रगामीहरु पनि यसको नकारात्मक प्रभावले क्रान्ति झनै जोखिमतिर लम्किरहेको देखेर चिच्याइरहेका हामीले देखेका छौँ । दुश्मनहरु माओवादीले आत्मसमर्पण गरेन, बिगि्रएन भनेर हैरान हुने, अग्रगामीहरु अब सबै बिगि्रयो, सकियो भनेर हैरान परेसान भैरहेको विचित्रको अन्तर्विरोधका बीचबाट हामी गुजि्ररहेका छौँ । कतिपयलाई त लाग्दो होला, प्रचण्डले क्रान्तिलाई कस्तो भड्खालोमा ल्याएर हाल्यो ? उनीहरु चिन्ताका साथ धारेहात लगाएर सक्दो सराप गर्दै बर्बराइरहेका पनि छन् । यो विचित्रको अन्तर्विरोध पर्गेल्न नसक्दा हरेक मान्छे झनै अँध्यारोतिर धकेलिइरहेका छन् ।

संविधानसभाको चुनावमा हामी २०-२५ स्थानमा विजयको मुखैमा पुगेर हार्‍यौँ । क. प्रचण्डजस्तै २८ गते चमत्कार हुन्छ भनेर दौडेर २०-२५ स्थान जितेको भए आज पनि अप्ठ्यारोमा पर्ने थिएन होला । एमाले-काङ्ग्रेसले माओवादीलाई छुट्याइदिएको ३५-४० जना सभासद् विजय बन्ने कुराले सबैलाई कट्मर्‍याउनु पनि स्वाभाविक थियो । क. प्रचण्ड र माओवादी पार्टी बिगि्रएको भए त एमाले-काङ्ग्रेस र उनका बढे भैया त खुशी हुनुपर्ने ठाउँमा क. प्रचण्डलाई चाहिँ प्रधानमन्त्री कुनै हालतमा हुनुहुँदैन भनेर सौतेनी व्यवहार किन गरिरहेका छन् ? हचुवाको भरमा प्रचण्डलाई पदलोलुप कसैले भन्छ भने ऊ झन् धेरै कुरुप हो । हाम्रो पार्टीभित्र क. प्रचण्डबाहेक प्रधानमन्त्री बन्नलायक कोही छैन भनेर कहिल्यै भनेका छैनौँ र त्यो पनि विल्कुलै सत्य होइन, एनेकपा (माओवादी) भित्र एकसेएक त्यस्ता पात्रहरु छन् । नेपाली जनता र हाम्रो पार्टी अहिले यो जोखिमपूर्ण स्थितिको सम्पूर्ण रुपले केन्द्रीकरण भएर अन्य संसदीय फोहोरी खेलमा लागेका पार्टीका नेताहरुको जस्तो घीनलाग्दो ढंगले ग्रन्थीहरु रसाउनु हुँदैन भन्नेमा हामी एकमत छौँ । एमाले-काङ्ग्रेसको जस्तो अन्तर्घात र आत्मघात गर्दै १३ हजार आफ्नै कमरेडहरुको रगतले नुहाएको अपराधी हुनुहुँदैन भन्नेमा पनि हाम्रो पार्टी एकमत छ । हाम्रो पार्टीमा हरेका क्षेत्रमा दख्खल राख्ने एकसेएक नेताहरु देखेर एमाले-काङ्ग्रेस र भारतीय शासकवर्ग साँधेको निबुवाको अमिलो प्लेटमा बोकेर हिँडेका छन् । अस्ति भारतीय प्रधानमन्त्रीका स्वघोषित विशेषदूत श्यामशरणले त प्लेटमा नभएर स्टिलको बाटामै साँधेको निबुवाको अमिलो लिएर नेपाल आएका थिए । श्यामशरणको यो कोशेलीबाट ज-जसको मुख रसायो, ती सबै भारतका कुनै न कुनै रुपका दलाल हुन् भन्नेमा हाम्रो पार्टी एकमत छ । श्यामशरणको कोशेलीले पानी थाम्न नसकेर एमालेले त आफ्नै बल्खु दरबारको छानामा माइन नै हाल्यो । अन्य पार्टीका नेताहरुले पनि कसैले पटका पड्काए, कसैले आफ्नै घरको छानो हातैले भए पनि कोतरेर आफ्ना पुर्खाको स्वभाव देखाए तर एनेकपा -माओवादी) का कार्यकर्ता, जनता भने एमाले र मधेशवादी दलको जस्तै दुर्दशा कतै नहोस् भनेर कामना गरिरहेका छन् । एनेकपा (माओवादी) का नेताहरुको काँध कति मोटो छ र पाखुरा कति बलिया छन्, सद्बुद्धिले कति भरिएको छ भन्ने कुरा पार्टी कार्यकर्ता र नेपाली जनतालाई राम्रोसँग हिसाबकिताब थाहा छ । एमालेले यो मुलुकमा लगानी नै केही गरेको नभएर नै केपी ओलीहरु झलनाथका विरुद्ध र क्रान्तिकारी परिर्वतनविरुद्ध पाखुरा सुर्कंने र तिघ्रा ठटाउने मञ्चबाटै गर्छन् । हामी त जनताका छोराछोरीको रगतको पोखरीमा पौडी खेलेर आएका हुनाले विरोधीहरुको दुर्गतिको दुर्गन्धले पार्ने प्रभावहरुका कारण नेपाली जनताको मुखैमा आएको बाली कदापि नाश हुन दिने छैनौँ । सबै हिसाबकिताब थाती राखेरै भए पनि अहिले मुखमा आएको बाली थन्क्याउनु चाहिँ बुद्धिमानी हो भन्ने हामी कम बुद्धि भएकाहरुको ठम्याइ छ, सबैले आ-आफ्नो भाँडो अनुसार बुझेका छन् । हामी माओवादी भएका नाताले आफूलाई लागेको सच्चाइ सशक्त ढंगले पार्टीभित्र राख्छौँ । हामी रत्नपार्कमा एमाले-काङ्ग्रेसजसरी पाखुरा सुर्कने र तिघ्रा ठटाउने गर्दैनौँ । आज जोसुकै अग्रगामी परिवर्तन चाहनेहरुका लागि यस्तो कार्यले शोभा दिँदैन बरु आफ्नै कद घट्छ । यसो गर्नु भनेको नेपाली जनताका दुश्मन हँसाउनु हो । अरु ज-जसले जे-जे गरे पनि जोरी दुश्मन हँसाउने मति कसैलाई पनि सह्य हुँदैन । जे-जे परे पनि हामी नेपालीका समस्या नेपालीहरुले नै हल गर्ने हो, कुनै विदेशी प्रभुहरु आएर समस्या हल गरिदिने होइन । अन्यथा नेपाली उखानजस्तो मुखैमा आएको बाली नथन्क्याउँदा 'रिस खा आफू, बुद्धि खा अर्को' भन्ने हुन्छ । यो उखानको चरितार्थको नेतृत्व केपी र रामचन्द्रहरुले गरिरहेका छन् । यसलाई जान वा अन्जानमा रौँ बराबर मात्रै कतैबाट खुशी बनाउने कार्य भयो भने विडम्बना हुनेछ । हामीले हाम्रो समस्या र न्याय हामीभित्रै खोज्ने हो, कतै बाहिरकाले हल गरिदिने होइन । सबैको त्याग, तपस्या, बलिदान नेपाली जनता र सच्चा माओवादीहरुले राम्रो बुझेका छन् । यत्रो लगानी गरेका नेपाली जनता र माओवादीहरुले बाहिर अर्नी हालेर न्याय पाइन्छ भन्ने कहिल्यै बुझेका छैनन् । कसैलाई त्यस्तो लागेको छ भने 'जेठो मामाको त यो गति, कान्छो मामाको भाङ्ग्राको धोती' हुनेछ ।

