Jun 26, 2018

क्रान्तिकारी नैतिकता

क. हो ची मिन्ह

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानव जातिले बाँच्नका लागि जङ्गली जनावर, मौसम आदि प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नु परेको छ । यस सङ्घर्षमा सफल हुनका लागि व्यक्तिमाथि, समूहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन ।

बाँच्नका लागि मानिसले खाना र लुगा पाउन उत्पादन गर्नु पर्छ । उत्पादनले पनि समूहमाथि र समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै व्यक्तिले उत्पादन गर्न सक्दैन ।

हाम्रो युग एक सभ्य, क्रान्तिकारी युग हो । त्यसैले सबै काममा समूहको, समाजको शक्तिमाथि झन् बढी भरोसा राख्नु पर्छ । अहिले व्यक्ति समूहवाट झन् छुट्टै रहन सक्दैन, बरु एक समूहमा, समाजमा सम्मिलित हुनुपर्छ । तसर्थ, व्यक्तिवाद सामूहिकतावादको विपरीत छ, सामूहिकतावाद र समाजवादको अवश्य विजय हुनेछ र व्यक्तिवाद अवश्य बिलाउने छ ।

उत्पादनका तरिका तथा शक्तिहरूको निरन्तर रूपले विकास र परिवर्तन हुन्छ, त्यस्तै मानिसका विचार, सामाजिक व्यवस्था आदिको पनि विकास र परिवर्तन हुन्छ । हामी सबैलाई के थाहा छ भने अतीतदेखि वर्तमानसम्ममा उत्पादनका तरिका रुखका हाँगा र ढुङ्गो बन्चरो प्रयोगदेखि लिएर मेसिन, बिजुली र आणविक शक्तिको प्रयोगसम्म विकसित भएको छ । सामाजिक व्यवस्था पनि आदिम साम्यवादबाट दासप्रथा र सामन्तवाद भएर पुँजीवादसम्म विकसित भएको छ र आज प्रायः आधा मानव जाति समाजवाद र साम्यवादतर्फ बढिरहेका छन् । कसैले पनि यस विकास र प्रगतिलाई रोक्न सक्दैन ।

निजी स्वामित्वको उत्पत्ति भएदेखि समाज वर्गहरूमा विभाजित भएको छ । हरेक व्यक्ति आवश्यकीय रूपले कुनै न कुनै वर्गमा पर्छ र कोही पनि वर्गभन्दा बाहिर रहन सक्दैन । त्यसका साथै, हरेक व्यक्तिले आफ्नो वर्गको विचारधाराको प्रतिनिधित्व गरेको हुन्छ ।

पुरानो समाजमा सामन्ती, जमिन्दार, पुँजीपति र साम्राज्यवादीहरूले अन्य सामाजिक अङ्गहरूमाथि, खास रूपले मजदुर र किसानहरूमाथि निर्ममतापूर्वक थिचोमिचो र शोषण गर्थे । तिनीहरू समाजद्धारा पैदा गरिएको साझा सम्पत्ति लुटेर आफ्नो निजी सम्पत्तिमा फेर्थे र ऐस आराममा बस्दथे । तर तिनीहरू ‘धर्म’ ,‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ बारे बकवास गरिरहन्थे ।

यस्तो थिचोमिचो र शोषण सदाका लागि सहेर बस्न इन्कार गर्दै, मजदुर तथा किसान र अन्य श्रमजीवी जनता, जागेका छन् र तिनीहरूले आफ्नो मुक्तिका लागि र दुष्ट पुरानो समाजलाई एउटा राम्रो, नयाँ समाजमा फेर्न क्रान्ति गरेका छन्, जुन समाजमा जनता सुखपूर्वक रहनेछन् र जसमा मानिसद्वारा मानिसको शोषणमाथि प्रतिबन्ध लाग्नेछ ।

क्रान्ति सफल हुनका लागि ,मजदुरवर्गद्वारा त्यसको नेतृत्व गरिनु पर्छ, किनभने यो सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुुुसङ्गठित वर्ग हो र सर्वहारा पार्टी यसको कार्यकारिणी प्रमुख रहेको छ । सोभियत सङ्घ र अन्य समाजवादी मुलुकहरूमा भएको क्रान्तिबाट यो कुराको निर्विवाद रूपले पुष्टि भएको छ ।

क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकताको खँदिलो जग हुनु पर्छ ।

पुरानो समाजमा जन्मेको र हुर्केको हुनाले, हामी सबै आफ्नो विचार र बानीहरूमा उक्त समाजका चिह्नहरूलाई फरक–फरक मात्रामा आफूसँगै बोकेर हिड्छौं । पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत छ । यसको अलिकति पनि बाँकी चिह्न पहिलो अवसरमा नै विकसित हुनेछ, त्यसले क्रान्तिकारी गुणहरूलाई खतम पार्छ र हामीलाई क्रान्तिकारी लक्ष्यका लागि सङ्घर्ष गर्नबाट रोक्छ ।

व्यक्तिवाद एक धोकापूर्ण र हानिकारक चीज हो, यसले चलाखीसाथ मान्छेलाई पछि हट्न प्रेरित गर्छ र सबैलाई के थाहा छ भने अघि बढ्नुभन्दा पछि हट्नु सजिलो छ । त्यसैले यो धेरै खतरनाक छ ! पुरानो समाजका खराब अवशेषहरू हटाउन र क्रान्तिकारी गुणहरूको विकास गर्न हामीले कठिन अध्ययन गर्नु पर्छ र लगातार प्रगति गर्नका लागि आफूलाई शिक्षित पार्नु र सुधार्नु पर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामी पछि पर्नेछौं र अन्तमा अगाडि बढिरहेको समाजले हामीलाई अस्वीकार गर्नेछ ।

स्कुलमा गएर अथवा तालिम कोर्समा सामेल भएर मात्र हामी अध्ययन गर्न सक्छौं र हामीले आफूलाई शिक्षित पार्न र सुधार्न सक्नेछौं भन्ने कुरो होइन । हरेक क्रान्तिकारी काममा हामी यसो गर्न सक्छौं र यसो गर्नुपर्छ । भूमिगत क्राान्तिकारी क्रियाकलाप, आम विद्रोह, प्रतिरोध–युद्ध, उत्तरमा समाजवादको वर्तमान निर्माण र राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष धेरै असल पाठशाला हुन्, जहाँ हामीले क्रान्तिकारी गुणहरू प्राप्त गर्न सक्छौं ।

क्रान्तिकारी गुणहरू भएका मानिसहरू न कठिनाइदेखि डराउँछन्, न दुःख–कष्ट वा असफलतादेखि डराउँछन् । तिनीहरू न ढुलमुल गर्छन्, न पछि हट्छन् । पार्टी, क्रान्ति, वर्ग, राष्ट्र र मानवजातिको हितका लागि तिनीहरूको आफ्नो स्वार्थ त्याग गर्न आनाकानी गर्दैनन् । यो क्रान्तिकारी नैतिकताको एक ज्यादै स्पष्ट र उच्च अभिव्यक्ति हो ।

हाम्रो पार्टीमा त्रान फु, न्योगिया, तु ले हङ फोङ ; न्युयेन वान थु, न्युयेन थी, मिन्ह खाई र धेरै अरू कामरेडहरूले जनता र पार्टीका लागि आफ्नो जीवन उत्सर्ग गरेका छन् र यसरी जनहितप्रति पूरा समर्पण र निःस्वार्थपनाका चहकिला दृष्टान्तहरू पेस गरेका छन् ।

अनुकूल अवस्था र सफलता प्राप्त भए पनि क्रान्तिकारी गुण भएका मानिसहरू साधारण, विनम्र र दुःख–कष्ट सामना गर्न तयार रहन्छन् । ‘अरूले भन्दा पहिले कामको चिन्ता गर्नू, अरूले भन्दा पछि आनन्दको विचार गर्नू ।’ हामीले आफ्नो अभिभारा खुब राम्ररी कसरी पूरा गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ, तर कसरी ठूलो पुरस्कार पाउन सकिन्छ भन्ने विचार गर्नु हुँदैन । हामीले पहिलेका उपलब्धिहरूबारे घमन्ड गर्नु हुन्न र विशेषाधिकारको दाबी गर्नु अथवा नोकरशाही, घमन्ड र दुस्ट्याँइमा लाग्नु हुन्न । यो पनि क्रान्तिकारी नैतिकताको एक अभिव्यक्ति हो ।

छोटकरीमा, क्रान्तिकारी नैतिकतामा तलका कुराहरू रहेका हुन्छन् :

– पार्टी र क्रान्तिका लागि सङघर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु । यो सबभन्दा प्रमुख चिह्न हो ।
– पार्टीका लागि कठिन काम गर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्यदिशा र नीतिहरू कार्वान्वित गर्नु ।
– पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु, दिलो ज्यानले जनताको सेवा गर्नु । जनता र पार्टीका लागि निःस्वार्थ रूपले सङ्घर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु ।
– आफ्नो सैद्धान्तिक स्तर उठाउन, आफ्नो कामरेडहरू सँगसँगै प्रगति गर्नका लागि, माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न र निरन्तर रूपमा आत्मालोचना र आलोचनाको प्रयोग गर्न प्रयास गर्नु ।

हरेक क्रान्तिकारीले गहिरोसित के बुझ्नु पर्छ भने हाम्रो पार्टी मजदुरवर्गको सबभन्दा अघि बढेको सुसङ्गठित सङ्गठन, मजदूरवर्ग र श्रमजीवी जनताको नेता हो । वर्तमान समयमा हाम्रो मजदुर वर्ग धेरै सङ्ख्यामा नभए पनि दिन प्रतिदिन त्यसको विकास हुँदै छ । भविष्यमा, कृषि सहकारी संस्था जहाँतहाँ गठन हुनेछ, गाउँले इलाकामा व्यापक रूपमा मेसिनहरूको प्रयोग हुनेछ र किसानहरू मजदुर बन्ने छन् । बुद्धिजीवीहरू शारीरिक श्रमसँग राम्ररी परिचित हुनेछन् र मानसिक र शारीरिक मजदुरहरूका बिचको भिन्नता बिस्तारै बिस्तारै मेटिने छ । दिन प्रतिदिन हाम्रो देशको उद्योगको विकास हुनेछ । त्यसैले, मजदुरहरूको सङ्ख्या झन्–झन् बढ्नेछ, तिनीहरूको तागत बढ्नेछ । मजदुरवर्गको भविष्य महान् र गौरवशाली छ । यसले संसार र आफूलाई सुधार्ने छ ।

क्रान्तिकारीले उपरोक्त कुरो स्पष्टसित बुझ्नु पर्छ र मजदुरवर्गको अडानमा दृढतापूर्वक अड्नु पर्छ, जसले गर्दा समाजवाद र साम्यवादका लागि, मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका लागि दिलो ज्यानले सङ्घर्ष गर्न सकियोस् । क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको छ ।

हाम्रो पार्टीको नेतृत्वमा हाम्रा जनताले वीरतापूर्वक लडेका छन्, औपनिवेशिक र सामन्ती आधिपत्यलाई फालेका छन् र हाम्रो देशको उत्तरी भागलाई पूरै रूपमा मुक्त गरेका छन् । यो एक ठूलो सफलता थियो । तर क्रान्तिले अझसम्म पूर्ण विजय पाइसकेको छैन र पार्टीको वर्तमान उद्देश्य राष्ट्रिय पुनः एकीकरणका लागि सङघर्ष गर्नु हो, जसले गर्दा स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्नु, मुलुकभर मानिसद्वारा मानिसको शोषणको उन्मूलन गर्न र सबैका लागि सुख र प्रचुरता सहितको एक नयाँ समाजको निर्माण गर्न सकियोस् ।

तर हाम्रो उद्योग अझसम्म पिछडिएको छ । भाइचारा मुलुकहरू, सर्वप्रथम सोभियत सङ्घ र चीनको निःस्वार्थ मद्दतको फलस्वरूप यसको विकास हुँदै छ । प्रयत्न सफल हुनका लागि हाम्रा मजदुरहरूले एकले अर्कोसँग प्रतिस्पर्धा गर्नु पर्छ र झन्झन् धेरै झन् छिटो, झन् राम्रो र झन् बढी मितव्ययी ढङ्गले उत्पादन गर्न प्रयास गर्नु पर्छ, श्रम–अनुशासन पालना गर्नु पर्छ र आफ्नो उद्योगधन्दाको प्रबन्धमा जाँगरिलो भई भाग लिनु पर्छ । हामीले फजुल खर्च र हिनामिनाको विरोध गर्नु पर्छ र हाम्रा कार्यकर्ताहरू साँच्चिकै मेहनती, मितव्ययी, इमानदार र निष्कपट हुनुपर्छ र उनीहरूले मजदुरहरूसित मिलेर श्रममा भाग लिनु पर्छ ।

हाम्रा किसानहरूलाई जमिन दिइएको छ र उनीहरूको जीवनमा आंशिक सुधार भएको छ । तर उत्पादन पद्धति अझसम्म तितरबितर र पिछडिएको छ । त्यसैले अझसम्म उपज त्यति बढेको छैन र जीवनका अवस्थाहरूमा अलि मात्र सुधार भएको छ । हाम्रो गाउँले इलाकामा कार्य–विनिमय दल र सहकारी संस्थाको स्थापना गर्ने आन्दोलनलाई व्यापक र दह्रो रूपले अघि बढाइनु पर्छ, जसले गर्दा उत्पादनमा ठोस बृद्धि गर्न सकियोस् र उनीहरूको अवस्थामा सुधार हुन सकोस् ।

तसर्थ, पार्टीको उद्देश्य प्राप्त गर्नका लागि प्रयास गर्नु, मजदुरवर्ग र श्रमजीवी जनताको इमान्दारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु क्रान्तिकारी नैतिकता हो ।

पार्टी र श्रमिक युवा सङ्घका धेरै जसो सदस्यहरू र कार्यकर्ताहरूले यसो गरेका छन्, तर कसैकसैले गरेका छैनन् । तिनीहरू गलत ढङ्गले के सोच्छन् भने उत्तरमा उपनिवेशवादी र सामन्तहरूबाट मुक्ति पाइसकेको हुनाले, क्रान्ति सफलतापूर्वक पूरा भएको छ । त्यसैले, तिनीहरूले व्यक्तिवादलाई आफूभित्र हुर्कन दिन्छन् । मोजमज्जा र आरामको माग गर्छन् र सङ्गठनले सुम्पेको काम गर्नुको सट्टामा आफ्नै काम गर्न चाहन्छन् । तिनीहरू उच्च पद चाहन्छन् तर जिम्मेदारी पन्छाउँछन् ।

तिनीहरूको लडाकुपना र शक्ति बिस्तारै–बिस्तारै कमजोर हुन जान्छ र त्यस्तै तिनीहरूको क्रान्तिकारी साहस र उच्च गुणहरू पनि कमजोर हुन जान्छन् । उनीहरू के बिर्सन्छन् भने क्रान्तिकारीको मुख्य कसी नै पार्टी र क्रान्तिको निम्ति जीवनभर सङ्घर्ष गर्ने उसको अठोट हो ।
हामीले के बुझनु पर्छ भने अहिलेसम्म हामीले प्राप्त गरेका सफलताहरू हजारौँ लिग लामो बाटोमा पहिला पाइलाहरू मात्र हुन् । हामी अझ अघि बढ्नुपर्छ, क्रान्तिले अरू प्रगति गर्नु पर्छ । नत्र भने हाम्रो अवनति हुनेछ र हामीबाट प्राप्त गरिएका सफलताहरूलाई दरिलो र विकसित पार्न सकिँदैन ।

समाजवादतर्फ अघि बढ्नका लागि, हामीले लामो र कठिन सङ्घर्ष चलाउनु पर्छ । हाम्रो साथमा क्रान्तिकारीहरू हुनुपर्छ, किनभने क्रान्तिको विरोध गर्ने शत्रुहरू अझसम्म विद्यमान छन् ।
तीन किसिमका शत्रुहरू छन्:

पहिलो, पुँजीवाद र साम्राज्यवाद असाध्य खतरनाक शत्रु हुन् ।

दोस्रो, पिछडिएका बानी र परम्पराहरू पनि ठूला शत्रु हुन् । तिनीहरूले क्रान्तिको प्रगतिमा कपटी ढङ्गले बाधा दिन्छन् । यद्यपि हामीले तिनीहरूलाई दबाउन सक्दैनौ, तर होसियारी तथा लगनका साथ र लामो अवधिमा तिनीहरूलाई सच्याउन खोज्नु पर्छ ।
तेस्रो शत्रु व्यक्तिवाद हो, निम्न पुँजीवादी मनोवृत्ति हो, जुन हामी प्रत्येकभित्र अझसम्म लुकेर रहेको छ । असफल होस् या सफल, यसले आफ्नो टाउको उठाउने मौका ढुकिरहेको छ । यो माथि उल्लेखित दुई खालका शत्रुहरूको सहयोगी हो ।

तसर्थ, जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूका विरुद्ध दृढतापूर्वक सङघर्ष गर्नु, आफ्नो चनाखोपन कायम राख्नु, लड्न तयार रहनु र झुक्न तथा आफ्नो शिर निहुराउन इन्कार गर्नु, क्रान्तिकारी नैतिकता हुन् । यसो गरेर मात्र हामीले शत्रुलाई हराउन सक्छौं र आफ्नो क्रान्तिकारी काम पूरा गर्न सक्छौं ।

आफ्नो सही नीति र एकीकृत नेतृत्वद्वारा नै हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण जनतालाई समाजवादतर्फ नेतृत्व गर्न सक्छ । यस्तो एकीकृत नेतृत्व यसको सबै सदस्यहरूको विचार तथा कार्यमा एकतावाट उत्पन्न हुन्छ ।

यो एकता नभएमा, हामी ‘बाजा एक तरिकाले बज्ने र बाँसुरी अर्को तरिकाले बज्ने वाद्यवादन’ जस्तो हुने छौँ । हाम्रा लागि जनताको नेतृत्व गर्नु र क्रान्ति गर्नु सम्भव हुने छैन ।

पार्टी सदस्यहरूका कुरा र कामहरूले क्रान्तिमा ठूलो प्रभाव पार्छन् किनभने तिनीहरूबाट आम जनतामा ठूलो प्रभाव पर्छ । उदाहरणका लागि, हाम्रो पार्टी र सरकारको वर्तमान नीति कार्य–विनिमय दल र सहकारी संस्थाहरूको व्यापक र घनिष्ट रूपमा सङ्गठित पार्नु, कृषि सहकारितालाई अघि बढाउनु हो । तर पार्टी र श्रमिक युवा सङ्घका कतिपय सदस्यहरू यसमा सामेल हुँदैनन् वा यसमा सामेल भए पनि तिनीहरूको निर्माण र सुदृढीकरणमा सक्रिय रूपले योगदान गर्दैनन् ।

व्यक्तिवादले गर्दा नै ती कामरेडहरूले आफूखुसी गर्ने र पार्टी सङ्गठन र अनुशासनको विपरीत जाने गरेका छन् । जानाजानी होस् वा नजानेर, उनीहरूका कामहरूले पार्टीको प्रतिष्ठालाई नोक्सान पार्छन्, पार्टीको काममा वाधा हाल्छन् र क्रान्तिको अग्रगतिलाई रोक्छन् ।

पार्टीका सबै नीति र प्रस्तावहरूको उद्देश्य जनताको हितको सेवा गर्नु हो । त्यसैले, पार्टी सदस्यका लागि क्रान्तिकारी नैतिकता जस्तोसुकै अप्ठ्याराहरू भए पनि ती नीति र प्रस्तावहरूलाई दह्रोसित कार्यान्वित गर्नुमा र जनताका लागि उदाहरण पेस गर्नुमा रहेको हुन्छ । हरेक पार्टी सदस्यले जनता र पार्टीप्रति आफ्नो जिम्मेवारीको भाव उँचो पार्नु पर्छ । उसले व्यक्तिवादबाट आफूलाई जोगाउनु पर्छ र त्यसकोे दृढ विरोध गर्नु पर्छ ।

हाम्रो पार्टीले मजदुरवर्ग र सम्पूर्ण श्रमजीवी जनताका साझा हितहरूको प्रतिनिधित्व गर्छ, तर कुनै समूह र व्यक्तिका निजी हितहरूको प्रतिनिधित्व गर्दैन । यो कुरो सबैलाई थाहा छ ।

मजदुरवर्गले आफूलाई मुक्त पार्न मात्र होइन, तर थिचोमिचो र शोषणवाट मानव जातिलाई मुक्त पार्न पनि सङ्घर्ष गर्छ । त्यसैले तिनीहरूका हित र जनताका हितहरू एउटै छन् ।