रह्यो कुरा, निकासको । यो समस्याको निकासको पहिलो शर्त मुलुकमा अब अग्रगामी र प्रतिगामीबीच प्रष्ट धु्रवीकरण जरुरी भएको छ । माधव नेपालको कठपुतली सरकार बने यताका सबै छलफल, बहस र वार्ताहरु विनानिष्कर्ष टुङ्गयिो भन्ने मात्रै भएको छ । हिजो जसरी माओवादी र दरबारबीच पानी बाराबारको अवस्था थियो, आज काङ्ग्रेस र माओवादीबीचको अन्तर्विरोध त्यही स्तरमा विकसित भएको छ । माओवादीका प्रस्ताव काङ्ग्रेसलाई मान्य नहुने, काङ्ग्रेसका प्रस्ताव माओवादीलाई मान्य नहुने अवस्था छ । यसको ठोस अर्थ यी दुई अन्तर्विरोधहरु एकले अर्कालाई पूराका पूरै निषेध गर्ने ढंगले आएका छन् । यो प्रधानअन्तर्विरोधसँग अन्तर्सम्बन्धित कुरा पनि भएकाले जे भएको छ, ठीक भएको छ । राजतन्त्रसँगको अन्तर्विरोध राजतन्त्रको अन्त्यसँगै समाप्त भएपछि प्रधानअन्तर्विरोध बदलिनु अनिवार्य छ । राजतन्त्रको अन्त्य भए पनि त्यसका अवशेषहरु दलाल पुँजीपतिहरुसँग टाँसिएका छन् भन्ने कुरा पनि बिर्सनु हुन्न । यो ध्रुवीकरणको पिलरको जग एउटा माओवादी हो भने अर्को काङ्ग्रेस हो । यी दुईवटा पिलर मात्रै नभएर पोलरको रुपमा खडा भएका छन् । बीचमा एमाले, मधेशवादी दल र अन्य साना दलहरु कता ध्रुवीकृत हुने भन्ने कुरा उनीहरुभित्र निकै चर्को विवादको विषय बनेको छ ।

यसरी ध्रुवीकरणका रुपमा खडा भएको स्थितिमा राष्ट्रिय सहमतिको सरकार, शान्ति र संविधान निर्माण धरापमा परिसकेको छ । माओवादी अग्रगामी जनसंविधान बनाउन चाहन्छ, काङ्ग्रेस हरहालतमा प्रतिगामी संविधान बनाउन चाहन्छ । माओवादी परिवर्तनसहितको शान्ति चाहन्छ भने काङ्ग्रेस मूर्दाशान्ति चाहन्छ । एकीकृत माओवादी त्यसको नेतृत्व गर्ने सरकार पनि एउटा अग्रगामी परिवर्तनकामीबीचको अर्थात्, देशभक्त, वामपन्थी र सच्चा लोकतन्त्रवादीहरुबीचको राष्ट्रिय सहमतिको सरकार चाहन्छ भने नेपाली काङ्ग्रेस पुनरुत्थानवादी, प्रतिक्रियावादी, प्रतिगामी र यथास्थितिवादीहरुका बीच 'सहमति' को सरकार चाहन्छ । यी दुई भिन्न बाटा, दुई भिन्न उद्देश्य, दुई विपरीत लक्ष्यहरु बनेर सामुन्ने आएका छन् । यो अन्तर्विरोधको हल वर्गसङ्घर्षको विधिबाट मात्रै सम्भव छ । यो अन्तर्विरोधलाई कतिपयले मैत्रीपूर्ण अन्तर्सङ्घर्षको विधिबाट हल गर्नुपर्छ भन्ने असंगतिपूर्ण बुझाइहरु अभिव्यक्त भइरहेका छन् । अर्को, वर्गसङ्घर्ष प्रधान हो कि, आर्थिक क्रान्ति प्रधान हो भन्ने भ्रम पनि सिर्जना भइरहेको छ । नेपाली रंगमञ्चमा देखापरेका समस्यालाई मैत्रीपूर्ण अन्तर्विरोधका रुपमा जसले बुझ्छ, उसले आर्थिक क्रान्तिलाई प्रधान देख्छ । भारतले नियतबश गरेको हस्तक्षेपलाई ध्यान दिन नसकेको देख्छ । राष्ट्रियताको झन्डालाई खोक्रो आडम्बर देख्छ र घालमेल राष्ट्रिय सहमतिको घालमेल संविधान निर्माणको सपना देख्छ- यो पूराका पूरै वर्गसमन्वयवादी दृष्टिकोण हो । जसले नेपाली रंगमञ्चका समस्यालाई वर्गसङ्घर्षका समस्याहरुको रुपमा बुझ्दछ, यसलाई मैत्रीपूर्ण ढंगले हल नहुने देख्छ, उसले आर्थिक क्रान्तिलाई सहायक देख्न पुग्छ, ध्रुवीकरणलाई जोड दिन्छ, राष्ट्रियताको प्रश्नलाई जोड दिन्छ, नियतवश नेपालमाथिको हस्तक्षेपको विरोध गर्छ र एउटा पूर्ण, नयाँ सामाजिक क्रान्तिको आवश्यकता ठान्दछ । संसदीय खेलको फोहोरमा डुबेकालाई सामान्य लाग्छ, यसरी दुई भिन्न राष्ट्रिय सहमतिको बाटो लागेकालाई एउटै सहमति भनेर जतिसुकै चिच्याए पनि त्यो अब सम्भव छैन । एमालेभित्रका केपी ओलीहरुले काङ्ग्रेसका रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने कसम खाएका छन् भने कमरेड प्रचण्डको सरकार बन्ला भनेर चिनीया पर्खाल लगाएका छन् । वामदेव र झलनाथहरुले वामपन्थीहरुको सहमति हुनुपर्छ भनेर बल गरे पनि राष्ट्र संकटमा परेका बेला निर्णय गर्न नसकेर आफैँ अनिर्णयको बन्दी बनेका छन् । झलनाथहरु पार्टी फुट्न नदिन राष्ट्रिय सहमतिको डन्डा बोक्ने, उता केपीहरु फ्लोर क्रस गरेर रामचन्द्रलाई भोट हाल्न पाए हाल्ने नत्र अझै राष्ट्रलाई अनिर्णयको बन्दी बनाइराख्ने स्थितिमा छन् । केपी ओलीहरुले 'माओवादीको प्रवक्ता भएर एमालेमा नबस्, माओवादीमै जा...' भनेर बिदाबारी गरिसक्दा पनि जुठेल्नामै भए पनि बस्नु कति विडम्बनाको कुरा होला ? उता, मालेका क्रान्तिकारी ४ जना सभासद् साथीहरुले विद्रोह गर्नु भएपछि अब माले पार्टीमा सीपीका परिवारजन मात्रै बाँकी रहेका छन् । उता, मधेशवादी दलहरुबाट ११ जना सभासद्हरुले फ्लोस-क्रस गरेर माओवादीलाई भोट हाले । पछि भारतबाट घरै आगो लाइदिन्छु भन्दै बरु यतै चाहिएजति पैसा खाओ भनेपछि उहाँहरु डराउनु भयो । शायद, कसैले धम्की दिँदा वा भिन्न आरोप लगाउँदा पछि हट्ने र डराउने भएरै होला, पुरानो सत्ताले मधेशलाई हेपेर राजधानी काठमाडौँ आउन समेत रोक लगाएको । उपेन्द्रहरुलाई माओवादीको धारणा ठीक लागे तापनि क-कसले कठालोमा हुक लगाएर तानिरहेका छन,् थाहा छैन तर त्यहाँभित्रका विजयकुमार गच्छदारहरु भने मन्त्रीको झन्डा हल्लाउँदै 'मधेशको हक खोज्न' मधेशवादी दलमा आउँछन् र मधेशको मुक्ति रामचन्द्रबाट देख्छन् ।