पार्टी सदस्यले पार्टीका नाउँमा, मजदुरवर्ग र श्रमजीवी जनताका हितहरूको प्रतिनिधित्व गर्छ । त्यसैले उसको स्वार्थ पार्टी र वर्गको स्वार्थभन्दा बाहिर होइन, बरु त्यसभित्र पर्दछ । पार्टी र वर्गका लागि प्राप्त हुने सफलता र विजयको अर्थ लडाकुहरूका लागि सफलता र विजय हो । पार्टी र वर्गवाट छुट्टै रहेर कुनै पनि व्यक्तिले जतिसुकै प्रभावशाली भए पनि, केही चीज प्राप्त गर्न सक्दैन ।

पार्टी सदस्यका लागि, क्रान्तिकारी नैतिकता सारा परिस्थितिमा पार्टीको हितलाई सबभन्दा माथि राख्नुमा रहेको छ । पार्टीको हित र व्यक्तिको हित बाझिन गएमा पार्टी–हितको पक्षमा व्यक्तिको हितलाई एकदमै त्याग्नु पर्छ ।

आफूलाई व्यक्तिवादवाट मुक्त नगरेको हुनाले नै कुनै–कुनै पार्टी सदस्यहरू अझ पनि पार्टीप्रति आफ्ना सेवाहरूको घमन्ड गर्छन् र सो सेवाका लागि पार्टीको कृतज्ञताको दाबी गर्छन् । तिनीहरू कृपा, सम्मान, पद र विशेषाधिकार पाउन चाहन्छन् । आफ्नो इच्छा पूरा नभएमा, तिनीहरूको ‘भविष्य’ छैन र तिनीहरूलाई ‘बलि चढाइएको’ छ भन्ने ठान्छन् र पार्टीबाट बिस्तारै बिस्तारै हटेर जान्छन् । अझ खराब त के छ भने तिनीहरू यसका नीतिहरू र अनुशासनलाई भित्रैबाट ध्वस्त पार्छन् ।

भूमिगत सङ्घर्ष र प्रतिरोध युद्धका अवधिमा धेरै कार्यकर्ता र जोताहाहरूले वीरतापूर्वक आफ्नो जीवनको आहुति दिएका छन् । धेरै श्रमवीर र सर्वोत्तम मजदुरहरूले उत्पादन बढाउन सकभर गरेका छन् । ती कामरेडहरूले कहिल्यै पद र सम्मान मागेका छैनन्, पार्टीबाट धन्यवादको माग गरेका छन् ।

हाम्रो पार्टीको जन–चरित्र छ र यसका लाखौं सदस्यहरू छन् । मुलुकको परिस्थितिले गर्दा अधिकांश पार्टीका सदस्यहरू निम्न–पुँजीपतिवाट आएका छन् । यसमा कुनै आश्चर्यको कुरो छैन । सुरुमा, पुँजीवादी विचारधाराको प्रभाव परेर, केही पार्टी सदस्यहरूको अडानमा दह्रोपनाको अभाव हुन सक्छ, उनीहरूको दृष्टिकोण भ्रमात्मक हुन र उनीहरूको सोचाइ बिलकूल गलत हुन सक्छ तर तिनीहरू क्रान्ति र प्रतिरोध–युद्धमा खारिएका छन् भन्ने तथ्यले गर्दा हाम्रो पार्टीका सदस्यहरू मुख्य रूपमा असल लडाकु हुन् र पार्टी र क्रान्तिप्रति इमान्दार छन् ।

ती कामरेडहरूलाई के थाहा छ भने गल्ती गर्ने पार्टी सदस्यहरूले जनतालाई गलत बाटोमा लैजाने छन् । त्यसैले तिनीहरू समयमै आफ्ना गल्तीहरूलाई सच्याउन तयार हुन्छन्् र स–साना गल्तीहरूलाई ठूलो गल्तीमा बढ्न दिदैनन् । तिनीहरूले आलोचना र आत्मालोचनालाई इमान्दारीपूर्वक व्यवहारमा प्रयोग गर्छन् ।

यो क्रान्तिकारी नैतिकताको अनुरूप छ । धेरै वर्षको आफ्नो भूमिगत क्रियाकलापको बेलामा, हाम्रो पार्टीले उपनिवेशवादीहरूको कठोर दमन खप्नु प¥यो र त्यसैले असङ्ख्य कठिनाइ र खतरा भोग्नु प¥यो, तर पनि पार्टी दिन–प्रतिदिन विकसित र बलियो हुँदै गयो अनि त्यसले क्रान्ति र प्रतिरोध–युद्धलाई विजयसम्म बढायो । यो आलोचना र आत्मालोचनाको तिखो हतियारको प्रभावकारी प्रयोगले गर्दा भएको हो ।

तर अझसम्म केही पार्टी सदस्यहरू यस्ता छन््, जो व्यक्तिवादलाई हटाउन असमर्थ भएकाले हठी र घमन्डी छन्, र आफ्नो खुबीको तारिफ गरिरहन्छन् । उनीहरू अरूको आलोचना गर्छन् र अरूले आफ्नो आलोचना गरेको मन पराउँदैनन् । उनीहरू आत्मलोचनालाई हटाउँछन् र बिना इमान्दारी र बिना गम्भीरताले त्यसलाई व्यवहारमा प्रयोग गर्छन् । तिनीहरू आफ्नो मुख रातो होला र आफ्नो बेइज्जत होला भनेर डराउँछन् । तिनीहरूले जनताको रायप्रति ध्यान दिँदैनन् र गैर–पार्टी कार्यकर्ताहरूलाई हेला गर्छन् । तिनीहरू के बुझ्दैनन् भने आफ्नो काममा कुनै गल्ती नै नगर्नु गाह्रो छ । हामीहरू सम्भवतः गल्तीहरूदेखि डराउँदैनौं, बरु त्यसलाई सच्याउन, हामीले जनताद्वारा गरिने आलोचनामा ध्यान दिनुपर्छ र इमान्दारीपूर्वक आत्मालोचना गर्नुपर्छ । नत्र भने हामी पछि पर्नेछौं र हाम्रो अवनति हुनेछ, जसले गर्दा जनताले हामीलाई पन्छाउने छन् । यो व्यक्तिवादको अनिवार्य परिणाम हो ।

मजदुरवर्ग र श्रमजीवी जनताका शक्तिहरू विशाल र असीमित छन् । तर यदि उनीहरूले विजय प्राप्त गर्ने हो भने पार्टीले उनीहरूको नेतृत्व गर्नुपर्छ । त्यसका साथै यदि क्रान्तिमा विजय प्राप्त गर्ने हो भने पार्टी आम जनताको नजिक रहनु पर्छ र त्यसले उनीहरूको दक्षतापूर्वक सङ्गठन र नेतृत्व गर्नुपर्छ ।

जनतासित एक ढिक्का भएर मिल्नुमा, उनीहरूको विश्वास प्राप्त गर्नुमा र उनीहरूको रायप्रति ध्यान दिनुमा क्रान्तिकारी नैतिकता रहेको छ । आफ्ना कुरा र कामहरूद्वारा पार्टी र श्रमिक युवा सङ्घका सदस्य र कार्यकर्ताहरूले जनताको विश्वास, सम्मान र माया प्राप्त गर्छन्, पार्टी वरिपरि उनीहरूलाई घनिष्ट रूपले एकताबद्ध पार्छन् र उनीहरूलाई सङ्गठित, शिक्षित र परिचालन गर्छन् जसले गर्दा उनीहरूले पार्टीका नीति र प्रस्तावहरूलाई उत्साहपूर्वक कार्यान्वित गर्नेछन् ।

हामीले क्राान्ति र प्रतिरोध–युद्धका बेलामा त्यसै गरेका छौँ ।

तर अहिले व्यक्तिवादले हाम्रा कतिपय कामरेडहरूलाई सिकार बनाइरहेको छ । आफू हरेक कुरामा चलाख रहेको दाबी गरेर तिनीहरू जनताबाट अलग हुन्छन्, जनतावाट सिक्न इन्कार गर्छन् र जनताको शिक्षक मात्र बन्न चाहन्छन् । तिनीहरू जनताबीच सङ्गठन, प्रचार र शिक्षाको काममा लाग्न अनिच्छुक छन् । तिनीहरू नोकरशाही र हुकुमवादबाट आक्रान्त छन् । फलस्वरूप जनताले तिनीहरूलाई न विश्वास गर्छन्, न सम्मान गर्छन् र माया त बिलकुलै गर्दैनन् । अन्तमा तिनीहरूले केही पनि गर्न सक्दैनन् ।

हाम्रो देशको उत्तरी भाग समाजवादतर्फ बढिरहेको छ । यो लाखौँ श्रमजीवी जनताको जरुरी आकाङ्क्षा हो । यो हाम्रो पार्टीको नेतृत्व अन्तर्गत श्रमजीवी जनताको सामूहिक काम हो । समाजवादको निर्माणका लागि व्यक्तिवाद ठूलो वाधक हो । त्यसैले, व्यक्तिवादको उन्मूलनका लागि चलाइने सङ्घर्षको सफलताबाट समाजवादको सफलतालाई अलग पार्न सकिँदैन ।

व्यक्तिवादका विरुद्ध सङ्घर्ष गर्नुको अर्थ ‘व्यक्तिको हितमाथि कुल्चनु’ होइन । हरेक व्यक्तिका आफ्नै स्वभाव, आफ्नै खुसी, आफ्नो निजी जीवन र आफ्नो परिवारको जीवन हुन्छ । व्यक्तिको हित सामूहिक हितको विपरीत नभएमा त्यसमा कुनै नोक्सानी छैन । तर के कुरा बुझ्नुपर्छ भने समाजवादी व्यवस्था अन्तर्गत मात्र प्रत्येक व्यक्तिले आफ्नो निजी जीवनमा सुधार ल्याउन र आफनो व्यक्तित्व र आफना बलिया गुणहरूको विकास गर्न सक्छ ।

मानिसप्रति सम्मान देखाउनमा, उसको न्यायोचित व्यक्तिगत स्वार्थप्रति उचित ध्यान दिनमा र सो स्वार्थ पूतिलाई सुनिश्चित पार्नमा कुनै पनि व्यवस्थामा समाजवाद र साम्यवादको बराबरी छैन । जुन समाजमा शोषक वर्गले शासन चलाएको हुन्छ, त्यस्तो समाजमा सो वर्गका केही मानिसहरूको व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ, तर श्रमजीवी जनताको हितलाई पैतलामुनि कुल्चिन्छ । तर समाजवादी र साम्यवादी व्यवस्थामा, जसमा श्रमजीवी जनता मालिक हुन्छन्, हरेक मानिस समूहको एउटा अंश रहन्छ, उसले समूहमा निश्चित भूमिका खेल्छ र समाजलाई आफूले सकेको देन दिन्छ । त्यसैले व्यक्तिको हित समूहको हितभित्र रहन्छ र त्यसको अंशका रूपमा रहन्छ । समूहको स्वार्थ पूरा भएपछि मात्र व्यक्तिको स्वार्थ पूरा गर्न सकिन्छ ।

व्यक्तिको हित समाजको हितसित घनिष्ट रूपले गाँसिएको हुन्छ । ती दुईबीच कुनै अन्तर्विरोध भएमा, क्रान्तिकारी नैतिकताले के अपेक्षा गर्छ भने व्यक्तिको हितले सामूहिक हित सामु समर्पण गरोस् ।

क्रान्तिको निरन्तर प्रगति हुन्छ । पार्टीले पनि निरन्तर प्रगति गर्छ र क्रान्तिकारीले पनि निरन्तर प्रगति गर्नुपर्छ र गरिरहनु पर्छ ।

क्रान्तिकारी आन्दोलनमा लाखौँ जनता संलग्न हुन्छन् । क्रान्तिकारी काममा हजारौँ ज्यादै जटिल र कठिन कामहरू समावेश छन् । सारा जटिल परिस्थितिहरूको मूल्याङ्कन गर्न, अन्तर्विरोधलाई स्पष्टसित देख्न विभिन्न समस्याहरू ठीकसित समाधान गर्न सक्षम हुनका लागि हामीले माक्र्सवाद —लेनिनवादको अध्ययन गर्न प्रयास गर्नु पर्छ ।

यसो गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई दरिलो पार्न सक्छौं, दह्रोसित आफ्नो अडानलाई कायम राख्न सक्छौं, आफ्नो सैद्धान्तिक र राजनीतिक स्तर उठाउन सक्छौं र पार्टीद्वारा आफूलाई सुम्पिएका कामहरू पूरा गर्न सक्छौं ।

माक्र्सवाद –लेनिनवादको अध्ययन गर्नुको अर्थ त्यस भावनालाई सिक्नु हो, जुन भावनाले मानिसले सबै चीजहरूसित र आफूसित व्यवहार गर्नु पर्छ । यसको अर्थ हो हाम्रो देशको व्यावहारिक अवस्थामा रचनात्मक ढङ्गले लागू गर्नका लागि सर्वव्यापी माक्र्सवादी—लेनिनवादी सत्यहरूको अध्ययन गर्नु । हामीले कामलाई ध्यानमा राखेर अध्ययन गर्नुपर्छ । सिद्धान्तले व्यवहारसित हातमा हात मिलाएर बढ्नु पर्छ ।

तर केही कमरेडहरू माक्र्सवाद—लेनिनवाद सम्बन्धी किताबहरू कण्ठस्थ मात्र पार्छन् । तिनीहरू के सोच्छन् भने माक्र्सवाद—लेनिनवाद बारे अरूहरूले भन्दा राम्ररी उनीहरूले बुझेका छन् । तर जब व्यावहारिक समस्या सामना गर्नु पर्ने हुन्छ, तिनीहरू या त यान्त्रिक ढङ्गले काम गर्छन् या अन्योलमा पर्छन् र तिनीहरूका काम र कुराहरू मिल्दैनन् । तिनीहरू माक्र्सवादी–लेनिनवादी भावना प्राप्त गर्न खोज्दैनन् । तिनीहरू आफनो ज्ञानको प्रदर्शन मात्र गर्न चाहन्छन्, तर क्रान्तिकारी काममा त्यसलाई लागू गर्न चाँहदैनन् । यो पनि व्यक्तिवाद हो ।

व्यक्तिवादले सयौँ खतरनाक रोगहरू पैदा गर्छ । नोकरशाही, हुकुमवाद, सङ्कीर्णतावाद, मनोगतता, भ्रष्टाचार, फजुल खर्च । त्यसले आफ्ना सिकारहरूलाई कसेर बाँध्छ र तिनीहरूको आँखामा पट्टी बाँधिदिन्छ र तिनीहरूको प्रत्येक क्रियाकलाप वर्ग तथा जनताको हितप्रति चासोद्वारा निर्देशित नभईकन सम्मान र पद प्राप्त गर्ने तिनीहरूको इच्छाद्वारा निर्देशित रहन्छ ।

व्यक्तिवाद समाजवादको कठोर शत्रु हो । क्रान्तिकारीले यसलाई खतम पार्नै पर्छ ।

अहिले हाम्रो पार्टी र जनताको काम हो, उत्पादन बढाउन मितव्ययितालाई व्यवहारमा प्रयोग गर्न कोसिस गर्नु जसले गर्दा उत्तरको निर्माण गर्न सकियोस्, बिस्तारै बिस्तारै त्यसलाई समाजवादतर्फ लैजान सकियोस् र देशको पुनःएकीकरणका लागि त्यसलाई बलियो आधारमा फेर्न सकियोस् । यो ज्यादै गौरवशाली काम हो । पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरूले पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढ सङ्कल्प गरून् । यो क्रान्तिकारी उच्च गुण हो, यो क्रान्तिकारी नैतिकता हो, पार्टी र वर्ग भावना हो र यसले पार्टी, वर्ग र जनताका लागि विजयलाई सुनिश्चित पार्छ ।

क्रान्तिकारी नैतिकता आकाशबाट त्यसै झर्दैन । दिनदिनै सङ्घर्ष र प्रयत्न गरेर नै यो विकसित र दरिलो बन्छ । निलो पत्थर झैँ, जति जति पालिस लगायो उति उति यो चम्किन्छ । सुन जस्तै, जति पगाल्यो उति यो सुन शुद्ध हुन्छ ।

आफ्नो क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोत अरू के हुन सक्छ, जसले गर्दा समाजवादको निर्माण र मानव जातिको मुक्तिका लागि उचित योगदान गर्न सकियोस् ।

म दिलैदेखि के आशा गर्छु भने पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यहरू र पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताहरूले कठिन प्रयत्न र प्रगति गर्नेछन् ।क्रान्तिकारी नैतिकता
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकताको खँदिलो जग हुनु पर्छ ।
क. हो ची मिन्ह २०७४ मंसिर २९ गते शुक्रवार

Feb 18, 2018

को थिए माओ ? के हो माओवाद ?

माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो ।
- हस्तबहादुर के.सी.

“बैरीको सन्यशक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्यशक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनिहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, जसलाई कुनै पनि शक्तिले भत्काउन असम्भव छ, विल्कुलै असम्भव छ । प्रतिक्रान्तिले हामीलाई नष्ट पार्न सक्तैन, बरु हामीले नै त्यसलाई, सखाप पारि दिने छौं । क्रान्तिकारी सरकारको वरिपरि लाखौं लाख जनतालाई एकत्र गर्दै हाम्रो क्रान्तिकारी युद्धलाई फिजाउँदै हामीहरु सबै प्रतिक्रान्तिलाई सखाप पारि दिने छौं र पूरा चीनमाथि कब्जा जमाउने छौं ।”
–माओत्सेतुङ

आज डिसेम्बर २६ तारिख । आजको दिन विश्व क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको निम्ति एक ऐतिहासिक दिन हो । किन कि आजकै दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ तारिखका दिन विश्व सर्वहारावर्गका महान नेता तथा चीनीया कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको जन्म भएको थियो ।

आज चीन लगायत विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरुले कमरेड माओको १२४ औं जन्मजयन्ती बढो धुमधामका साथ मनाउन गइरहेका छन् र क.माओका योगदानहरुको रक्षा गर्ने प्रण गर्दै तथा माओद्वारा प्रतिपादिथत माओवादलाई संसार बदल्ने वैचारिक हतियारको रुपमा आत्मसात गर्ने कठिबद्धता जाहेर गरिरहेका छन् । नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले पनि आज क. माओको १२४ औं जन्मजयन्ती बढो धुमधामका साथ बनाउने तयारी गरिरहेका छन् ।

अतः कमरेड माओत्सेतुङको जन्म सन् १८९३ डिसेम्बर २६ तारिखको दिन चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाऊँ साओ साङचुङमा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो ।

कमरेड माओ विश्वसर्वहारावर्गका नेता तथा चीनीया कम्युनिष्ट पार्टीको अध्यक्ष एवं सामन्ती तथा अर्थ औैपनिवेशिक मुलुकमा गरिने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी जनवादी क्रान्तिका सिद्धान्तकार, रणनीतिज्ञ, योजनाकार एवं प्रयोगकर्ता समेत हुनुहुन्छ ।
दीर्घकालिन जनयुद्ध, छापामार युद्ध (गोरिल्ला वार), ग्रामीण इलाकाहरुमा आधार इलाकाहरुको निर्माण, गाऊ देखि शहर घेरेर केन्द्रीय राज्यसत्ता कब्जा गर्ने रणनीतिक योजनाकार र प्रयोगकर्ताको रुपमा क. माओलाई लिइन्छ ।

कमरेड माओले चीनीया समाज भित्र चलेको भीषण दुइलाइन संघर्ष र विचारधारात्मक अन्र्तसंघर्षको सफल नेतृत्व मात्रै गर्नु भएन, ती समस्या र फरक विचारहरुलाई विधिवत र पद्धतिपूर्ण तरिकाले हल गर्दै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर त्यसको नेतृत्व समेत गर्नु भयो । कमरेड माओको नेतृत्वमा सन् १९४९ अक्टुबर १ का दिन महान चीनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको घोषणा पनि स्वयम् क.माओद्वारा नै गरियो । र त्यस पछि चीन एउटा नयाँ युगमा प्रवेश ग¥यो ।

उन्नाइसौ शताब्दिको पूर्वाद्धमा अर्थात सन् १८४८ को फ्रेवरीमा दुनीयालाई बुझ्ने र त्यसलाई बदल्ने दर्शनका रुपमा माक्र्सवादको जन्म भए पछि यसले संसारभरी एउटा नयाँ तरंग पैदा ग¥यो । औद्योगिक मजदुरहरुमात्र होइन, उत्पीडनमा पर्दै आएको मानव जातिको ठूलो हिस्सामा समेत यसले अभूतपूर्ण जागरण ल्यायो ।

महान माक्र्सले आफ्ना घनिष्ट सहयोद्धा फ्रेडरिक एंगेल्सको सहयोगमा यही जागरणलाई समेट्दै सर्वहाराक्रान्तिको विज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्न खोज्नु भयो । यद्यपी माक्र्स एंगेल्स स्वयं प्रत्यक्ष रुपमा संलग्न नभएको भए पनि माक्र्सवादकै गर्भबाट जन्मेको पहिलो सर्वहारासत्ता पेरिस कम्युन अढाई महिना नपुग्दै असफलतामा टुंगियो ।

पेरिस कम्युनको असफलताको कारण खोजी गर्ने क्रममा महान माक्र्सले सर्वहारावर्गको अधिनायकत्वको अनिवार्य आवश्यकतालाई औंल्याउदै माक्र्सवादको थप विकास र संरक्षण गर्ने क्रममा महत्वपूर्ण योगदान थप्नु भयो ।

माक्र्सवादको जन्मसँगै जन्मेको संशोधनवादले पेरिस कम्युनको असफलता पछि झर्ने ठाउँको उठान थाल्यो । विशेषगरि माक्र्स र एंगेल्सको निधन पश्चात बर्नस्प्नि र काहत्स्की जस्ता संशोधनवादी गद्धारहरुले माक्र्सवादको अपव्याख्या गर्दै यसको सारतत्वमाथि आक्रमण शुरु गरेर सर्वहारा क्रान्तिको दर्शन माक्र्सवादको आत्मालाई मार्ने प्रयत्न गरे । यस प्रकारको उनिहरुको षडयन्त्र र कुकर्म लामो समयसम्म चल्न सक्ने । माक्र्स र एंगेल्सको मृत्यु भएको केही वर्ष पछाडि अर्थात २० औं शताब्दिको पहिलो दशकमा नै लेनिनले भीषण वैचारिक संघर्ष मार्फत सर्वहारावर्गको क्रान्तिकारी झण्डालाई दह्रोसँग पकड्नु भयो । लेनिनले संशोधनवाद मात्र होइन तमामखाले माक्र्सवाद विरोधि शक्तिहरुमाथि विचारको धारिलो तरवार प्रहार गर्दै माक्र्सवादको रक्षा र विकास गर्नु भयो ।

साम्राज्यवादलाई पुँजीवादको भरणासन्न अवस्थाको चित्रण गर्दै लेनिनले साम्राज्यवादको नयाँ परिभाषासमेत गर्नु भयो । र लेनिनले भन्नु भयो “आजको युग साम्राज्यवाद र विश्वसर्वहारावर्ग बीचको भीषण वर्गसंघर्षको युग हो ।”

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा मौलिक विकास गरेर लेनिनले माक्र्सवादलाई माक्र्सवाद लेनिनवादको दोस्रो र नयाँ चरणमा पु¥याउनु भयो ।

लेनिनको देहान्त पछि उहाँका सुयोग्य उत्तराधिकारी स्टालिनले माक्र्सवाद–लेनिनवादको रक्षा गर्नु भयो । तर स्टालिनको निधन भए पछि पुनः सर्वहारा शिविरमाथि संशोधनवादी प्रहार हुन थाल्यो । महान अक्टुबर क्रान्तिद्वारा आर्जन गरिएको सर्वहारासत्ता प्रतिक्रान्तिको साधन बन्न पुग्यो । ख्रुश्योवी आधुनिक संशोधनवादले गोमन सर्पले फोहोरा दिदै सोभियतसत्ता माथि भीषण आक्रमण गरेर प्रतिक्रान्तिको विजारोपन मात्रै गरेन पुँजीवादको पुनःस्थापना समेत गरायो । यसले विश्व सर्वहारावर्ग र सोभियत सर्वहारा अधिनायकत्वमाथि भीषण हमला छेड्यो । यसको असर विश्वभरका सर्वहारावर्गमाथि पर्न पुग्यो ।

स्टालिनको मृत्यु पश्चात सर्वहाराक्रान्तिको नेतृत्व गर्ने अभिभारा कमरेड माओत्सेतुङको काँधमा आयो । क. माओले चीनको विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको मौलिक प्रयोग गर्दै क्रान्ति र समाजवादको नयाँ मोडेल निर्माण गरि सर्वहाराक्रान्तिको विज्ञान माक्र्सवाद–लेनिनवादलाई तेस्रो र नयाँ चरणमा विकास गरेर माक्र्सवाद–लेनिनवादलाई माओवादको उच्चतम उचाइमा उठाउनु भयो ।
“माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो ।

सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्तालिनको मृत्युपश्चात् रुस एवम् पूर्वी युरोपका कैयौं देशहरुमा पुँजीवादको पुनःस्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो । माओवादको सार भनेको सर्वहारा साँस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्त हो ।

यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्दैनन् ।”
दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रुपमा एवं प्रकृति, समाज र मानवीय ज्ञानका सबैक्षेत्रमा द्वन्द्ववादका आधारभूत नियमका रुपमा अन्र्तविरोधको नियमको उद्घाटन माओद्वारा भएको हो । अन्तर्विरोधको नियमको सार्वभौमिकता र प्रधान अन्तर्विरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तर्विरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका स्वतः स्पष्ट छ ।

द्वन्द्वात्मक भौतिकवादका तीन नियमलाई उहाँले एउटै नियम अन्तरविरोधमा सूत्रीकरण गर्नुभयो । अथवा यसो भन्न सकिन्छ– मात्राबाट गुणमा रुपान्तरण र निषेधको निषेधलाई दुई विपरीतहरुको सङ्घर्ष र एकतामा सूत्रीकरण गरी त्यसलाई अन्तरविरोधको नियम बताउनुभयो । मात्राबाट गुणमा रुपान्तरण अन्तरविरोधको प्रकृयाबाट हुन्छ । निषेधको निषेधत हुँदै हुँदैन, बरु पुरानोको नकार र त्यसको ठाउँमा नयाँको सकार हुन्छ भनी उहाँले ठोकुवा गर्नुभएको छ । पुरानोको नकार र नयाँको सकार पनि अन्तरविरोधकै प्रकृयामा हुन्छ । पुरानो र नयाँ स्वयं विपरित हुन् ।
ज्ञान सिद्धान्तको क्षेत्रमा क. माओले वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको श्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा क. माओले गर्नु भएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्वपूर्ण योगदान पुगेको छ ।

संशोधनवादका विरुद्ध संघर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक दुइमा विभाजित हुन्छ भन्ने सम्बन्धमा क. माओद्वारा गरिएको विषद व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरुको हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।

दर्शनलाई पुस्तकालय, दार्शनिकहरुको अध्ययन र कोठे चिन्तनबाट निकालेर आमजनतासम्म पु¥याई एउटा अजय शक्तिका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकताका बारेमा माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रुपले भौतिक शक्तिमा परिणत गर्ने आधार बनेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण क. माओको एउटा महत्वपूर्ण खोजी हो । नोकरशाही पुँजीवादलाई ध्वंश गरी उनिहरुको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरुबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जगहाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको महत्व स्पष्ट । समाजवादीकालको अर्थनीतिका आधारभूत सिद्धान्तको जग मजबुद बसाउने काममा क. माओले महत्वपूर्ण भूमिका रहेको छ ।

वैज्ञानिक समाजवादको क्षेत्रमा उत्पीडित राष्ट्रहरुमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान रहेको छ । साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवका आधारमा माक्र्सवादी सैन्यविज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्त ९त्जभयचथ या एभयउभिक धबच० को विकासले अन्तरराष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यस सिद्धान्तअनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्न वैज्ञानिक विविध स्पष्ट भएको छ । ‘राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।’ भन्ने माओको केन्द्रीकृत भनाइको महत्व पनि स्वयम् स्पष्ट छ ।

समाजवादीमकालभरि वर्गसङ्घर्ष जारी रहने क. माओद्वारा विकास गरिएको सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत जारी राख्ने सिद्धान्त समाजवादी अवस्थामा पुँजीवादको पुनस्र्थापना रोक्ने एउटा मजबुत सैद्धान्तिक हतियार भएको छ ।  साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन । तथा आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गको हेरफेरबाट गुज्रनेछ, भन्ने भनाइहरुको असाधारण महत्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्याएको छ । रुसी संसोधनाद र अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा माओ आफैंले तिनीहरुको प्रयोग गर्नुभएको छ ।

यसरी दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका तीनवटै क. माओले माक्र्सवादी विज्ञानलाई गुणात्मक रुपले त्यसको नयाँ चरणमा विकास गराउनु भएको छ । त्यस अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवाद–लेनिनवाद–माओवादको एउटा हतियारको रुपमा प्राप्त गरेको छ । माओले सर्वहारावर्गको मुक्तिको लागि जनताको सेना निर्माण गर्ने अनिवार्य भएको बताउँदै दीर्घकालिन जनयुद्धको सिद्धान्त प्रतिपादन गर्नु भयो । उहाँले चीनमा समाजवाद निर्माणको नयाँ बाटो खोजी गर्नु भयो र महान सर्वहारा साँस्कृतिक क्रान्तिमार्फत निरन्तर क्रान्तिको सिद्धान्त आविष्कार गरि विश्वसर्वहारा क्रान्तिलाई संशोधनवाद विरुद्ध लड्न वैचारिक हतियार प्रदान गर्नु भयो ।
अतः घटनाक्रमहरुले शान्दार ढंगले के पुष्टि गर्दै आएको छ भनै वर्तमान विश्वमा साम्राज्यवादले खडा गरेको चुनौतीहरुको सामना गर्न सक्ने सामथ्र्ये माओवादले मात्र राख्दछ । त्यसैले माओवाद संसारभरिका दुश्मनहरुका लागि एउटा आतंकको विषय बनेको छ ।

क्रान्ति व्यवहारबाट पनि यो स्पष्ट भएको छ कि संसार बदल्ने वैचारिक हतियार माओवाद हो र यसले मात्र दुनियालाई बदल्न सक्छ । त्यसैले संसारभरका सबै रुपरंगका संशोधनवादीहरु नयाँ नयाँ पदाली प्रयोग गर्दै माओवादको सारतत्वमाथि भीषण आक्रमण गरिरहेका छन् ।
यो निश्चित कुरा हो कि सर्वहाराक्रान्तिको विज्ञान एउटा गतिशील विज्ञान हो । यो पुरोहितहरुको एउटा धार्मिक ग्रन्थ होइन । तर सधैंभरि संशोधनवादको सुरुवात ‘बदलिदो परिस्थिति र सिर्जनात्मक प्रयोग’ कै नामबाट हुने गरेको तथ्यलाई क्रान्तिकारीहरुले कहिल्यै पनि विर्सन हुदैन ।
संक्रमणकालमा क्रान्तिको रक्षा गर्नु नै विचारको रक्षा भनेको माओवादको रक्षा हुन जान्छ । यदि हामीले विचार अर्थात माओवादको रक्षा र विकास गर्न सक्यौ भने बीसौं शताब्दिका महान उथलपुथललाई दोहो¥याउन सक्ने छौं र संसार पुनः एकपटक सर्वहाराक्रान्तिको सुन्दर गर्जनले गुञ्जायमान हुनेछ ।

एकाइसौं शताब्दिको सर्वहाराक्रान्तको विज्ञान माओवादको रक्षा र विकास गर्न सक्यौं भने “आगामी ५० देखि १०० वर्षहरु महान उथलपुथलका वर्षहरु हुनेछन्” भन्ने माओको भविष्यवाणी सही सावित हुनेछ । यस महान् उथलपुथलद्वारा फेरी संसार हराभरा हुनेछ र साम्राज्यवादी चिहानमा संसारभरका शोषित, उत्पीडित जनसमुदायले एकैसाथ मुक्तिको गीत गुनगुनाउन पाउने छन् ।

नेपाल आजसम्म पनि अर्थसामन्ती नवऔपनिवेशिक अवस्थामा छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्नका लागि पहिलो चरणमा सम्पन्न गरिने महान नेपाली नयाँ जनवादी क्रान्ति बाँकी नै छ । आज नेपाली नयाँ जनवादी क्रान्ति बाँकी नै छ । आज नेपाली नयाँ जनवादी क्रान्तिका सामु दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख खतराको रुपमा खडा हुन पुगेको छ । यसले नाना प्रकार र रुपरङ्गका भ्रमहरु सिर्जना गरिरहेको छ । यसलाई परास्त नगरी महान नेपाली नयाँ जनवादी क्रान्ति असम्भव छ ।

दक्षिणपन्थी नवसंशोधनवादद्वारा नेपाली नयाँ जनवादी क्रान्तिमाथि भीषण हमला भइरहेको वर्तमान परिस्थितिमा नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले माओवादको वैचारिक हतियारलाई दह्रोसँग पकडेर आत्मसात गर्ने मात्र होइन, मलाई व्यवहारमा क्रियान्वयन गर्नु नै क्रान्तिकारी कम्युनिष्टहरुको अनिवार्य कर्तव्य बन्न पुगेको छ ।

Jan 22, 2018

माओवादबारे – क. प्रचण्ड

वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको क्रान्तिको विज्ञानको रुपमा माक्र्सवादको अनुसन्धान भयो । अनवरत सङ्घर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवाद विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अङ्ग रहेको कुरा सर्वविदितै छ ।

स्वयम् एउटा विज्ञान भएकाले माक्र्सवादको निरन्तर विकास हुनु स्वभाविक प्रक्रिया हो । वर्गसङ्घर्षका नयाँ अनुभव र समस्याहरुका सन्दर्भमा लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादमा पुर्याउने काम भयो ।

आज यो विज्ञान सङ्घर्षकै क्रममा विकासको तेस्रो, नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नयाँ र उच्च चरण माओत्सेतुङद्वारा विकास गरिएको माओवादको चरण हो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य एकाइका रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद–लेनिनवादका रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन । त्यसैले आजको विश्वको मार्क्सवाद–लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी एवम् संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।

जसरी मार्क्सवाद–लेनिनवादको स्थापना कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्ध सङ्घर्षका क्रममा भएको हो, त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम सङ्घर्षकै बिचबाट भइरहेको छ ।

हाम्रो आन्दोलनमा माओका योगदानहरुलाई आजको मार्क्सवाद–लेनिनवादका रुपमा ग्रहण गर्ने स्पिरिट हुँदाहुँदै पनि ती योगदानहरुलाई माओ विचारधारा पदावलीद्वारा अभिव्यक्त गर्ने गरिएको छ । “माओ विचारधारा आजको विश्वको मार्क्सवाद–लेनिनवाद हो” भनेर सर्वहारावर्गको सार्वभौम सिद्धान्तका रुपमा माओवादका योगदानहरुलाई स्वीकार गरेर नै हामीहरु प्रतिक्रियावाद र संशोधनवादसँग लड्दै आएका हौँ । तर, क. माओको मृत्युपश्चात चीनमा पुँजीवादको पुनस्र्थापना भएर अन्तार्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी भएपछि स्थितिमा परिवर्तन आएको छ । आज संशोधनवादी तेङ्ग मण्डलीले माओ विचारधारा शव्दको प्रयोग गरेर नै माओका क्रान्तिकारी शिक्षाहरुको आत्माको हत्या गरिरहेको छ ।

अहिले माओ विचारधारा पदावलीको प्रयोग एकातिर सुधारवादीहरुद्वारा विचारधारा शव्दको वास्तविक तौलअनुसार परिकल्पनाको अर्थमा र अर्कातिर कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सार्वभौम सिद्धान्तको अर्थमा हुने गरेको छ । यो अवस्थामा सार्वभौम सिद्धान्तलाई अभिव्यक्त गर्ने तौलसहितको वैज्ञानिक शव्द ‘वाद’ हुँदाहुँदै भ्रमपूर्ण ‘विचारधारा’ शव्दको प्रयोग गरिरहनु दक्षिणपन्थी संशोधनवादका लागि ठाउँ छोड्नबाहेक केही हुँदैन । त्यसकारण कम्युनिस्ट क्रान्तिकारीहरु जसले पहिलेदेखि नै माओ विचारधारालाई आजको मार्क्सवाद–लेनिनवादका रुपमा ग्रहण गर्दै आएका छन्, उनीहरुले सहज र दृढतापूर्वक माओवाद शव्दको प्रयोग गर्नु जरुरी छ ।

चीनमा प्रतिक्रान्ति भएपछि माओका योगदानहरुमाथि भइरहेको दक्षिणपन्थी हमलाका पृष्ठभूमिमा कैयौँ हिजोका क्रान्तिकारीहरु पनि आतङ्कित भएर विचारधारा शव्दको प्रयोग, माओका योगदानहरुको अवमूल्यन गर्ने, त्यसलाई मार्क्सवादको विकासको तेस्रो चरणका रुपमा र सार्वभौम सिद्धान्तका रुपमा स्वीकार नगर्ने अर्थमा गर्ने कोशिस भइरहेको छ । यहीँनेर समस्याको गाँठो परेको छ । यस किसिमका प्रवृतिले अन्ततः सुधारवाद संशोधनवादको दिशातिर नै डोर्याउने छ ।

यो स्थितिले गर्दा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि झनै माओवादद्वारा मार्क्सवादका तीनवटै क्षेत्रमा गरिएका विकासको व्याख्या र माओवाद शव्दकै प्रयोगको सैद्धान्तिक महत्त्व बढ्न गएको छ । त्यसकारण यहाँ कमरेड माओद्वारा दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका क्षेत्रमा गरिएका महत्त्वपूर्ण योगदानहरु जसले मार्क्सवादलाई नयाँ चरणमा पुर्याएका छन्, सोबारे संक्षिप्त चर्चा गर्न आवश्यक छ ।

(क) दर्शनको क्षेत्र
१) द्वन्द्वात्मक भौतिकवादको सारतत्त्वका रुपमा एवम् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रुपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निर्क्याैलकाे पद्धति र महत्त्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई नयाँ उचाइकामा पुर्याएको छ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्त्वपूर्ण भूमिका स्वतः स्पष्ट छ ।

२) ज्ञानको सिद्धान्तको क्षेत्रमा क. माओले वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष एवम् वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बताएर इन्द्रिय ग्राह्यज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धबारे गर्नुभएको विश्लेषणले मार्क्सवादी दर्शनमा महत्त्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।

३) संशोधनवादका विरुद्ध सङ्घर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा ‘एक दुईमा विभाजित हुन्छ’ भन्ने सम्बन्धमा गरिएको विशुद्ध व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरुका हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।

४) आधार र उपरिसंरचनाको आपसी सम्बन्धबारे अधिभूतवादी र एकलकाँटे दृष्टिकोण अपनाई ‘उत्पादक शक्तिको विकासको सिद्धान्त’ र ‘अर्थवाद’ तिर जाने संशोधनवादीहरुको पुँजीवादी सोचाइहरुमाथि प्रहार गर्दै खासखास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको व्याख्याले छद्म पुँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।

५) दर्शनलाई पुस्तकालय र दार्शनिकहरुको अध्ययन कोठाबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजेय अक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसको विधिबारे क. माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नतरुपले भौतिक शक्तिमा परिणत गर्ने आधार मिलेको छ ।

(ख) राजनीतिक अर्थशास्त्रको क्षेत्र
१) यो क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण क. माओको एउटा महत्त्वपूर्ण खोजी हो । सामन्तवादसँग साँठगाँठ गरी जनतालाई लुट्ने एकाधिकार पुँजीवादको प्रतिनिधिका रुपमा उत्पीडित राष्ट्रहरुमा नोकरशाही पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा अर्कातिर उत्पीडित राष्ट्रहरुमा क्रान्तिको निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरी उनीहरुको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरुबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्त्व स्पष्ट छ ।

२) समाजवादी कालको अर्थनीतिका आधारभूत सिद्धान्त (सोभियत सङ्घका अनुभवहरुको आलोचनात्मक अध्ययनसहित) को मजबुत जग बसाउने काममा क. माओको महत्त्वपूर्ण भूमिका रहेको छ । नोकरशाही आदेशद्वारा होइन, (सही अर्थनीतिको व्यापक प्रचारद्वारा) जनताको पहलकदमीमा बृद्धि गरेर नै समाजवादी अर्थ व्यवस्थालाई मजबुत किसिमले विकास गर्न सकिन्छ भनी “क्रान्तिलाई दह्रोसँग पक्ड, उत्पादन बढाऊ (Grasp revolution and promote production) ” तथा “लाल र निपुण (Red & Expert)” को नाराको क्रान्तिकारी महत्त्व स्पष्ट नै छ ।