यसरी बीचका शक्तिहरु ठूलो ध्रुवीकरणको संघारमा छन् । प्रधानमन्त्रीको निर्वाचन भालुको कानसमाइ भए पनि ध्रुवीकरणको हिसाबले ठीक भइरहेको छ । क्रान्तिको विजयका लागि गर्ने हरेक कार्यहरु न्यायोचित हुन्छन् । काङ्ग्रेसलाई पनि यो चुनाव भालुको कानसमाइ नै भएको छ । त्यो मोर्चामा हारे पनि सबैतिर अन्तर्विरोधहरु एउटा स्तरमा विकास हुन्छन् । सबै मोर्चामा जितिन्छ मात्रै होइन, पटकपटक चुनाव हुँदा पनि क. प्रचण्ड धैर्यताका साथ अनुकूलताको प्रतीक्षामा हुनुुहुन्छ । हामीले प्रधानमन्त्रीय चुनावमा अध्यक्षललाई जसरी प्रतिस्पर्धा गराइरहेका छौं, त्यो हामीले क्रान्तिका लागि मुख्य नेतृत्वलाई बङ्गुरको खोरमा हालेका हौँ । प्रतिक्रान्तिकारीहरु यही बङ्गुरको खोरमा क. प्रचण्डलाई थुनेर हायलकायल पार्न चाहन्छन् र आत्मसमर्पण गरे घन्टाभित्रमा प्रधानमन्त्री बनाइदिन्छन् । यही आत्मसमर्पण नगर्नु अरुको पीडाको विषय बनेको छ भने क. प्रचण्डलाई गर्वको विषय बनेको छ । प्रधानमन्त्रीको पटकपटकको निर्वाचन पनि क्रान्तिको विषय हो वा पदलोलुपताको विषय- बिस्तारै प्रस्ट हुँदैछ । एउटा नेपाली क्रान्तिको नायकलाई बङ्गुरको खोरभित्र पसेको बेलामा छाला काढेर नुनचुक लगाउनु कति न्यायोचित होला ? प्रचण्डलाई कुनै न कुनै रुपमा नहुत्याएसम्म प्रतिक्रियावादीहरुको क्याम्पमा खैलाबैला मच्चिरहन्छ । क. प्रचण्ड मात्रै शतप्रतिशत सर्वगुणसम्पन्न हुनुहुन्छ भनेर कसैले बुझेको छैन । पार्टी केन्द्रका सातजना पदाधिकारीहरुको एकता मात्रै सर्वगुणसम्पन्न हुन सक्छ । यसको अर्थ, सङ्घर्षविना एकताको कल्पना विल्कुल होइन बरु आगोको झिल्का निस्कनेगरी हुने सङ्घर्ष सहितको एकताको माग हो । न्यूनतम विधि-प्रक्रियासहितको सङ्घर्षको माग हो । विधि र प्रक्रिया मिचेर हुने अन्तर्सङ्घर्षहरुले कार्यकार्ता, जनता, राष्ट्र र महान् सहिदहरुप्रति अन्याय हुन्छ भन्ने कुरा भुल्नु भएन । जथाभावी लडेर जित्छु भन्दा आफैँ हारिन्छ । यो अप्ठ्यारो स्थितिमा झनै एकताका आधारहरु खोजौँ र एकतालाई झनै उचाइमा विकास गरौँ । विकास के हो ? निकास के हो ? साङगोपाङगो सबैले बुझ्ने सामथ्र्य राख्ने प्रयत्न गरौं ।