३) नयाँ जनवादी क्रान्तिका सन्दर्भमा ‘जमिन जोत्नेको’ आधारमा सामन्तहरुलाई ध्वंस गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवम् घरेलु आर्थिक निगमहरुलाई कब्जा गर्ने, जनजीवनलाई नियन्त्रण नगर्ने गरी व्यक्तिगत पुँजीलाई सीमित, नियन्त्रित र निर्देशित गर्ने, अर्थनीतिहरुको वैज्ञानिकता स्वयम् जीवनद्वारा प्रमाणित भइसकेका छन् ।

उपयुक्त तथ्यहरुले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।

(ग) वैज्ञानिक समाजवादको क्षेत्र
१) उत्पीडित राष्ट्रहरुमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ ।

२) साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवका आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्च शिखर जनयुद्धको सिद्धान्त (Theory of the peoples’ war) को विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाईएउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यो सिद्धान्तअनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्ने वैज्ञानिक विधि स्पष्ट भएको छ । “राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ” भन्ने माओको केन्द्रीकृत भनाइको महत्त्व पनि स्वयम् स्पष्ट छ ।

३) समाजवादी कालभरी वर्गसङ्घर्ष जारी रहने र त्यससम्बन्धमा सोभियत सङ्घको प्रतिक्रान्तिमाथि ध्यान दिँदै क. माओद्वारा विकास गरिएको सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत क्रान्तिलाई जारी राख्ने सिद्धान्त समाजवादी अवस्थामा पुँजीवादको पुनस्र्थापना रोक्ने एउटा मजबुत सैद्धान्तिक हतियार भएको छ । सर्वहारावर्गको नेतृत्वमा चलाइएको तेस्रो महान् क्रान्तिका रुपमा चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहारावर्गका लागि ऐतिहासिक दिशानिर्देश बनेको छ ।

४) “साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन्” तथा “आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गका हेरफेरबाट गुज्रनेछ” भन्ने भनाइहरुको असाधारण महत्त्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्याएको छ । रुसी संशोधनवाद र अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा माओ आफैले तिनीहरुको प्रयोग गर्नुभएको छ ।

यसरी दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रको समग्रतामा क. माओले मार्क्सवादी विज्ञानलाई गुणात्मक रुपले त्यसको नयाँ चरणमा विकास गराउनु भएको छ । त्यो अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई मार्क्सवाद–लेनिनवाद–माओवादको एउटा सिङ्गो हतियारको रुपमा प्राप्त गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा माओवाद पदावलीको प्रयोगको विरोधमा माओका योगदानहरुको अवमूल्यन गर्ने कोणबाट पनि तर्कहरु आइरहेका छन्, जसको खण्डन नगरी अगाडि बढ्न सम्भव छैन, मुख्यतः ती निम्न छन्:

१) “युगको सिद्धान्त”
कतिपय मानिसहरु ‘वाद’ हुनका लागि एउटा सिङ्गो युगको प्रतिनिधित्व गरेको हुनुपर्दछ भन्दछन् । उनीहरुका भनाइअनुसार मार्क्सवाद पुँजीवादी युगको उपज हो । लेनिनवाद साम्राज्यवादी युगको उपज हो, तर माओको त कुनै नयाँ युग छैन, त्यसकारण माओवाद हुन सक्तैन आदि ।

यसप्रकारका तर्क गर्नेहरुले न सामान्य विज्ञानको नियम र विकास प्रक्रियालाई बुझ्न सकेका छन् न मार्क्सवादलाई नै विज्ञानका रुपमा ग्रहण गरेका छन् । विज्ञानको विकासलाई युगको विकासको गतिसँग कैद गर्न खोज्नु सर्वथा अवैज्ञानिक र हास्यास्पद कुरा हो । एउटै युगमा विज्ञानले कैयौँ चरणमा विकास गर्न सक्दछ । यदि युगकै कुरा गर्ने हो भने समाज विकासका दृष्टिले साम्राज्यवाद पनि कुनै नयाँ युग नभएर पुँजीवादकै उच्चतम् र मरणासन्न अवस्था मात्र हो । त्यसकारण लेनिनवाद पनि भन्न भएन । यसरी युगको तर्क तेस्र्याउनेहरुको दिवालीयापन स्पष्ट छ ।

२) कतिपय मानिसहरुले माओका खास कुनै मौलिक खोजहरु छैनन् । त्यसकारण माओवाद शव्दको प्रयोग गर्न हुँदैन भन्दछन् । उनीहरुका अनुसार माओले भनेका सबै कुराहरु लेनिनले पहिले नै भनिसक्नुभएको थियो । विचारधारा शव्दको प्रयोगलाई समर्थन गर्नेहरुले नै यस प्रकारको तर्क गर्नुले झन् स्थिति गम्भीर बन्छ ।

यस प्रकारका तर्क गर्नेहरुले माओ विचारधारालाई पनि परित्याग गर्ने र दक्षिणपन्थी अवसरवादतिर जाने दिशा पक्रेको कुरामा शंका छैन । माओका योगदानहरु बारे त माथि नै संक्षिप्त चर्चा भइसकेको छ । तर, यहाँ प्रश्न उठ्छ यदि त्यसरी नै तर्क गर्ने हो भने त लेनिनले पनि नयाँ सन्दर्भमा मार्क्सवादको व्याख्या मात्र गरेका हुन्, किन नभन्ने ? यस किसिमको तर्क गर्नेहरुले फेरि किन माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेका छन् ? सोझै लाग्दछ – जनतालाई भ्रम दिन मात्र । यदि त्यसो नभए या त माओ विचारधारा शव्दलाई पार्टीले पथप्रदर्शक सिद्धान्तका रुपमा अस्वीकार गर्नुपर्ने हुन्छ या माओका योगदानहरुको अवमूल्यन गर्ने काम बन्द गर्नुपर्दछ ।

३) कतिपय मानिसहरुले हतारिएर माओवाद भन्नुहुँदैन, यति ठूलो विषयमा हामीले बोलेर कसैले सुन्दैन र त्यो शव्द स्थापित पनि हुन सक्दैन, फेरि यसले अनावश्यक विवाद मात्र चर्कन्छ भन्ने जस्ता तर्कहरु पनि गरेको पाइन्छ । यस ढङ्गको तर्क गर्ने कयौँको नियतमा इमान्दारिता भए पनि स्वयम् यी तर्कहरु मार्क्सवादी पद्धति अनुकूल छैनन् ।

यहाँ प्रश्न सही र गलतको हो, हतारिने र नहतारिने होइन । त्यसप्रकारका तर्क अन्ततः अनावश्यक सम्झौतातिर डोर्याउने तथा भ्रमलाई कायम राख्ने काम मात्र गर्ने भएकोले गलत छन् । अन्तमा, संशोधनवादका विरुद्धको सङ्घर्षलाई उच्च स्तरमा संचालन गर्ने नयाँ ढङ्गको लडाकु कम्युनिस्ट पार्टीको विकासको प्रक्रियालाई तेज पार्न, क्रान्तिकारी सङ्घर्ष र जनयुद्धको विकासको कामलाई नयाँ गति प्रदान गर्न भ्रमपूर्ण माओ विचारधारा शव्द होइन, स्पष्ट वैज्ञानिक शव्द माओवादको प्रयोग नितान्त जरुरी छ ।

Jul 28, 2017

भूमी, राजनीति र माओवादी

नेपालमा किसान अान्दाेलन र राजनीतिक पार्टीका समस्याबारे गरिएकाे उत्कृष्ट विश्लेषण।
- नरेन्द्रजंग पिटर

आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका। आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन। भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन्। कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ। त्यहाँ त खास मन्त्री ‘एफएओ’ पो बनेको छ। मौलिक बिउविजन नस्ट भएका छन्। यहाँका उम्दा वस्तु अन्य देशले ‘पेटेन्ट राइट’ गरिसकेका छन् तर नीति निर्माताहरुलाई यो-छु मतलब?
जोताहा किसानहरु, सुकुम्वासी र जमिनपतिहरुले अहिले माओवादी र अन्यदलहरुसँग जमिनप्रतिको स्पष्ट धारणा मागेका छन्। जमिनसँग जोडिएका अनेकौ प्रश्न, धारणा र त्यसप्रति लिइने दृष्टिकोण र खेलिने भूमिकाले संसारभरकै मान्छेलाई माटोसँग जाडिएको छ कि अर्काको कमाईमा जीवन धान्छ भन्ने कुरा अहम् मात्रै हैन। अझ भूराजनीतिले नै सत्ता राजनीति तय गरिरहेको पनि हुन्छ। जहिले पनि परिवर्तनको मूलमर्म जमिनप्रति लिइने दृष्टिकोण र लगावले नै ऊ कुन कित्तामा उभिएको छ भन्ने हो।
जनयुद्धबाट माओवादी भिन्न मोर्चामा आउनासाथ जमिनप्रति अनेकौं बहस, भिन्न सोच र कोणको विकास भयो। तर, त्यो बहसले भने निरन्तरता पाएन। राजनीतिका केन्द्रीय एजेण्डामै बहसहरु पनि केन्द्रित हुन्छन् वा गराईन्छ। जहाँ आन्दोलन हुँदैन्, त्यहाँ बहसहरु या त वौद्धिककर्ममा सीमित हुन्छन् वा एनजिओ खेतीमा। सत्ता परिवर्तन नभएको र सरकार मात्र फेरिएको अवस्थामा सोच र वर्ग पक्षधरताका आधारमा जसले जे सोच्यो त्यस्तै व्याख्या गर्ने नै भयो। कृषिप्रधान देशमा जहिले पनि भूमी सम्बन्धीको प्रश्न नै मुख्य बहसको विषय बन्ने गर्छ। त्यसैले जमिनसँग जोडिएकाहरुलाई तरङ्गित पार्छ नै। देशको प्रमुख आर्थिक स्रोत र श्रम कृषिमा नै आधारित छ त! प्रस्तुत लेख भने इतिहासको कसीमा किसान सङ्घर्ष, सुकुम्वासी र जनयुद्धकालमा कब्जा गरिएका जग्गाहरु र माओवादीले लिएको धारणाको पेरिफेरिमै रहनेछ।
राजनीतिक पार्टीहरुमा जमिनप्रतिको धारणा र भूमिका स्पष्ट छैन्। रुपमा व्यक्त भएको विषय अनेकौ भए पनि हुने र देखिने विषय भिन्नाभिन्नै छन्। त्यो हो राज्यसत्ताको चरित्रमा फेरबदल आउँदा पनि कृषि, जमिन, किसान वा सुकुम्वासीप्रतिको राज्यको धारणा भने यथास्थिति नै रहनु। राज्य र सरोकारवाला सामने यथास्थितिलाई नै स्वीकार गर्ने कि अग्रगमन पछ्याउने भन्ने मूल विषय नभएकाले पनि स्पष्ट दृष्टिकोण नबनेको हो। राज्यको पुनर्संरचना र शासकीय स्वरुप, सत्ता चरित्रको सनातनी निरन्तरता वा हेरफेर मुख्य विषय बन्दा पहिलो कोटीमा किसान पर्नुपर्ने हो, तर परेनन्।
रुपमै नदेखिए पनि अहिले वर्गहरु बीच शान्तिपूर्ण टसल र टकराहट अत्यन्तै बढेको छ। परिवर्तनको अपेक्षा अनुसार दलहरुले के कुरालाई मूख्य विषय बनाउँदै केलाई जोडदिने र केलाई ध्यान पुर्याउने भन्ने ख्याल गर्न सकेका छैनन्। त्यसको मुख्य कारण वर्गचिन्तन र सकृयता नै हो। तर, सतहमा जमिनकै विषय रहेको छ।
इतिहास पढौं। राणाकालसम्म सामन्ती सत्ताको निरन्तरता दिन स्थानिय शासक सामन्त पैदा गर्नु र उनीहरुकै जगमा केन्द्रीय सत्ताको निरन्तरता दिनु सत्ता संस्कृति हुन्थ्यो। जङ्गल र भन्सारसम्म ठेक्कामा चल्नेबेलामा जमिनीसत्ता विर्तावाल, जमिन्दार, पट्वारी जिम्मुवाल, मुखिया, तालुकदारको व्यवस्था गरेको थियो। किपट, खान्की, कूत, ठेकी, झारा, विर्ता, बक्सिस आदि प्रथा चलेका थिए। जिम्मुवाल वा जिम्दारहरुलाई पञ्चखत वाहेकको अन्य शासकीय दण्डाधिकार समेत हुन्थ्यो। राणाकालमै किसान सङ्घर्ष उठे। आछामका बलदेव शाही बाँकावीरको जंगबहादुर राणालाई झारा तिर्न हाकाहाकी अस्वीकार गरेपछि भएको किसान विद्रोह नै नेपालको पहिलो लिखत इतिहास हो। विक्रमीको सुरुमै “जो जोतेगा सो खाएगा” भन्ने नारासाथ लोकाभार किसान विद्रोह (स्यूराजदेखि महाकालीको तिरसम्म) नेपाली कांग्रेसको पश्चिमको जनआधार बन्यो। बावुकृष्ण शर्माले किसान नेता मुलायम वेहना र राधाकृष्ण थारुसँग हातेमालो गरेर उत्तमरामजी थारु र जोगारामजी थारुको सहयोगमा नयाँ मुलुकलाई जुरुक्क उचाले। कांग्रेस पार्टी नभई त्यसबेला आन्दोलन बन्यो। मूलनारा र सङ्गठनको आधार किसान बने तर नेताहरु भने टाठाबाठा जमीनपति बने। तब २००७ सालको परिवर्तन पछाडि मध्य तराईमा “रे नही जी कहो” आन्दोलनले बारा, पर्सा र रौतहटमा सामन्त जिम्दार र त्यसको आधारमा टिकेको सत्ता हल्लाइदियो।
भिमदत्त पन्तको किसान विद्रोहले सुदुरपश्चिममा उथुलपुथुल ल्यायोे भने कामी बुढाको विद्रोहले कर्णाली प्रदेशले नयाँ सपना देख्यो। भिमविद्रोह दबाउन त भारत-नेपालका संयुक्त सेना नै परिचालन गर्नुपर्यो। हेमे-बेसारे विद्रोहले पाल्पा-गुल्मी अर्घाखाँचीमा जागरण ल्यायो। जब किसान जागे तब बिर्ता उन्मुलन विषय कांग्रेसको एजेण्डामा पर्यो। त्यही नै एउटा कारण पहिलो निर्वाचित सरकार राजशाही ‘सैनिक कू’ मा पर्यो। २०२१ सालको भूमिसुधार राजा महेन्द्रले २०१६ सालमा विपीले ल्याएको विर्ता उन्मुलनको प्रतिकृृयाको प्रगतिशील देखाउने नाटक मात्र थियो। जग्गाको हकवन्दी तोकिए पनि व्यवहारिक रुप लिन भने पाएन। तब पनि अनिवार्य वचत विरोधी आन्दोलन (विषेष गरेर नवलपरासी, रुपन्देही र कपिलवस्तु अजगरा), झापा किसान विद्रोह, लुम्बिनी अञ्चलको किसान आन्दोलन, सिराहा धनुषाका कमलामाई किसान आन्दोलनहरु, जुटपानी, जुगेडी सङ्र्घषहरु जस्ता शीर्षकले किसानहरुको जमिनप्रतिको मोह र परिवर्तनवादी शक्तिहरुले सो विद्रोहलाई जनआन्दोलन बनाउने शीर्षक पाए। जबसम्म आन्दोलनलाई माओवादीले जमिनसँग जोडेन् तबसम्म जनयुद्ध तीब्रतामा बढेको पनि थिएन।
जमिनको लालसा मानवीय अगस्ती भोक नै हो। कागजी जमिनपतिको मोहमा जोताहा किसान र सुकुम्वासी चारैतर्फ जमिनप्रति र्‍याल काढ्नेहरुमा आलिसान महलमा विराजमान गर्ने अभिजात हुन् या धुलोमाटोसँग पौठाजोरी खेल्ने धर्तीपुत्र-पुत्रीहरु। सत्ताको जमिनचिन्तनले सत्ताचरित्र र पक्षधारिता प्रष्ट्याउँछ। विगतमा सुकुम्वासी समस्या निराकरण आयोग बन्ने र तीनीहरुले रोगको दिर्घकालिन उपचार गर्नुभन्दा नी जमिन-राजनीतिमा केन्द्रित हुँदै लालपुर्जाको व्यवसाय र भोट केन्द्रित राजनीति मात्र हुँदै आयो। जोताहा भूमिहीन किसान र सुकुम्वासीहरु राजनीतिक दलहरुलाई या त लोकप्रिय आन्दोलन नाराका बने या त किसान र सुकुम्वासीको विषयलाई घनिभूत तरिकाले उठाउनु भनेको माओवादीको मात्र जिम्वेवारी हो भन्ने व्यवहारले देखायो। तर, अहिले किसान समस्या अरु पार्टी जस्तै माओवादी घटकका आन्दोलनका एजेण्डा भने रहिरहेनन्। के किसान आन्दोलन भनेका सरकारमा चढ्ने बैशाखी मात्र हुन् त? प्रश्न उठ्न थाले।
अहिले भूमिहीन जोतहा किसान र सुकुम्वासीहरुको समस्यालाई हेर्ने कांग्रेस र एमालेको मात्रै हैन माओवादीको पनि स्पष्ट दृष्टिकोण छैन्। मधेशीदलहरुका नेतृत्वमा अधिकांश कूलीन, अभिजातहरु भएकाले पनि किसानभन्दा जमिनपतिहरुको हित मात्रै वकालत गर्ने भए। कूलीन, उपल्लोजातिका नेतृत्व भएकाले जमिनसँगको विषयभन्दा पनि जातीय विषय उरालेर भूमीहीन किसानहरुलाई आवेग भर्दै सत्ता हिस्सेदारी बढाउने खेल भए।
माओवादी वा अन्य पार्टीहरु पनि भूमीहीन, जोताहा किसान र सुकुम्वासीलाई नचिढ्याउँदै पाल्सी कुरामा जमीनपतिको पक्ष लिनु अहिलेको राजनीतिक विवशता हो। विगतमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यको भूमीसुधार मन्त्रीबाट पजनी होस् या एमाले नेता केशव बडाल आयोगको सिफारिस रद्दीको टोकरीमा फ्याकिनु वा हरिबोल गजुरेल आयोग प्रतिवेदन कुहिनुमा यसैका कारण हुन। गजुरेल आयोगका सिफारिस कार्यान्वयन नहुनुका कारण नेपाली सत्ता चरित्र बुझे पुग्छ।
सुकुम्वासीहरुबारे चर्चा गर्दा भने नेपालमा दुई प्रकारका सुकुम्वासी छन्। तिनीहरुको सम्वोधन पनि भिन्नाभिन्नै प्रकारले मात्र हुन सक्छ। एउटा पक्ष कृषि पेशामा आधारित सुकुम्वासी छन भने अर्काे सहरिया वा सहरोन्मुख घरवारविहीनहरु। पहिलो पंक्तिलाई जमिनसँग जोडिएको रोजगारमूलक वा सामूहिक स्वमित्वमा रहने कृषियोग्य जमिन हुनसक्छ। दोस्रो पक्षलाई रोजगारीको ग्यारेन्टी हुनुपर्दछ। रोजगारीको ग्यारेन्टीका लागि सामूहिक जमानीमा रोजगारमूलक कामका लागि ऋणको सहुलियत व्यवस्था। जमिन बढ्ने छैन तर जमिनको भोक भने कहिल्यै मान्छेले अघाउँदैन।
माक्र्सकै भाषामा समूह, उपसमूह, अनेकौं आर्थिक वर्गमा विभाजित किसान समूह भनेको देख्दा यो समूह देखिए पनि वर्ग भने नभएर एकबोरा आलु जस्तो हो। बोरामा रहँदा एकबोरा आलु हुन्छ। बोरा खोलेपछि साना, ठूला मझ्यौला। सत्ता बैरो हुन्छ र भूपतिको कब्जामा रहन्छ। वर्गहरुमा हेरफेर भइरहेछ र श्रमजीवीहरुका स्वभाव र श्रमका क्षेत्र पनि हेरफेर भइरहेका छन्। एकातर्फ जमिनको मोह घटेको छैन अर्कातर्फी बाँझो जमिन पनि त्यतिकै बढ्दो छ। जबसम्म राज्यले दिर्घकालीक महत्वको भूमी सम्बन्धी र किसानबारे स्पष्ट धारणा ल्याउदैन र निर्मम कार्यान्वयन गर्दैन, तबसम्म किसान समस्या र भूमी टसल भने भइरहन्छ। जबसम्म हाम्रो जस्तो देशमा किसान समस्या आन्दोलन बन्न सक्दैन्, तबसम्म त्यसको हल पनि निक्लदैन।
आखिर माओवादी नेतृत्वले तत्कालीन अवस्थामा भूमीप्रति के सोचेको छ त भन्ने अहम् विषय हो। अहिले आमूल परिवर्तन र जमिनको राष्ट्रियकरण गर्ने भन्ने उसको एजेण्डामा छैन। हुन पनि सक्दैन। तत्कालीन अवस्थासम्ममा माओवादीले सार्वजनिक गरेको र अन्य दलहरुसँगको सहमति भनेको जबसम्म स्थायी धारणा बनाउन सकिदैन तबसम्म जनयुद्ध कालमा स्वामित्व खोसिएका जमिनमाथिको मालिकाना हक जमिनपतिलाई फिर्ता गर्ने तर जोताहा किसानलाई जमिनबाट विस्थापित गर्न नपाइने थियो। तबसम्मको जमिनको किनबेचमाथि सरकार र सरोकारवालाहरु बीच रोक्का गरेर जमिनको खण्डिकरण गर्नबाट रोक्नु थियो। जमिनसँग जोडिएको बहुकोणीय नियम कानुन भूमीसुधार मन्त्रालयले ल्याउनुपर्छ भन्ने थियो। अब ती सबै बहसहीन विषय बने। अधिकारको रक्षक माओवादीलाई नै अन्यन्त्र र अन्य विषय प्रमुख बने।
द्वन्द्वलाई शान्तिमा फेर्न वास्तविक किसानको भूमीअधिकार सुरक्षित हुनपर्दछ नै। गम्भीर विषयलाई घर्काउँदै पन्छाएर तर्दथवादी नीतिमै अल्झिनुले द्वन्द्वको न्यूनिकरण गर्दैन बरु सुशुप्त अवस्था त्यो जहिले पनि विष्फोट हुन सक्छ।
जमिनको लालसा मानवीय अगस्ती भोक नै हो। कागजी जमिनपतिक मोहमा जोताहा किसान र सुकुम्वासी चारैतर्फ जमिनप्रति र्‍याल काढ्नेहरुमा आलिसान महलमा विराजमान गर्ने अभिजात हुन् या धुलोमाटोसँग पौठाजोरी खेल्ने धर्तीपुत्र-पुत्रीहरु। सत्ताको जमिनचिन्तन सत्ताचरित्र र पक्षधारिता प्रष्ट्याउँछ।
माओवादी वा अन्य पार्टीहरु पनि भूमीहीन, जोताहा किसान र सुकुम्वासील नचिढ्याउँदै पाल्सी कुरामा जमीनपतिक पक्ष लिनु अहिलेको राजनीतिक विवशता हो। विगतमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यको भूमीसुधार मन्त्रीबाट पजनी होस् या एमाले नेता केशव बडाल आयोगको सिफारिस रद्दीको टोकरीमा फ्याकिनु वा हरिबोल गजुरेल आयोग प्रतिवेदन कुहिनुमा यसैका कारण हुन। जमिनसँग जोडिएको बहुकोणीय नियम कानुन भूमीसुधार मन्त्रालयले ल्याउनुपर्छ भन्ने थियो। अब ती सबै बहसहीन विषय बने। अधिकारको रक्षक माओवादीलाई नै अन्यन्त्र र अन्य विषय प्रमुख बने।
द्वन्द्वलाई शान्तिमा फेर्न वास्तविक किसानको भूमीअधिकार सुरक्षित हुनपर्दछ नै। गम्भीर विषयलाई घर्काउँदै पन्छाएर तर्दथवादी नीतिमै अल्झिनुले द्वन्द्वको न्यूनिकरण गर्दैन बरु सुशुप्त अवस्था त्यो जहिले पनि विष्फोट हुन सक्छ।
जमिनको लालसा मानवीय अगस्ती भोक नै हो। कागजी जमिनपतिक मोहमा जोताहा किसान र सुकुम्वासी चारैतर्फ जमिनप्रति र्‍याल काढ्नेहरुमा आलिसान महलमा विराजमान गर्ने अभिजात हुन् या धुलोमाटोसँग पौठाजोरी खेल्ने धर्तीपुत्र-पुत्रीहरु। सत्ताको जमिनचिन्तन सत्ताचरित्र र पक्षधारिता प्रष्ट्याउँछ।
माओवादी वा अन्य पार्टीहरु पनि भूमीहीन, जोताहा किसान र सुकुम्वासील नचिढ्याउँदै पाल्सी कुरामा जमीनपतिक पक्ष लिनु अहिलेको राजनीतिक विवशता हो। विगतमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यको भूमीसुधार मन्त्रीबाट पजनी होस् या एमाले नेता केशव बडाल आयोगको सिफारिस रद्दीको टोकरीमा फ्याकिनु वा हरिबोल गजुरेल आयोग प्रतिवेदन कुहिनुमा यसैका कारण हुन्।

May 21, 2017

मार्क्सवाद ठोस वस्तुको ठोस विश्लेषण हो:

लेनिनवाद भनेको मार्क्सवादको निरन्तरता होइन, बरु मार्क्सवादबाट क्रमभंगता हो । रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ मा भएको सत्तापलट सामाजिक क्रान्तिको प्रतिफल नभएर सत्तामा पुग्न आतुर एउटा सानो षड्यन्त्रकारी झुण्डले गरेको ‘कु’ मात्र हो । त्यही आतुरीले गर्दा बोल्सेभिकहरुले पुँजीवादी लोकतान्त्रिक क्रान्तिका लागि मात्र तयार भएको रुसमा तात्कालिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको फाइदा उठाउँदै समाजवादी क्रान्तिको नाटक मंचन गरे । त्यसवखत बोल्सेभिकहरुले लिएका केही कार्यनीतिको आलोचना गर्दै रोजा लक्जम्बर्गले लेखेका शब्दहरुलाई आफ्नो आवश्यकता अनुसार उधारो लिएर लेनिनमाथि प्रहार गर्ने गरिन्छ । रोजा र लेनिनलाई दुई विपरित ध्रुवमा विभाजित गरिन्छ र भनिन्छ, ‘यी हुन् माक्र्सवादी रोजा, ऊ ती लेनिनवादी लेनिन । रोजा निकै लोकतन्त्रवादी, ती लेनिन कठोर अधिनायकवादी । लेनिनलाई छोड, रोजाको विचारलाई समात ।’ यही कुरा माक्र्सका रचनाहरुमाथि पनि लागु हुन्छन् । झन् मार्क्सलाई त कहिले बुद्ध, त कहिले एक स्वैर कल्पनावादी युटोपियनका रूपमा प्रस्तुत गरिन्छ । यी सबै प्रसंग र त्यसका साथै बीसौं शताब्दीका दुई होनहार मार्क्सवादीहरु– रोजा लक्जम्बर्ग र लेनिनले एकअर्कालाई कुन नजरले हेर्ने गर्थे र धेरै गैर लेनिनवादी माक्र्सवादीहरुको अपव्याख्याका विपरित कसरी यी दुई एकअकर्काका धेरै नजिक थिए भन्ने तथ्यलाई यहाँ ऐतिहासिक सन्दर्भ सहित खुलाउने प्रयत्न गरिएको छ । यस क्रममा लेनिन र रोजाका विभिन्न किताब र निबन्धबाट प्रशस्त उद्धरण पनि गरिएको छ ।
भ्लादिमिर इल्यीच उलिआनोभ ‘लेनिन’ र रोजा लक्जम्बर्गको पहिलो भेट सन् १९०१ मा भएपनि एकअर्कालाई चिन्ने मौका भने १९०५–१९०६ को रुस तथा युरोपभरी चलेका विभिन्न मजदुर संघर्षहरुका बेलामात्र पाएका थिए । आपसी सौहार्दतामा आधारित यी दुईको मित्रता त्यसैबेला सुरु भएपनि उनीहरुबीचको सम्बन्ध सधैँ उतारचढावपूर्ण नै रह्यो । तर विभिन्न विषयमा मतान्तरका कारण यी दुईबीच चलेको बौद्धिक संघर्षका बाबजूद पनि आपसी सम्मान सधैँ नै रही रह्यो । युरोपेली माक्र्सवादी मंचमा केही प्रश्नहरुमा मतविभाजन रहे पनि यी दुवैलाई क्रान्तिकारी माक्र्सवादले सधैँ नै जोडीरह्यो ।
पार्टी संगठनबारे प्रश्न
लेनिनको पार्टी संगठनबारेको धारणालाई लिएर रोजा लक्जम्बर्गको मत सधैँ एउटै रहेन । बदलिएको परिस्थितिअनुसार कहिले उनले त्यसको विरोध गरिन् त कहिले मेन्सेभिकहरुका विरुद्ध त्यसको बचाउ गरिन् । रोजा आबद्ध रहेको जर्मन सामाजिक जनवादी पार्टी, मजदुर आन्दोलनभित्र रहेका विभिन्न विचारसमूह र संगठनहरुका साझा पार्टीको रूपमा विकसित भएको थियो । यस पार्टीभित्र मजदुर आन्दोलनभित्रको दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्ने सुधारवादका पिता भनेर चिनिने एडुअर्ड बर्नस्टिन पनि थिए, क्रान्तिकारी वामविचारको प्रतिनिधित्व गर्ने रोजा पनि थिइन् भने कुनैबेला ‘माक्र्सवादका पोप’ भनेर चिनिने र लेनिन र लक्जम्बर्ग दुवैको कुनैबेलाका गुरु, मध्यपन्थी कार्ल कउत्स्की पनि थिए । स्वयं माकर््स र एंगेल्सले यस्तो प्रकारको ‘मास’ पार्टीको अवधारणाबारे लेखेका थिए । माकर््स आफैंले यो अवधारणाले मूर्त रुप लिएको देख्न त पाएनन् तर एंगेल्सले भने आफ्नो जीवनकालमै जर्मन मजदुर पार्टीको जन्म देख्न पाए र केही हदसम्म त्यसलाई हुर्काए पनि । तर के सत्य हो भने उनको उद्देश्य पार्टीलाई विभिन्न विचार बोक्ने समूहहरुको क्लबमात्र बनाउने थिएन । उनको (र मार्क्सको पनि) प्रमुख जोड सर्वहारा वर्गको पार्टीको अन्य बुर्जुवा पार्टीबाट पूर्ण राजनीतिक स्वतन्त्रता कायम गर्नु थियो र पार्टीभित्रकै विभिन्न अवसरवादी, सुधारवादी तथा उग्रवामपन्थी भड्कावहरुका विरुद्ध निरन्तर संघर्ष चलाउनु पनि थियो । चाहे त्यो संघर्षले पार्टी फुट किन ननिम्त्याओस् ।
जर्मन मजदुर आन्दोलन त्यसबेला यूरोपकै सबैभन्दा विशाल आन्दोलन थियो । जर्मन सामाजिक जनवादी पार्टी र विभिन्न ट्रेड युनियनहरुमा लाखौं मजदुरहरु संगठित थिए भने जर्मन संसदमा पनि पार्टीको गतिलो उपस्थिति थियो । उनीहरु दिनप्रतिदिन प्रभावशाली बन्दै थिए । फलस्वरूप, अन्तराष्ट्रिय र मुख्यतः युरोपेली मार्क्सवादी आन्दोलनभित्र उनीहरुको ठूलो प्रभाव रह्यो । रुसका मार्क्सवादीहरु पनि जर्मन सामाजिक जनवादी पार्टी र तिनको संगठात्मक सिद्धान्तलाई आफ्नो आदर्श मान्दथे । तर जर्मनी र रुसका राजनीतिक परिस्थिति ज्यादै फरक थियो । जर्मनीमा खुला रूपमा राजनीतिक प्रतिष्पर्धा गर्न त्यहाँका मार्क्सवादीहरुलाई खासै रोकटोक थिएन । तर रुसमा जारशाहीतन्त्र थियो । त्यहाँ मार्क्सवादी लगायत अन्य उदारवादी पार्टीहरुलाई खुला रूपमा काम गर्ने अवस्था थिएन । सन् १९०५ को क्रान्तिपश्चात् गठन गरिएको प्रतिनिधि सभा ‘दुमा’मा उपस्थितिको लागि राखिएका शर्तहरुले लोकतान्त्रिक प्रतिनिधित्वको ढोकामार्फत प्रवेश गर्न पार्टीहरुलाई त्यति सजिलो थिएन र त्यहाँ ट्रेड युनियनहरुमाथि पनि बन्देज लगाइएको थियो । जारशाही सेन्सर तथा खुफिया पुलिसहरुलाई छलेर केवल भूमिगत रूपमा मात्र राजनीतिक गतिविधि संचालन गर्ने अवस्था थियो । त्यही अवस्थामा लेनिनले सन् १९०२ मा आफ्नो कृति ‘अब के गर्ने ?’ (ह्वाट इज टु बी डन) मार्फत सर्वहारावर्गको भ्यानगार्ड, पेशेवर क्रान्तिकारीहरुको नेतृत्वमा आधारित पार्टी ढाँचा तथा रुसी सामाजिक जनवादी मजदुर पार्टीभित्र बोल्सेभिक र मेन्सेभिकहरुका गुटगत विभाजनबारे आफ्ना मत राखे । रोजाले त्यसको तिखो आलोचना गरिन् ।
रोजाका अनुसार लेनिनको अवधारणाले ‘उग्र केन्द्रीयता र अधिनायकवादी’ नेतृत्वको जन्म दिने थियो र क्रान्तिकारी शुद्धताको नाममा त्यसले बोल्सेभिक गुटलाई एउटा सानो काम नलाग्ने समूहमा सीमित गर्ने थियो । आमहड्ताल, पहिलो रुसी क्रान्ति, साम्राज्यवाद, विश्वयुद्ध, सुधारवादविरुद्धको संघर्ष लगायत प्रश्नमा लेनिन र रोजाको मत एकै थियो । राजनीतिक र सैद्धान्तिक रूपमा अवसरवाद विरुद्धको संघर्षमा पनि यी दुवैको विचार मिल्थ्यो । दुईबीच मतान्तर कहाँ थियो भने अवसरवाद विरुद्धको संघर्षलाई पार्टीभित्रै बौद्धिक संघर्षको रूपमा संचालन गर्ने कि संगठनात्मक स्तरमा त्यसको समाधान खोजिने ? रोजा पछिल्लो मतको विरुद्धमा थिइन् । किनकि उनका लागि बोल्सेभिकहरुले भनेजस्तो मजदुर आन्दोलनमा पार्टी संगठनको केन्द्रीय भूमिका अतिरन्जित थियो । उनका अनुसार मजदुर आन्दोलनको उठानको निम्ति सबैभन्दा केन्द्रीय प्रश्न मजदुरहरुको स्वस्फूर्तता थियो, जुन उनका अनुसार मजदुरहरुको लामो संघर्षको दौरान जागृत हुने थियो । यही ‘अग्र्यानिक’ रूपमा विकसित चेतनाले पार्टीभित्रको अवसरवादी प्रवृत्तिहरुलाई पाखा लगाई पार्टीलाई क्रान्तिकारी दिशा प्रदान गर्ने थियो । लेनिनको विचारमा अवसरवाद एउटा आम प्रवृत्ति थियो जसले मजदुर आन्दोलन पथभ्रष्ट बनाउँदै क्रान्तिमा नै ब्रेक लगाउने काम गर्दछ र त्यसैकारण संगठात्मक रूपमा नै यस अवसरवादी प्रवृत्तिविरुद्ध संघर्ष चलाउनुपर्छ, चाहे त्यो पार्टी फुटको माध्यममार्फत नै किन नहोस् । यसै मतलाई लिएर रोजाले सन् १९१२ मा बोल्सेभिकहरुको तिखो आलोचना गरिन, जब उनीहरुले मेन्सेभिकहरुसंग छुट्टिएर एउटा अलग पार्टीको स्थापना गरे ।
संगठनको सवालमा यी दुईबीचको मतभेद यही विषयमा थियो । यस विषयलाई धेरै अपव्याख्या गरि के भन्छन् भने बोल्सेभिकहरुको संगठन आम मजदुरवर्गमा आधारित नभएर एउटा सानो षड्यन्त्रकारी झुण्ड थियो जसको नेतृत्व गोप्यता, अतिकेन्द्रीकरण र तानाशाहीमा चल्थ्यो र सन् १९१७ को अक्टोबर क्रान्ति पनि एउटा सामाजिक क्रान्ति नभएर सत्तामा जान आतुर केही सानो संख्यामा रहेका षड्यन्त्रकारीहरुले गरेको ‘कु’ थियो । जहाँसम्म बोल्सेभिकहरु अतिकेन्द्रिकृत षड्यन्त्रकारी झुण्ड थिए भन्ने आरोप छ, त्यस्ता आरोपहरुबाट भने स्वयं रोजा लग्जेम्बर्गले नै बोल्सेभिकहरुको बचाउ गरेकी थिइन । जब सन् १९०६ मा मेन्सेभिक नेता प्लेखनोभबाट बोल्सेभिकहरुमाथि यही आरोप लागाइयो, तब रोजाले उनीहरुको बचाउ गर्दै ‘ब्लांकिवाद र सामाजिक जनवाद’ नामक लेख लेखिन् । प्लेखनोभले ब्लांकीवादबारे एंगेल्सले भनेका केही कुराहरु उधृत गर्दै बोल्सेभिकहरुलाई ब्लांकीवादमा आधारित संगठन निर्माण गरेको आरोप लगाएका थिए । फ्रान्सेली क्रान्तिकारी लुई अगस्ट ब्लांकीले आम मजदुर आन्दोलनमा आधारित नभएर केवल एउटा सानो षड्यन्त्रकारी समूहको माध्यमबाट सत्तापलट गर्दै मजदुरसत्ता स्थापना गर्ने नीति लिएका थिए । निर्णायक शक्ति आम सर्वहारावर्ग र तिनको चेतनशील सामूहिक संघर्षलाई मान्ने माक्र्सवादीले यस्तो विचारको विरोध गरेका थिए । यद्यपी पेरिस कम्युनका मुख्य नेताका रूपमा रहेका उनलाई त्यसबखत स्वयं मार्क्स र एंगेल्सले समर्थन र बचाउ गरेका थिए ।
जब लेनिनको संगठात्मक सिद्धान्तलाई प्लेखनोभले ब्लांकीवादमा आधारित रहेको भनी आलोचना गरे, तब रोजा लक्जम्बर्गले लेनिनको बचाउ गर्दै लेखिन, ‘के रुसको अहिलेको परिस्थिति अनुसार त्यहाँ ब्लांकीवाद सम्भव छ ? सन् १८४८ को फ्रान्स र अहिले (सन् १९०६) रुसको बीचको फरक त्यहाँनिर छ, जहाँ सर्वहारा पार्टी र आमजनताबीचको सम्बन्धको प्रश्न छ । सन् १८४८ मा क्रान्तिकारीहरु जति समाजवादी भए पनि उनीहरु व्यग्रताका साथ जनताकाबीच समाजवादी विचारहरु ल्याउन चाहन्थे ताकी उनीहरुलाई बुर्जुवा उदारवादको खोक्रो विचारहरुबाट टाढा राख्न सकियोस् । त्यो समाजवाद पुरै युटोपियन र निम्न पुँजीवादी थियो । आजको रुसमा स्थिति अलि भिन्न छ । यहाँ न त कुनै राजावादी, न त कुनै ‘प्रगतिशील’ बुर्जुवा पार्टीले जनताको मन जित्न सकेको छ । यहाँ त ती जनता आफैं समाजवादको झण्डामुनी आइपुगेका छन ्। आज उनीहरु मजदुरवर्गको रूपमा संगठित छन् जो जारशाहीविरुद्ध संघर्ष गर्दै छन । ती मानिसहरु जो आफ्नो जीवनकै कारण समाजवादी भएका छन । ती मानिसहरु, जो रहिआएको व्यवस्थालाई घृणा गर्दै हुर्किएका छन् । ती मानिसहरु, जो आवश्यकताले गर्दा मार्क्सवादी कोणबाट सोच्न थालेका छन् । न त उनीहरुले विकास गर्ने नेता न त विचारहरु, बरु उनीहरुको सामाजिक र आर्थिक अवस्था नै त्यो कारण हो जसले (जारशाहीविरुद्ध) सर्वहारावर्ग र बुर्जुवावर्गको साझा संघर्षलाई नकारीदिएको छ ।’
‘जनता फरक छन, सर्वहारावर्ग फरक छ । आज कसैले पनि षड्यन्त्रकारी, ब्लांकीवादी रणनीतिको कुरा गर्ने अवस्था छैन । ब्लांकीवादीहरुले जनतालाई आफ्नो पछाडी तान्न खोजेका थिए तर हामी सामाजिक जनावादीहरुलाई भने जनताले नै अगाडी धकेल्छन । यो निकै ठूलो फरक हो । त्यसैले कमरेड प्लेखनोभले ‘जनताको क्रान्तिकारी स्वायत्तता’ बारे चिन्ता गर्नु पर्दैन । त्यस्तो स्वायत्तता अहिले पनि छ र यसलाई कसैले पनि बाँध्न सक्दैन । कमरेड प्लेखनोभले अहिलेको बहुमत (अर्थात् बोल्सेभिक) माथि (१९०५ को) क्रान्तिमा ब्लांकीवादी गल्तिहरु गरेको भन्ने आरोपको हामी खण्डन गर्दछौं । यो हुन सक्छ कि यसको केही अंश कमरेड लेनिनले सन् १९०२ मा कोरेको संगठनात्मक ड्राफ्टमा देखिएको थियो, तर यो कुरा अब इतिहास भइसक्यो । टाढाको इतिहास किनकि आज जीवन धेरै तीव्रताको साथ चलिरहेको छ । ती गल्तिहरुलाई समयले नै सच्याइदिएको छ र ती गल्तीहरु दोहोरिने अब कुनै सम्भावना छैन । र हामीहरु ब्लांकीवादको भूतदेखि तर्सनुपर्ने कुनै आवश्यकता छैन किनभने त्यो भूतलाई अहिले ब्युँझाउनै सकिदैन ।’
मजदुरवर्गको स्वस्फूर्त जागरणमार्फत नै पार्टीभित्रबाटै अवसरवादी प्रवृत्तिलाई पराजित गर्ने रोजाको विचार सन् १९१८ को जर्मन क्रान्तिसम्म रहीरह्यो । पहिलो विश्वयुद्धमा जब सामाजिक जनवादी पार्टीहरुले आ–आफ्नो सरकारलाई असहयोग गरि साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्ने आफ्नो नीति आफैले त्यागी आ आफ्नो सरकारलाई समर्थन गर्न पुगे, र जर्मन सामाजिक जनवादी पार्टीले क्रान्तिमा ब्रेक लगाई बुर्जुवा गणतन्त्रमा सीमित गर्न खोजे, तब रोजाले पनि सामाजिक जनवादी पार्टीसंग निर्णायक रूपमा सम्बन्धविच्छेद गरि जर्मन कम्युनिस्ट पार्टी खोलिन । जुन करिब करिब बोल्सेभिक पार्टीकै अवधारणामा आधारित थियो । तर यो काम गर्नमा उनले धेरै नै ढिलो गरिन, जसको कारण उनको पार्टीले निर्णायक नेतृत्व दिन पाएन र स्वयं उनकै पूर्व पार्टीको हातबाट उनको र उनका सहकर्मी कार्ल लिब्नेख्तको हत्या भयो । हत्या हुनुभन्दा केही दिन अघि मात्र उनले आफ्नो नयाँ पार्टीको पत्रिका ‘लाल ध्वज’मा लेखेकी थिइन, ‘नेतृत्वको कमी हुनु र बर्लिनको सर्वहारावर्गलाई संगठित गर्न कुनै केन्द्र अस्तित्वमा नहुनु, यस्तो अवस्थालाई लम्ब्याउन सकिदैंन । यदि क्रान्तिलाई अगाडी बढाउने हो भने, सर्वहारावर्ग र समाजवादको विजयलाई सपनामा मात्र सीमित नराख्ने हो भने, क्रान्तिकारी मजदुरहरुले नेतृत्वदायी संगठनहरुको निर्माण गर्नुपर्छ जसले उनीहरुलाई दिशानिर्देश गर्न र जनताको लडाकु शक्तिको उपयोग गर्न सकोस् ।’
लेनिनले रोजा लक्जम्बर्गको पार्टी संगठनबारेको धारणालाई ‘प्रक्रियाको रूपमा संगठनको विकास’ भनेर विरोध गरे । तर पछि बोल्सेभिकवादको विकासबारे सन् १९०७ र पछि सन् १९२० मा उनले आफै गरेको विश्लेषणमा चाहि उनी क्रान्तिकारी पार्टीको विकास एउटा लामो प्रक्रिया नै हो भन्ने कुरामा सहमत देखिन्छन् । साथै, धेरैले रोजा लक्जम्बर्ग र लेनिनलाई क्रमशः स्वस्फुर्तता र केन्द्रिकरणमा आधारित पार्टी संरचनामा विभाजित गरेर दुई ध्रुवमा उभ्याएको पनि पाइन्छ । तर दुवैका लेखहरु नजिकबाट नियाल्यौं भने दुवै क्रान्तिकारीहरुले आम संघर्ष र संगठनको गतिशील अन्तरसम्बन्धमा आधारित सिद्धान्त तथा कार्यक्रमहरु कोरेका थिए भन्ने बुझिन्छ । ‘आम हड्ताल, ट्रेड युनियन र राजनीतिक पार्टी’ भन्ने लेखमा रोजा लेख्छिन, ‘सामाजिक जनवादीहरु सर्वहारावर्गको सबैभन्दा शिक्षित, वर्गीय चेतना भएका भ्यानगार्ड हुन । उनीहरु भाग्यवादीहरु जस्तो हात बाँधेर ‘क्रान्तिकारी अवस्था’ लाई पर्खेर बस्दैनन् । एउटा स्वस्फूर्त जन आन्दोलन आकाशबाट खस्छ भन्ने भ्रममा रमाएर बस्दैनन् । त्यसको विपरित उनीहरुले परिस्थितिको विकास र घटनाहरुलाई गति दिनतिर लाग्छन् ।’
अर्कोतिर, ‘ह्वाट इज टु बी डन’मा लेनिन लेख्छन, ‘जनताको स्वस्फूर्त विकासले हामी सामाजिक जनवादीहरुसंग अझ उच्च तहको चेतनाको माग गर्दछ । जनताको जति धेरै स्वस्फूर्तताको वृद्धि तथा आन्दोलनको फैलावट हुन्छ त्यति नै तीव्र सामाजिक जनवादको सैद्धान्तिक, राजनीतिक र सांगठनिक कार्यमा उच्च चेतनाको माग हुन्छ ।’
राष्ट्रहरुको आत्मनिर्णयको अधिकार सम्बन्धी प्रश्न
उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकार र स्वतन्त्रताको विषयमा सबैभन्दा पहिले मार्क्स र एंगेल्सले नै लेखेका थिए । आफ्नो समयमा उनीहरु दुवै बेलायति साम्राज्यबाट आयरल्याण्ड र रुसी जारशाही साम्राज्यबाट पोल्याण्डको स्वतन्त्रताको पक्षमा उभिएका थिए । मार्क्सका अनुसार रुसको जारशाही र जर्मनीको हेप्स्बर्ग सत्ता सामाजिक विकासको प्रक्रियामा तगारो बनेका थिए । उनका अनुसार पोल्याण्डको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनले जारशाहीलाई कमजोर बनाउने थियो र क्रान्तिकारी लोकतान्त्रिक आन्दोलनमा उर्जा थप्ने थियो । त्यसैकारण मार्क्सले पोल्याण्ड र हंगेरीको राष्ट्रिय स्वतन्त्रताको आन्दोलनलाई समर्थन गरेका थिए । तर मार्क्सले सबै राष्ट्रिय आन्दोलनहरुको समर्थन गरेनन् । उनले क्रोएसियन, सर्ब र चेक राष्ट्रवादको विरोध गरेका थिए किनकि उनका अनुसार दक्षिणी कबिख र अन्य राष्ट्रहरुबीचको शत्रुतापूर्ण सम्बन्धले गर्दा यी आन्दोलनहरुले जारशाहीलाई नै मद्दत पुग्ने थियो । मार्क्सले राष्ट्रिय आन्दोलनहरुलाई समर्थन गर्नु वा नगर्नुको प्रमुख शर्त ती आन्दोलनले यूरोपका बुर्जुवा लोकतान्त्रिक आन्दोलनमा गर्ने असर हो जस्तो देखिन आउँछ । राष्ट्रिय स्वतन्त्रता वा आत्मनिर्णयको अधिकार सम्बन्धी प्रश्न मार्क्सवादी आन्दोलनमा मार्क्सकै पालादेखि उठेको हो र मार्क्सले समाज विकासको तत्कालिन अवस्थाहरुमा आधारित भएर राष्ट्रिय आन्दोलनहरुको समर्थन वा विरोध गरेका थिए । तर अहिले यो विषयलाई कसरि प्रस्तुत गरिन्छ भने लेनिनले अवसरवादी ढंगले रणनीतिक रूपमा मात्र राष्ट्रिय आत्मनिर्णयको अधिकारको कुरा उठाएका थिए । यसरी लेनिनलाई ‘जातीयता’ को अवसरवादी राजनीति गर्ने मान्छेको रूपमा चित्रण गरिन्छ । फेरी अर्काेतिर रोजा लक्जम्बर्गलाई उभ्याएर भनिन्छ, ‘सच्चा मार्क्सवादी यी हुन जसले जातीय होइन वर्गीय राजनीति गरेकी थिइन् ।’