देशभक्त, वामपन्थी र वास्तविक लोकतन्त्रवादीहरुका बीचको राष्ट्रिय सहमतिको मोर्चा बन्न अत्यन्तै ढिलो भइसक्यो, जसका कारण राष्ट्र र नेपाली जनताले निकै सास्ती पाइसकेका छन् । यस्तो राष्ट्रिय सहमति मात्रै वास्तविक मुलुकलाई चाहिने सहमति हुन्छ । आज मुलुकलाई पश्चगामी दिशातिर लैजाने कथित राष्ट्रिय सहमति विल्कुलै चाहिएको होइन । देशभक्त, वामपन्थी र लोकतन्त्रवादीहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, यसो हो भने बरु नेतृत्व कसरी गर्ने भन्ने कुरा छलफलको विषय बन्नै सक्दैन भन्ने होइन । यो सरकारले १९५० लगायतका असमान सन्धि एकतर्फी खारेजको घोषणा गरेर समानता र सार्वभौमिकताका आधारमा नयाँ सम्झौताको पहल गर्न सक्छ । अङ्ग्रेजको पालामा भएका सन्धि-सम्झौताका कारण अङ्ग्रेज समाप्त भएको धेरै वर्ष पछिसम्म पनि त्यसको भूतले नेपालीहरु तर्सिरहन चाहन्नन् । दुवै देशका विज्ञहरुको टोली बनाएर प्रमाणका आधारमा सीमा व्यवस्थापन गर्न सकिन्छ । कालाबजारी, घुसखोरी, तस्करीमाथि सरकारले योजना बनाएर कारबाही चलाउन सक्छ । प्रशासनभित्र तल्लो स्तरकाको जीवनस्तर माथि उठाउने, माथिल्लो स्तरका कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाएर लोकतान्त्रीकरण गर्ने काम गर्न सकिन्छ, रायमाझी र मल्लिक आयोगका दोषीहरुमाथि कारबाही चलाउन सकिन्छ, जमिनको हदबन्दी तोक्न सकिन्छ, गुन्डा र मण्डलेतन्त्र रोक्न सकिन्छ अर्थात्, सरकारले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याहरु समाधान गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने निर्णय गर्न सकिन्छ । सदनबाट जनताको सपोर्ट गर्ने अनि सेना-पुलिस र कर्मचारीले त्यसलाई सहयोग गर्ने तथा प्रतिगामी दुष्प्रयत्नहरुमाथि हस्तक्षेप गरी नयाँ संविधान बनाई मुलुकमा ठूलो सामाजिक परिवर्तन ल्याउने कुरा मुखैमा आएको छ । यो अवसर हामीले गुमायौँ भने हामी नेपाली धेरै वर्ष पछाडि पर्ने छौं, हाम्रा सन्तान-दरसन्तान समेत निकै पछि पर्ने छन् । त्यसैले आउनुहोस्- देशभक्त, वामपन्थी र लोकतन्त्रवादीहरु एकढिक्का होऔँ, राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गरौँ । इतिहासले सुम्पेको अवसर गुमाएर हाम्रो पिँढी पुलकित बन्ने काम नगरौँ । जनताको नयाँ सङ्घीय गणतन्त्र नेपाल हामीलाई पर्खेर नजिकै बसिरहेको छ ।

(
लेखक एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं ताम्सालिङ राज्य समितिका सहइन्चार्ज हुनु हुन्छ ।)

No comments:

Post a Comment

पपुलर पोस्टस्