पोल्याण्डको स्वतन्त्रताको सम्बन्धमा रोजा लक्जमबर्गले मार्क्सभन्दा फरक विचार राखिन् । उनका अनुसार पोल्याण्ड रुसी राष्ट्रिय राज्य र त्यसको अर्थतन्त्रसंग यसरि गांसिइसकेको थियो कि पुँजीवादी राज्यव्यवस्थाकै अन्तर्गत पोल्याण्डको राष्ट्रिय स्वतन्त्रता कुनै अर्थमा पनि प्रगतिशील हुन सक्दैन । उनले यहि विचार रुसी साम्राज्यभित्रका उत्पीडित राष्ट्रहरुको हकमा पनि लागु गरिन, जब लेनिनले ती राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको कुरा निकाले । रोजाका अनुसार जब समाजवादले राष्ट्र राष्ट्रबीचको विभाजन हटाउँछ भने त्यस्तो अवस्थामा राष्ट्रिय रूपमा छुट्टिन पाउने अधिकारले कुनै अर्थ राख्दैन । बरु यसले समाजवादी क्रान्तिलाई नै उल्टो बाटोमा हिडाउंछ । त्यस्तै, यस्ता राष्ट्रिय आन्दोलनले ती राष्ट्रहरुका बुर्जुवावर्गलाई मात्र फाइदा पुग्छ, जसले समाजवादी क्रान्तिमा संगै हिड्नुको साटो बरु क्रान्तिकै घाँटी रेट्न तम्तयार हुनेछन् ।
तर लेनिनको विचारमा भने उत्पीडक राष्ट्र र उत्पीडित राष्ट्रको राष्ट्रवादमा भिन्नता छ । उनका अनुसार उत्पीडक राष्ट्रहरुको राष्ट्रवादको विरोध गरिनुपर्छ भने उत्पीडित राष्ट्रहरुको राष्ट्रवादको भने समर्थन गर्न जरुरी हुन्छ । जब उत्पीडित राष्ट्रहरुलाई छुट्टिन पाउनेसम्मको अधिकार हुन्छ, तब ती राष्ट्रका सर्वहारावर्ग आफैं नै स्वस्फुर्त रुपमा रुसी सर्वहारावर्गसंग मिल्न आइपुग्छन् । रोजाको अनुसार वर्ग संघर्षको अगाडी राष्ट्रहरुको आत्मनिर्णयको अधिकारले कुनै महत्व राख्दैन र यसले सर्वहारावर्गको अन्तराष्ट्रवादमा खलल पुर्याउँछ । लेनिन स्वयम् सर्वहारा अन्तराष्ट्रवादलाई नकार्दैनन् । उनका लागि राष्ट्रिय प्रश्न महत्वपूर्ण हो तर साथसाथै वर्गीय प्रश्न प्रधान हो । उनका अनुसार राष्ट्रिय आन्दोलनको मुख्य स्रोत त्यहाँका उत्पीडित वर्ग समुदाय हुन् र सर्वहारा पार्टीले ती आन्दोलनको नेतृत्व लिनुपर्छ । रोजा राष्ट्रिय प्रश्नलाई पूर्णत अस्वीकार गर्दै अन्तराष्ट्रवादको पक्षमा उभिन्छिन् भने लेनिन उत्पीडित राष्ट्रहरुको राष्ट्रिय संघर्षमार्फत अन्तराष्ट्रवाद मजबूत बनाउन चाहन्छन् । एकातर्फ उनी उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको पक्षमा छन् भने अर्कोतिर उनी उग्र रुसी राष्ट्रवादका साथै अन्य सबैखाले राष्ट्रवादको विपक्षमा छन् । रोजा लक्जम्बर्ग लगायत अन्य पोलिश मार्क्सवादीहरुले आत्मनिर्णयको अधिकारको विपक्षमा प्रकट गरेको मतहरुबारे लेनिन लेख्छन, ‘हाम्रा पोलिश सामाजिक जनवादी कमरेडहरुको सद्गुण भनेको उनीहरुले अन्तराष्ट्रवादको नारालाई अगाडी बढाएका छन । उनीहरुले भनेका छन् कि अरु कुनै कुराभन्दा बढी उनीहरु सबै देशका सर्वहारावर्गको भाइचाराको सम्बन्धलाई जोगाएर राख्न चाहन्छन् र उनीहरु कहिल्यै पनि पोल्याण्डको स्वतन्त्रताको निम्ति लडाईमा जाने छैनन् । तर हामी रुसीहरु, जसले अरु कोहीभन्दा धेरै राष्ट्रहरुमाथि उत्पीडन गरिरहेका छौं, हामीहरु किन पोल्याण्ड, युक्रेन, फिनल्याण्ड आदीको स्वतन्त्रताको पक्ष नलिने ? पोलिश सामाजिक जनवादीहरु भन्छन् उनीहरु रुसी सर्वहारावर्गसंगको सम्बन्धलाई फाइदाजनक ठान्छन र त्यसैकारण उनीहरु पोल्याण्डको छुट्टिन पाउने अधिकारको विपक्षमा छन् । उनीहरुलाई यस्तो सोच्ने पूरा अधिकार छ । तर उनीहरु यो कुरा बुझ्दैनन् कि यसो गर्न त्यो एउटै कुरा दोहोर्याईरहनु पर्दैन । हामीले रुसमा उत्पीडित राष्ट्रहरुको छुट्टिन पाउने अधिकारको पक्षमा जोड दिनुपर्छ भने पोल्याण्डमा हामीले त्यस्ता राष्ट्रहरुको एकिकरणको पक्षमा जोड दिनुपर्छ । एकिकरणको अधिकारले नै छुट्टिन पाउने अधिकारलाई इंगित गर्छ । हामी रुसीहरुले छुट्टिन पाउने अधिकारको पक्ष लिनुपर्छ भने पोलहरुले एकीकृत हुन् पाउने अधिकारको लागि काम गर्नुपर्छ ।’
एकातर्फ लेनिन उत्पीडित राष्ट्रहरुको आत्मनिर्णयको अधिकारको पक्षमा थिए भने अर्कोतर्फ उनी बुर्जुवा राष्ट्रवादको विपक्षमा जसले ‘राष्ट्रिय स्वायत्तता’, ‘राष्ट्रिय संस्कृति’ जस्ता अवधारणा अघि सार्दै मजदुर आन्दोलनलाई नै विभाजित गरिदिन्थ्यो । उनी लेख्छन्, ‘राष्ट्रिय प्रश्नमा मार्क्सवादी र बुर्जुवा कार्यक्रमबीचको आधारभूत भिन्नता यहाँ छ – राष्ट्रहरु र तिनका भाषाहरुका बराबर अधिकारको कुरा मार्क्सवादीहरुको निम्ति निकै महत्वपुर्ण छ । वर्गसंघर्षमा सर्वहारा सौहार्दता र एकताको लागि सबै राष्ट्रहरुको पूर्ण समानता आवश्यक पर्दछ जसले आपसी अविश्वास, शंका र शत्रुतालाई हटाउन मद्दत गर्दछ । र पूर्ण समानताले कुनै एक भाषाको विशेष अधिकारको विरोध र सबै राष्ट्रहरुको आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्दछ । बुर्जुवाहरुको राष्ट्रिय समानताको मागले व्यावहारिक रूपमा भने राष्ट्रिय एकांगीपना र अन्धराष्ट्रवादको वकालत गर्दछ र र त्यसमा उनीहरुले राष्ट्रहरुको विभाजनको वकालतलाई पनि ल्याएर जोडीदिन्छन् । यो कुरा सर्वहारा अन्तरराष्ट्रवादसंग मेल खाँदैन । कारण, सर्वहारा अन्तरराष्ट्रवादले राष्ट्रहरुबीचको नजिकको सम्बन्ध मात्र होइन एउटा राज्यको सबै राष्ट्रियताका मजदुरहरुलाई एउटै एकीकृत सर्वहारा संगठनमा ल्याएर जोड्ने कुराको वकालत गर्दछ । त्यसैकारण मार्क्सवादीहरु कथित ‘एकात्मक राष्ट्रिय संस्कृति’को विपक्षमा छन, जसले सबै राष्ट्रिय राज्यहरुमा एउटै संस्था, एउटै शिक्षा नीति, एउटै शैक्षिक बोर्डको वकालत गर्छ ।’
लेनिनका अनुसार मार्क्सवादीहरुले समाजवाद बारे ठूल्ठूला बौद्धिक गफ मात्र गर्ने होइन, बरु मजदुर आन्दोलन तथा अन्य उत्पीडित वर्ग समुदायको आर्थिक तथा सामाजिक समानताको आन्दोलनहरुमा सरिक भएर त्यसलाई नेतृत्व दिने प्रयास गर्दै सामाजिक क्रान्तिको दिशामा अघि बढ्ने हो । यसै मेसेमा, लेनिनले आत्मनिर्णयको अधिकारको लोकतान्त्रिक मागलाई लगेर समाजवादी क्रान्तिसंग जोडेका थिए । एकातिर उनले आत्मनिर्णयको अधिकारको पक्ष लिएका थिए भने अर्कोतर्फ बुर्जुवावर्गले उठाउने ‘राष्ट्रिय सांस्कृतिक स्वायत्तता’को विरोध गरेका थिए जसले मजदुरवर्गलाई विभाजित मात्र बनाउँछ ।
राष्ट्रिय प्रश्नमा लेनिन सही रहेको देखिन्छ । तर यसबारे गहन छलफल गर्न रोजाका धेरै मतहरुमाथि पनि गहिरिएर अध्ययन गर्न आवश्यक छ । अहिले नेपालको सन्दर्भमा पनि यो प्रश्नले धेरै महत्व राख्ने कारणले हामीले पनि यसमा ध्यान दिन जरुरी छ । तर, लेनिन वा रोजाले यसो भनेका थिए, त्यही भएर नेपालमा पनि त्यसै हुनुपर्छ भन्ने कोणबाट होइन, नेपालको ऐतिहासिक, सामाजिक अवस्था, नेपाल राष्ट्रिय राज्यको ऐतिहासिक विकासक्रम, समाज विकासको चरण, उत्पादन सम्बन्ध र यी सबैबीचको अन्तरसम्बन्ध आदिलाई आधार बनाइ राष्ट्रिय, भाषिक, सांस्कृतिक समानता र आत्मनिर्णयको अधिकार सम्बन्धि विचार तथा कार्यक्रमको विकास गरिनुपर्दछ ।
साम्राज्यवाद र पहिलो विश्वयुद्ध
रोजा लक्जम्बर्ग र लेनिन दुवैको विश्लेषणमा पुँजीवादलाई भित्री रूपमै हिंसात्मक र साम्राज्यवादी देखाइएको छ । तर दुवैबीच यस विषयमा केही मतभिन्नता भने थिए । रोजाले सन् १९१३ मा ‘एकुमुलेसन अफ क्यापिटल’ नामक कृति मार्फत साम्राज्यवाद सम्बन्धि आफ्नो विश्लेषण प्रस्तुत गरेकी थिइन् । उनका अनुसार साम्राज्यवाद पुँजीवादको सुरुवातदेखि नै त्यसको अभिन्न अंग रहँदै आएको छ । पुँजीको संचीतीको निम्ति थप बजारको आवश्यकता हुँदा गैरपुँजीवादी बजारहरुमा पनि यसको विस्तार अपरिहार्य हुन जान्छ । यसरी साम्राज्यवाद पुँजीवादको ऐतिहासिक आवश्यकता बन्न जान्छ र यो पुँजीको संचीतीको आवश्यकताबाट निर्देशित हुन्छ । जो पुँजीवादलाई साम्राज्यवादी र सैन्यवादी विस्तारको आवश्यकता पर्दैन भन्ने मान्छन्, उनीहरु सुधारवादी निष्कर्षतर्फ पुग्दछन् । रणनैतिक रूपमा उनीहरु साम्राज्यवादलाई संवेदनशील बनाउन बुर्जुवा वर्गको एउटा फराकिलो हिस्सासँग सर्वहारावर्गको गठबन्धनको कुरा गर्छन् । पुँजी र सर्वहारावर्गबीचको अन्तिम संघर्षलाई बदलेर त्यसको ठाउँमा पुँजीवादी देशहरुको साम्राज्यवादी अन्तरविरोधलाई कम गर्न ऐतिहासिक सम्झौतालाई अघि बढाउँछन् । उनको यो अन्तिम बुँदा चाहिं कार्ल कउत्स्कीप्रति लक्षित थियो ।
लेनिनको विश्लेषण अनुसार साम्राज्यवाद भनेको पूँजीवादको उच्चतम अवस्था हो जुन उन्नाइसौं शताब्दीमा वित्तीय पुँजीको प्रभावमा बहुराष्ट्रिय निगमहरुको शक्तिशाली प्रभुत्वको कारण उदय भएको हो । उनका अनुसार यसका विशेषताहरु भनेको औद्योगिक पुँजीमाथि वित्तीय पुँजीको प्रभुत्व, त्यो वित्तीय पुँजीको अन्य राष्ट्रहरुमा निर्यात तथा विश्वलाई साम्राज्यवादी राष्ट्रहरुबीच उपनिवेशको रूपमा विभाजन । लेनिन पुँजीको विस्तारमा बहुआयाम, तरलता र लचकता देख्छन् भने रोजा त्यसमा एउटा सीमा देख्छिन । एउटा त्यस्तो अपरिहार्यता जसअनुसार पुँजी गैरपुँजीवादी राष्ट्रहरुमा विस्तार हुन्छ, जुन अन्त्यमा गएर उपयोग भइ सकिन्छ र त्यसले आर्थिक संकट र पतनलाई निम्त्याउँछ ।
लेनिन र अर्का बोल्सेभिक नेता निकोलाई बुखारिनले रोजाको त्यस विश्लेषणको चर्को आलोचना गरे । लेनिनका अनुसार त रोजाले मार्क्सको विचारलाई नै बंग्याइन् । उनले त अझ त्यसमाथि टिप्पणी गर्दा ‘वाहियात’ र ‘हाँसोलाग्दो’ जस्ता शब्द प्रयोग गरेका छन् । उता बुखारिनले भने रोजाको आलोचनाको साथसाथै के पनि भनेका छन् भने उक्त कृति रोजाको एक सहासिलो सैद्धान्तिक प्रयास हो र यो काम एउटा प्रतिभाशाली सैद्धान्तिक ज्ञानको उपज हो । लेनिनको तिखो शब्दवाणको प्रयोगका कारण के हो भने यो कृति सन् १९१३ मा प्रकाशित भएको थियो, जब यी दुईबीच संगठनको सवाल र मेन्सेभिकहरुसंग छुट्टिएर बोल्सेभिकहरुले नयाँ पार्टी गठन गरेको कुरालाई लिएर गहिरो मतभेद सिर्जना भएको थियो, जसबारे माथि नै चर्चा गरिसकिएको छ ।
रोजा र लेनिनबीचको साम्राज्यवादको विश्लेषणमा केही मतभिन्नता भएपनि पहिलो विश्वयुद्ध बारे कुनै वैचारिक अन्तर थिएन । दुवैको विचारमा उक्त युद्ध साम्राज्यवादी राष्ट्रहरुबीच विश्वको कुन भाग कसले नियन्त्रण गर्ने भन्ने प्रश्नमा आधारित एउटा साम्राज्यवादी युद्ध थियो । सन् १९१४ अघि नै युरोपमाथि जम्मा हुँदै गरेको युद्धको बादलले दोस्रो इन्टरनेशनल र जर्मन सामाजिक जनवादी पार्टीमा साम्राज्यवाद र सैन्यवादको विषयले प्राथमिकता पायो । दोस्रो इन्टरनेशनलको सन् १९०७ मा स्तुत्गार्टमा भएको महाधिवेशनमा रोजा लक्जमबर्ग र लेनिन दुवैले युद्धविरोधी संकल्पमा एउटा सर्त राखे, ‘युद्ध हुन गएको खण्डमा सर्वहारावर्ग र तिनका संसदीय प्रतिनिधिहरुको कर्तव्य हुनेछ कि उनीहरु चाँडोभन्दा चाँडो युद्धको समाप्तिको लागि हस्तक्षेप गर्नेछन् र यस युद्धले लिएर आएको हिंस्रक आर्थिक तथा राजनीतिक संकटलाई प्रयोग गरि सर्वहारावर्गले आफ्नो सम्पूर्ण बल लगाई जनतालाई जगाउनेछन् र पुँजीवादी सत्ताको चाडै अन्त्य गर्नतिर लाग्नेछन् ।’ यो शर्तलाई दोस्रो इन्टरनेशनलले पारित गरेको थियो । तर जब युद्ध सुरु भयो, दोस्रो इन्टरनेशनलमा आबद्ध प्राय सबै पार्टीहरु र मुख्यतः जर्मन सामाजिक जनवादी पार्टीले आफैंले पारित गरेको संकल्पको विपरित आ आफ्ना साम्राज्यवादी सरकारलाई समर्थन गर्न पुगे । युद्धको विरोध गर्नेमा रोजा र पार्टीभित्रको वामपन्थी तप्का, बोल्सेभिक पार्टी लगायत केही मात्र थिए । त्यसपछि रोजा पार्टीभित्र एक्लिइन् । कार्ल लिब्नेख्त लगायत केही सदस्यहरु मात्र युद्धविरोधी मोर्चाको पक्षमा उभिए । दोस्रो इन्टरनेशनलको पतन र आफ्नो पार्टीको साम्राज्यवादी बुर्जुवावर्गको पक्षधरता रोजाको लागि ठूलो झट्का थियो । तर त्यो भन्दा ठूलो झट्का त जर्मन सामाजिक जनवादी पार्टीको पतनको अन्तिम अवस्था नजिकैबाट नभोगेका लेनिन र अन्यका लागि थियो ।
युद्धविरोधी प्रचारका क्रममा पक्राउ परेको अवस्थामा रोजाले ‘जुनिअस प्याम्फ्लेट’ लेखिन जुन अन्तराष्ट्रवादी र युद्धविरोधीहरुको उत्कृष्ट अभिव्यक्ति थियो । उक्त पर्चामा उनले अवसरवादी र सामाजिक अन्धराष्ट्रवादीहरुले युद्धलाई समर्थन गरेको कार्यलाई न्यायसंगत देखाउन गरेको कथनहरुको विरोध गरेकी छन र तिनलाई पर सार्दै उनले केन्द्रीय प्रश्नलाई अगाडी ल्याएकी छन् ः समाजवाद वा बर्बरता ? मानवजातिको लागि केवल यी दुई विकल्प छन् । कि त सर्वहारावर्गले यस युद्धको अन्त्य गरि समाजवादमार्फत राष्ट्रहरुबीचकै युद्धको सम्भावनालाई समाप्त पारिदिन्छन, कि त साम्राज्यवादको विस्तार संगै यसले युद्ध, हिंसा र सैन्यवादलाई विश्वव्यापीकरण गर्दै सारा समाजलाई नै बर्बर बनाउँछ । अहिलेको विश्वलाई राम्ररी नियाल्यो भने रोजाको भविष्यवाणी सत्यको एकदमै नजिक देखिन्छ ।
अक्टोबर क्रान्ति र बोल्सेभिक कार्यनीतिहरु सम्बन्धि प्रश्न
सन् १९१७ को अक्टोबर क्रान्ति बीसौं शताब्दीको मात्र होइन, आधुनिक मानव इतिहासकै सबैभन्दा महत्वपूर्ण घटनाहरुमध्येको एक थियो । उक्त क्रान्तिकै नायकमध्येका एक लियन ट्रट्स्कीले ‘रुसी क्रान्तिको इतिहास’मा लेखेका छन, ‘सन् १९१७ को पहिलो दुई महिनासम्म रुस रोमानोभ वंशीय राजतन्त्रात्मक मुलुक थियो । आठ महिनापश्चात् बोल्सेभिकहरु देशका चालक बने । वर्षको सुरुमा निकै कम मानिसहरु मात्र उनीहरुबारे परिचित थिए र सत्तामा पुग्नेबेलासम्म तिनका नेताहरुको टाउकामाथि राज्यद्रोहको मुद्दा थियो । तपाईहरुले इतिहासमा कहिँ पनि यस्तो गम्भिर मोड पाउनुहुन्न । खासगरी १५० मिलियन जनसंख्या भएको देशको हकमा ईतिहासको यस्तो मोड गम्भिरतम बन्न पुग्छ । यसबाट प्रष्ट छ कि १९१७ का घटनाहरुले गम्भिर अध्ययनको खाँचो औँल्याउँछ, चाहे अहिले त्यसबारे तपाइको जस्तोसुकै धारणा बनेको होस् ।’
अक्टोबर क्रान्तिबारे धेरै अध्ययनहरु भएका छन् र ती अध्ययनबाट मानिसले मुख्यतः दुई निष्कर्षहरु निकालेका छन । पहिलो– यो क्रान्ति इतिहासकै महत्वपूर्ण घटना हो र रुसमा लेनिन र बोल्सेभिकहरुले मार्क्सवादको सिर्जनात्मक प्रयोग गरी मानवजातिको मुक्तिको निम्ति एउटा कोसेढुंगा स्थापित गरे । दोस्रो – अक्टोबर क्रान्ति मार्क्सवादको भ्रष्टीकरणमार्फत एउटा सानो झुण्डले षड्यन्त्रपूर्ण तरिकाले गरेको सत्ताकब्जा बाहेक अरु केही होइन, र पुँजीवादको लागि मात्र तयार भएको रुसमा बोल्सेभिकहरुले समाजवादी क्रान्ति गरि ठूलो गल्ति गरे । यो दोस्रो निष्कर्ष निकाल्नेहरुमध्ये धेरैजसोले अक्टोबर क्रान्तिको आलोचना गर्दा रोजा लक्जम्बर्गलाई उद्धृत गर्ने गरेका छन् । अक्टोबर क्रान्तिबारे रोजाले सन् १९१८ मा लेखेको निबन्ध ‘रुसी क्रान्ति’ का धेरै शब्दहरु उनीहरुले सापटी लिने गरेका छन् । तर अक्टोबर क्रान्तिबारेको रोजाको पूरा विचारलाई भने उनीहरु लुकाउँछन् किनकी रोजाका विचार र अडानहरु अक्टोबर क्रान्तिबारे उनीहरुको विश्लेषण मात्र होइन, मार्क्सवाद र सामाजिक क्रान्तिसम्बन्धि उनीहरुको बुझाइमाथि नै गतिलो प्रहार बन्न जान्छ ।
रोजा लक्जम्बर्गले अक्टोबर क्रान्तिपश्चात बोल्सेभिकहरुका केही कार्यहरु, जस्तै संविधानसभालाई भंग गर्ने काम, भूमिसुधार सम्बन्धि निर्णय, लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता आदि विषयमा आफ्नो त्यहि निबन्धमार्फत आलोचना गरेकी थिइन् । तर यससंग सम्बन्धित अन्य धेरै तथ्यहरु पनि छन् जो अक्टोबर क्रान्ति र लेनिनवादका आलोचकहरु बाहिर ल्याउन रुचाउँदैनन् । पहिलो, रोजाले यो निबन्ध अवश्यै लेखिन् तर उनले त्यसलाई कहिल्यै प्रकाशित गरिनन किनभने अक्टोबर क्रान्तिको समर्थन र बचाउ गर्नेहरुमध्ये उनी अग्रपंक्तिमा थिइन् र उनलाई थाहा थियो निबन्ध प्रकाशित भएको खण्डमा बोल्सेभिक विरोधीहरुले त्यसको दुरुपयोग गर्न सक्थे । जसरी अहिले त्यसको दुरुपयोग हुनेगरेको छ । रोजाको मृत्युपश्चात् उनकै मित्र पल लेभीले सन् १९२२ मा बोल्सेभिक कार्यनीति र संगठनमाथि प्रश्न उठाउनलाई मात्र त्यसलाई प्रकाशनमा ल्याएका थिए । दोस्रो, रोजाले बोल्सेभिकहरुका केही कार्यनीतिहरुको विरोध गरे पनि उनले अक्टोबर क्रान्तिलाई खुल्ला समर्थन गरेकी थिइन् । उक्त निबन्धको पहिलो अध्यायको शिर्षक नै छ, ‘रुसी क्रान्तिको आधारभूत महत्व’ । यो पहिलो अध्यायमा उनले बोल्सेभिकहरु र ‘उनीहरुको दूरदर्शिता र अन्तर्राष्ट्रिय समाजवाद र सर्वहारावर्गप्रतिको उनीहरुको अडान र योगदान’ को खुलेरै प्रशंसा गरेकी छन् । त्यसका साथै उनले ‘रुस समाजवादी क्रान्तिको निम्ति तयार भइसकेको छैन, अहिले केवल पुँजीवाद मात्र सम्भव छ’ भन्ने मेन्सेभिकहरु र पतित भैसकेको जर्मन सामाजिक जनवादी पार्टी तथा त्यसका एक नेता कार्ल कउत्स्कीको जोडदार विरोध गरेकी छन् । यस विषयबारे अलि विस्तृत रूपमा चर्चा गर्न जरूरी छ ।
मार्क्सले समाजवादी क्रान्ति सबैभन्दा पहिले विकसित औद्योगिक पुँजीवादी देशहरुमा हुनेछ भनी विश्लेषण गरेका थिए । तर लेनिनले भने एउटा पिछडिएको र पुँजीवादको अल्पविकसित अवस्थामा नै रहेको देश रुसमा समाजवादी क्रान्तिको कार्यक्रमको विकास गर्दै त्यसलाई लागु गर्ने चेष्टा गरे । यसैको आधारमा लेनिनलाई एकथरिले मार्क्सवादलाई नै भ्रष्टीकरण गरेको भन्दै अक्टोबर क्रान्तिको औचित्यमाथि नै प्रश्न उठाउँछन् । उनीहरुका अनुसार मार्क्सवादले पुँजीवाद ‘पूर्ण रूपले विकसित’ भइसकेपछि मात्र समाजवादी क्रान्ति इतिहासको रंगमंचमा देखापर्छ भनेर सिकाउँछ । उनीहरु भन्छन् त्यसअनुसार जसरी युरोपमा सामन्तवादको अन्त्यसंगै पुँजीवादको लामो चरण सुरु भयो, त्यसरी नै एसिया, अफ्रिकालगायत सारा संसारभरिका देशहरुले यहि चरणबाट गुज्रिनुपर्छ । तर जब ‘समाजवादको लागि पाकिसकेको’ अमेरिका र युरोपेली पुँजीवादको कुरा आउँछ, उनीहरु पुँजीवाद आफै कुहिएर झर्छ, हामीले त कतिबेला त्यो हाम्रो हातमा खस्छ, पर्खेर बस्ने मात्रै हो भन्छन् । अझ कति त केसम्म भन्छन् भने मार्क्सले पुँजीवाद अझै १००० वर्षसम्म रहिरहन्छ भनेका छन, त्यसैकारण हामीले अहिले समाजवादको कुरा गर्नु नै बेकार हो । यसरी उनीहरुले मार्क्सवाद होइन, सुधारवादको प्रतिनिधित्व गर्ने आफ्नो चरित्र उदांगो पारिदिन्छन् ।
मार्क्सको ऐतिहासिक भौतिकवादले एउटा निश्चित कालखण्डमा समाजलाई केलाउने र त्यसबाट निस्केको निष्कर्षको आधारमा उक्त समाजलाई बदल्न कार्यक्रम, रणनीति, सिद्धान्त आदिको विकास गर्न र तिनलाई लागु गर्न सिकाउँछ । तर धेरैले र मुख्य रूपमा गैर लेनिनवादीहरुले यसरी व्याख्या गर्छन मानौं ऐतिहासिक भौतिकवाद एउटा यस्तो फर्मुला हो जसलाई टपक्क टिपेर जहाँकहिं पनि प्रयोग गर्न सकिन्छ र यो फर्मुलाले भन्छ, युरोपको इतिहास जसरी विकसित भयो, त्यसरी नै अन्य सबै समाजहरु पनि विकास हुनुपर्दछ । त्यसकारण, पुँजीवादले राम्रोसंग जरा पनि नगाढेका देशहरुले समाजवादी क्रान्तिको कुरा गर्नु भनेको मार्क्सवादकै खिल्ली उडाउनु हो ।
मार्क्स वा एंगेल्सले कहिल्यै पनि यस्तो निर्धारणवाद सिकाएनन् । उनीहरुले समाजलाई गतिशील रूपमा बुझेर र साथै कुनै पनि समाजको विश्व पुँजीवादसंगको अन्तरसम्बध र उक्त समाजका विशिष्टताहरुलाई अधार बनाएर कसरी समाजलाई अघि बढाउने भन्ने कुरालाई आफ्नो शिक्षाको आधारभूत विषय बनाए । यसै सम्बन्धमा मार्क्सले रुसी मार्क्सवादी वेरा जासुलीचलाई लेखेका केही पत्रहरु स्मरणयोग्य छन । मार्क्सले ति पत्रहरुमा कसरी त्यसबखतको रुसको सहकारी, अथवा कम्युनजस्तो ग्रामिण कृषि व्यवस्थाको कारण  युरोपजस्तै लामो कालखण्डसम्म पुँजीवादबाट गुज्रिनुको साटो एकैपटक समाजवादी क्रान्तितर्फ अघि बढ्दा उपयुक्त हुन्छ भन्ने व्याख्या गरेका छन् । यसले प्रस्ट्याउँछ कि मार्क्सका लागि पुँजीवाद समाजवादको निम्ति पूर्वशर्त थिएन ।
एउटा निश्चित कालसम्म पुँजीवादको एउटा चरण वा अवस्थाको अनिवार्यतालाई आत्मसाथ गर्नेहरुको एउटा अर्को पाटो हो, आर्थिक निर्धारणवाद । अर्थात इतिहासलाई चलायमान राख्ने सबैभन्दा महत्वपूर्ण तत्व केवल आर्थिक पक्ष हो, र अन्य तत्व अथवा कारकहरुको भूमिका न्युन हुन्छ । यो सोच पनि मार्क्सवादभन्दा धेरै टाढा छ । यस सन्दर्भमा एंगेल्सले सन् १८९० मा जे ब्लोचलाई लेखेको एक पत्रको केही अंश निकै महत्वपूर्ण छ । उक्त पत्रमा एंगेल्स लेख्छन, ‘इतिहासको भौतिकवादी व्याख्याअनुसार इतिहासको अन्तिम र निर्णायक तत्व भनेको वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन हो । योभन्दा बाहेक न त मार्क्स न त म स्वयंले अरु केही भनेका छौं । त्यसकारण कसैले यसलाई बंग्याएर आर्थिक तत्व एकमात्र निर्णायक कारक हो भन्छ भने, उसले यो विषयवस्तुलाई नै अर्थहीन, अमूर्त र महत्वहीन वाक्यांश बनाइदिन्छ । आर्थिक अवस्था अधार हो, तर उपरिसंरचनाका विभिन्न तत्वहरु – वर्गसंघर्षको राजनीतिक रुप र त्यसका नतिजा, एउटा सफल संघर्षपश्चात विजयी वर्गले निर्माण गरेको विधान, न्यायिक विधी र यी सबै वास्तविक संघर्षहरुको सहभागीहरुको दिमागमा परेको प्रतिबिम्ब, राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्तहरु, धार्मिक विचारहरु र ती सबैको विचारधाराको रूपमा विकास – यी सबैले ऐतिहासिक संघर्षहरुको पथ निर्माण गर्ने क्रममा प्रभाव पार्छन् र धेरै अवस्थमा तिनको रूप निर्धारण गर्ने निर्णायक तत्वको रूपमा काम गर्दछन् ।’ छोटकरीमा भन्दा इतिहास निर्माणको निर्णायक आधार वस्तुगत भएपनि धेरै अवस्थामा आत्मगत आधारले निर्णायक भूमिका खेल्न सक्छ ।
त्यसैगरी, हामीले पुँजीवादलाई पनि गतिशील रूपमा बुझ्ने हो, जड रूपमा होइन । द्वन्दवादको प्रमुख प्रस्थापना यहि नै हो । पुँजीवादलाई आम रूपमा पुँजीवाद मात्र होइन, एउटा निश्चित कालखण्डको निश्चित विकासक्रमको अवस्थामा रहेको पुँजीवादको रूपमा बुझ्नुपर्छ । साथै, पुँजीवाद भनेको विश्वव्यापी व्यवस्था हो । त्यसकारण, कुनै पनि देशको पुँजीवादी विकासलाई विश्व पुँजीवादी व्यवस्थाबाट एक्लाएर हेर्ने होइन, त्यस विश्व व्यवस्थाको एक अंगको रूपमा हेर्ने र त्यसको विश्लेषण गर्ने हो । रोजा लक्जम्बर्ग, लेनिन लगायत अन्य मार्क्सवादीहरुले रुसलाई पनि यसैगरि विश्लेषण गरेका थिए । उता मेन्सेभिकहरु भन्थे कि रुस पुँजीवादका लागि मात्र तयार भएको छ, त्यसकारण क्रान्तिपश्चात् सत्ता बुर्जुवा वर्गको हातमा सुम्पिनुपर्छ र सर्वहारावर्गले बुर्जुवावर्गमाथि बुर्जुवा लोकतान्त्रिक कार्यभारहरु पूरा गर्न दवाव मात्र दिनुपर्छ । बोल्सेभिकहरुको मतरुसी बुर्जुवावर्गको घाँटी त्यहाँको सामन्तहरुसंग जोडिएको हुँदा उनीहरुले क्रान्तिको नेतृत्व गर्न सक्दैनन् भन्ने थियो । त्यसकारण केवल सर्वहारावर्गले मात्रै आगामी क्रान्तिको नेतृत्व गर्दै क्रान्तिका कार्यभारहरु पूरा गर्न सक्छन् । रोजा लक्जम्बर्ग पनि बोल्सेभिकहरुको यो धारणा प्रति सहमत थिइन् । मेन्सेभिकहरुको राजनीतिक अडान चाहिं माथि उल्लेख भए जस्तै ऐतिहासिक भौतिकवादको यान्त्रिक व्याख्या तथा आर्थिक निर्धारणवादको आधारमा विकसित थियो ।
क्रान्तिकारी मार्क्सवादीहरुका लागि रुसी क्रान्तिको प्रश्न राष्ट्रिय नभएर अन्तराष्ट्रिय थियो र यसमा जति जिम्मेवारी रुसी सर्वहारावर्गको थियो, त्यति नै अन्तराष्ट्रिय, र मुख्यतः जर्मन सर्वहारावर्गको पनि थियो । यसै क्रममा कउत्स्की र मेन्सेभिकहरुको आलोचना गर्दै रोजाले आफ्नो निबन्ध ‘रुसी क्रान्ति’मा लेखेकी छन्, ‘रुसमा विकसित घटनाक्रमहरुले कउत्स्की र जर्मन सत्ताधारी समाजवादीहरुको सिद्धान्त र विचारलाई खण्डन गरिदिएको छ, जसअनुसार आर्थिक रूपमा पिछडिएको र मुख्यत कृषिप्रधान रुसमा सामाजिक क्रान्ति र सर्वहारा अधिनायकवादको निम्ति पाकिसकेको थिएन । यो सिद्धान्त, जसले रुसमा एक बुर्जुवा क्रान्तिलाई मात्रै व्यवहारिक देख्छ, रुसी मजदुर आन्दोलनको अवसरवादी प्रवृत्ति मेन्सेभिकहरुको पनि हो, र त्यसको फलस्वरूप उनीहरुले बुर्जुवा उदारवादीहरुसंग गठबन्धन गर्ने कार्यनीति तय गरेका छन् । उनीहरुका अनुसार रुसी क्रान्ति जारशाहीलाई सत्ताच्युत गरेपछि रोकिनु पथ्र्यो र क्रान्ति त्यसभन्दा अघि बढेर सर्वहारा अधिनायकत्वसम्म पुग्नुको कारण बोल्सेभिकहरुको गल्ति मात्र हो । र क्रान्तिले आफ्नो विकासक्रममा सामना गर्नुपरेका सबै समस्याहरुलाई उनीहरुले त्यहि गल्तिको नतिजाको रूपमा प्रस्तुत गरेका छन् । ‘व्यवहारिक रूपमा यो विचारले रुसी क्रान्तिको विकासक्रममा अन्तराष्ट्रिय र मुख्यत जर्मन सर्वहारावर्गलाई आफ्नो जिम्मेवारीबाट मुक्त गर्ने प्रयास गर्छ र यस क्रान्तिको अन्तराष्ट्रिय सम्बन्धलाई नकार्ने प्रयत्न गर्छ । विश्वयुद्ध र रुसी क्रान्तिका घटनाक्रमले यो प्रमाणित गर्दैन कि रुस समाजवादी क्रान्तिको निम्ति काँचो छ, बरु यो प्रमाणित गर्छ कि जर्मन सर्वहारावर्ग आफ्नो ऐतिहासिक कार्यलाई पूर्णता दिनको निम्ति काँचो छ ।’
बोल्सेभिकहरुले ‘जनताको बहुमत जित्ने’ प्रख्यात समस्याको निराकरण गरे, जुन समस्या जर्मन सामाजिक जनवादमाथि डरलाग्दो सपना जस्तै झुण्डीरहेको छ । संसदवादका प्रखर भक्तहरु जस्तै यी जर्मन सामाजिक जनवादीहरुले हरेक क्रान्तिमा संसदवादी नर्सरीको आफ्नो घरमा निर्मित विवेक प्रयोग गर्दछन, ‘केही गर्नुभन्दा पहिले तिमीहरुको बहुमत हुनुपर्दछ । क्रान्तिमा पनि यहि लागु हुन्छ भन्छन्, पहिले बहुमत बनाऊ अनि क्रान्ति गर । क्रान्तिको सही द्वन्द्ववादले भने यी संसदवादीहरुको विवेकलाई उनीहरुको टाउकामा उभ्याईदिन्छ । बहुमत मार्फत होइन, क्रान्तिकारी रणनीतिमार्फत बहुमत । यसरी बाटो अघि बढ्छ ।’
रोजाका अनुसार अन्तराष्ट्रिय तथा जर्मन सर्वहारावर्ग र तिनका नेतृत्वकर्ताको धोकाको कारण रुसी क्रान्तिले समस्या खेप्नुपर्यो । बोल्सेभिकहरुले बाध्यात्मक अवस्थामा मात्र संविधानसभा विघटन जस्ता केही विवादास्पद निर्णयहरु गरेका थिए । उनी भन्छिन्, ‘यसमा कुनै शंका छैन कि रुसी क्रान्तिका चालकहरु, लेनिन र ट्रट्स्कीले हरेक प्रकारका पासो र काँडाले भरिएको आफ्नो बाटोमा धेरै निर्णायक पाइलाहरु भित्री रूपमा ठूलो आनाकानी र अन्तरआत्माको हिंसात्मक विरोधकाबीच चालेका थिए ।’
रुसी क्रान्ति युरोपेली क्रान्तिको सुरुवात हुनुपथ्र्यो र रुसी क्रान्तिको समापन युरोपेली क्रान्ति, र मुख्यतः जर्मन क्रान्तिका साथ मात्र हुन सम्भव थियो । अन्यथा, रुसी क्रान्ति अनेकौं समस्यामा पर्ने निश्चित थियो । यहि विचार लेनिन, ट्रट्स्की, रोजा लगायतको थियो । रोजाका लागि बोल्सेभिकहरुको केही कार्यनीति अस्वीकार्य थिए तर ति सबै सहायक विषय थिए । प्रमुख विषय थियो, रुसी क्रान्तिको बचाउ र कसरी यसको एकांगीपना लाई तोड्ने ताकी बोल्सेभिकहरुका बाध्यात्मक गल्तिलाई चाँडो सच्याउन सकियोस् । त्यसैकारण पनि आफ्नो निबन्धमा उनले बोल्सेभिकहरुको तारिफ गर्न कुनै कन्जुस्याई गरेकी छैनन् ।
‘एउटा ऐतिहासिक समयमा एउटा पार्टीले जति बहादुरी, क्रान्तिकारी दूरदर्शिता र एकरुपता  प्रदर्शन गर्नुपर्ने हो, लेनिन, ट्रट्सकी र अन्य सबै कमरेडहरुले राम्रोसंग देखाएका छन् । पश्चिमा सामाजिक जनवादमा नभएका सबै क्रान्तिकारीका इज्जत र शक्तिको प्रतिनिधित्व बोल्सेभिकहरुले गरेका थिए। उनीहरुको अक्टोबर विद्रोह रुसी क्रान्तिको वास्तविक मुक्ति मात्र नभएर अन्तरराष्ट्रिय समाजवादको इज्जत पनि थियो ।’
रोजाले आफ्नो उक्त निबन्ध जर्मनीको एउटा जेलमा छँदा लेखेकी थिइन । त्यसबेला रुसभित्रबाट सही खबर पाउन निकै कठिन थियो । त्यसकारण उनले किसानहरुलाई जमीन पुनर्वितरण गर्ने बोल्सेभिक नीतिको आलोचना गरेकी थिइन् । उनी यसबारे बेखबर थिइन् कि सोभियत सत्ता मजदुरहरुको नेतृत्वमा थियो र उक्त सत्तालाई किसानहरुको सहयोग प्राप्त थियो । त्यस्तै, संविधानसभा विघटनबारे पनि उनीसंग त्यति प्रष्ट खबर थिएन । किनकि रुसी संविधानसभाको बसेको एकमात्र बैठकले भूमिसुधार, युद्धको अन्त्य र सोभियतहरुमा सत्ता हस्तान्तरणसम्बन्धि क्रान्तिको म्यान्डेटलाई पूर्णत अस्वीकार गरेको थियो र संविधानसभालाई निरन्तरता दिनुको मतलब रुसी क्रान्तिको अन्त्यको सुरुवात थियो । धेरै नैतिकतावादीहरुको निम्ति यो विरोधाभासपूर्ण निर्णय थियो र छ, किनकि जुन पार्टीले स्वतन्त्रता र व्यापक लोकतन्त्रको निम्ति लड्यो, त्यहि पार्टीले नै उक्त संविधानसभालाई भंग गर्यो । ती नैतिकतावादीहरुका लागि क्रान्ति भनेको रोमान्स मात्र हो । कठोर सत्य के हो भने क्रान्ति भनेको कालो र सेतो हुँदैन । क्रान्ति भनेको एक सामाजिक वर्ग र अर्को सामाजिक वर्गबीचको संघर्ष हो र यो तिनले सोचेजस्तो सुन्दर हुँदैन । रोजाले यी कुरा बुझेकी थिइन् । त्यहि भएर जब १९१८ मा जर्मन क्रान्ति सुरु भयो, उनले संविधानसभाको मागलाई पूर्णतया अस्वीकार गरिन् र सोभियतहरुजस्तै मजदुर काउन्सिलहरुको निर्माणका लागि अपिल गरिन ।
रोजाले आफ्नो उक्त निबन्धको अन्त्यमा लेखेकी छन्, ‘रुसमा जेजति हुँदैछ, ती सबलाई हामीले बुझ्न सकिन्छ र ति घटनाले टार्न नसकिने कारण र परिणामको सांग्लोलाई प्रतिबिम्बित गर्दछ । जसको सुरुवाती र अन्तिम बिन्दु हुन्छ जर्मन सर्वहारावर्गको असफलता र जर्मन साम्राज्यवादद्वारा रुसको कब्जा । हामीले लेनिन र अन्य कमरेडहरुसंग केही अलौकिक कुरा मागेको हुनेछ यदी हामीले उनीहरुबाट यस्तो अवस्थामा सर्वोत्तम लोकतन्त्र, सबैभन्दा उदाहरणयोग्य सर्वहारा अधिनायकत्व र प्रगतिशील समाजवादी अर्थतन्त्रको स्थापनाको आश राख्दछौं । आफ्नो दृढ क्रान्तिकारी अडान, उदाहरणयोग्य कार्यबल र अन्तराष्ट्रिय समाजवादप्रतिको अटुट निष्ठामार्फत उनीहरुले ती सबै कुराको योगदान दिएका छन् जुन त्यस्तो कठिन परिस्थितिमा दिन सकियोस् ।… उनीहरुले चमत्कार गरेर देखाउने होइन । त्यस्तो विश्वयुद्धले गर्दा थाकेको, साम्राज्यवादद्वारा घाँटी निमोठीएको र अन्तराष्ट्रिय सर्वहारावर्गबाट विश्वासघात भएको र एक्लिएको भूमिमा आदर्श र गल्तिविहिन सर्वहारा क्रान्ति एउटा चमत्कार नै हुनेछ ।’
यसरी हामीले सजिलै थाहा पाउन सक्छौं कि लेनिन र रोजा लक्जम्बर्गबीच धेरै कुरामा समानता थिए र केही कुरामा बिमति । जति आलोचना उनले बोल्सेभिकहरुको गरेकी थिइन, त्योभन्दा धेरै उनले मेन्सेभिक र कउत्स्की र मध्यपन्थिको गरेकी थिइन । प्राय सबै राजनीतिक तथा सैद्धान्तिक प्रश्नमा उनी लेनिनकै नजिक थिइन् । उनले जर्मन मार्क्सवादी आन्दोलनभित्र सबैभन्दा पहिले एडुवार्ड बर्नस्टिनको सुधारवादको जोडदार विरोध गरेकी थिइन् आफ्नो विश्वविख्यात कृति ‘सुधार वा क्रान्ति ?’ मार्फत । साथै, कउत्स्की र मेन्सेभिकहरुले प्रतिनिधित्व गर्ने अवसरवादी प्रवृत्तिको पनि उनले खुलेरै विरोध गरिन् । तर आज रोजालाई लेनिनको विरुद्धमा प्रयोग गर्नेहरु प्राय जसो त्यहि कउत्स्कीवादी र मेन्सेभिकवादीहरु छन् ।
लेनिन र रोजा दुवै भगवान थिएनन्, मान्छे थिए । उनीहरु दुवै आफ्ना सबै मतमा सही थिएनन् । उनीहरुले एकले अर्कालाई त्यो दिए, जुन उनीहरु आफूसंग थिएन । लेनिनले रोजा लक्जम्बर्गको सम्झनामा एउटा पुरानो रुसी भनाइ राखेका थिए, ‘हो, चील कहिलेकाहीं कम उचाईबाट उड्छ । तर कुखुराले कहिल्यै पनि चीलजतिको उचाई लिन सक्दैन ।’ लेनिनका निम्ति रोजा चील थिइन् । यी दुवैका बारे विश्लेषण गर्दा उनीहरु दुवैलाई राम्रोसँग बुझेर, उनीहरुका वौद्धिक विमर्श पढेर मात्र विश्लेषण गर्न जरुरी हुन्छ ।

Dec 22, 2016

पदार्थ, चेतना र प्रतिबिम्बन

कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स

आफ्नो जीवनको सामाजिक उत्पादन गतिविधिमा मान्छे यस्तो खास सम्बन्धमा बाधिन्छ, जुन अपरिहार्य र मान्छेको चाहनाभन्दा स्वतन्त्र हुन्छ । उत्पादन–सम्बन्धको यो पक्ष उत्पादनको भौतिक शक्तिको विकासको एउटा निश्चित तहअनुरूप हुने गर्दछ । यस्तो उत्पादन–सम्बन्धको पूर्ण योग नै समाजको आर्थिक ढाँचा हो । यो असली आधार हो, जसमाथि कानुनी, राजनीतिक माथिल्लो ढाँचा (उपरीसंरचना) उभिएको हुन्छ र यसैअनुरूप सामाजिक चेतनाको निश्चित रूप निर्माण हुने गर्दछ । भौतिक जीवनको उत्पादन प्रणालीले जीवनको समग्र सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निर्धारण गर्दछ । मान्छेको चेतनाले उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु यसको साटो उसको सामाजिक अस्तित्वले नै उसको चेतनालाई निर्धारण गर्दछ । आफ्नो विकासको एउटा खास स्थितिमा पुगेर समाजको भौतिक उत्पादन शक्तिहरू तत्कालीन उत्पादन–सम्बन्धहरूसित अर्थात् यसैलाई कानुनी शब्दावलीमा यसो पनि भन्न सकिन्छ– ती सम्पत्ति सम्बन्धहरूसित टकराउँछन् । जसअन्तर्गत त्यस समयमा उनीहरूले काम गर्नुपर्ने हुन्छ । यस्तो सम्बन्ध उत्पादन शक्तिहरूको विकासअनुरूप नरही त्यसका लागि वाधक बन्ने गर्दछन् । अनि सुरु हुन्छ, सामाजिक क्रान्तिको युग । आर्थिक आधारमा फेबदल हुने गर्दछ । यस्तो रूपान्तरणमाथि विचार गर्दा एउटा विभेदलाई हमेसा ध्यानमा राख्नुपर्दछ । एकातिर उत्पादनका साथ निर्धारित गर्न सकिन्छ । अर्कातिर ती कानुनी, राजनीतिक, धार्मिक, सौन्दर्यबोधात्मक तथा दार्शनिक सङ्क्षिप्तताभन्दा विचारधारात्मक रूप छ, जसमाथि मान्छे यस टक्करप्रति सचेत हुन्छ र त्यससित सङ्घर्ष गर्दछ । कुनै व्यक्तिले आफ्नो बारेमा के सोच्दछ भने कुराबाट हाम्रो उसप्रतिको धारणा निमार्ण हुन्न । त्यसैगरी हामी रूपान्तरणसम्बन्धी त्यस युगको बारेमा स्वयम् त्यस युगको चेतनाको आधारमा नै समाजका उत्पादन–शक्तिहरू र उत्पादन–सम्बन्धहरूको वर्तमान टक्करका आधारमा नै यस किसिमको चेतनाको व्याख्या गरिनुपर्दछ ।

समाजवाद र धर्म – भीआई लेनिन

धर्म आर्थिक शोषणको एउटा यस्तो रूप हो जसले हरेक ठाउँ अरूका लागि निरन्तर श्रम गर्ने, अभाव र एकाङ्कीपनका कारण पहिलेदेखि संत्रस्त भएका जनसमूहको जीवनलाई अझ धेरै भार थपिदिएको छ । शोषकवर्गका विरुद्धको सङ्घर्षमा शोषितवर्गको अशक्तताले मृत्युपछि सुखद् जीवनको एउटा विश्वासको परिकल्पनाले त्यस्तै स्थितिको बोध गराएको छ जसरी प्रकृति–विरुद्धको सङ्घर्षका क्रममा आदिम जातिहरूको अनभिज्ञताले देउता, दानव, चमत्कार आदि कुरा हो सृष्टि गरिदिएको थियो । मान्छेहरू जो जीवनभर मिहिनेत गरेर पनि अभावै–अभावको जीवन व्यतीत गर्न वाध्य छन् धर्म, तिनलाई यस लोकमा विनम्र भएर धर्मवान हुन र परलोकमा सुख प्राप्त गर्ने आशा र सान्त्वनाको उपदेश दिने गर्दछ । परन्तु ती मान्छेहरू, जो अरूको श्रममा मोजमस्ती गर्छन् धर्म, यस जीवनमा मालिक बनेर दानदक्षिणा दिने उपदेश दिंदै शोषणको रूपमा उसको सम्पूर्ण अस्तित्व र औचित्य सावित गर्ने आधार प्रदान गर्दछ अनि स्वर्गमा आनन्द र सुख प्राप्त गर्ने सस्तो मोलमा टिकट बिक्री गर्ने गर्दछ । धर्म जनताका लागि अफिम हो । धर्म एकप्रकारको आत्मिक मदिरा हो (नशा) हो जसमा पुँजीका दासहरू आफ्नो मानवीय छबि धेरथोर मानवोचित जीवनका भागहरू पनि बगाउने गर्दछन् ।

त्यो दास जो आफ्नो दासत्वप्रति सचेत बनिसकेको छ, आफ्नो मुक्तिको लागि सङ्घर्षमा समाविष्ट भइसकेको छ । ऊ अर्धस्वतन्त्र भइसकेको छ । ठूला–ठूला कलकारखानामा काम गर्दै प्रशिक्षित बनेको आधुनिक वर्ग–चेतनशील मजदुर, सहरी जीवनद्धारा प्रवुद्ध बनेको मजदुर, धार्मिक पाखण्डलाई घृणापूर्वक अस्वीकार गर्दछ र स्वर्गको चिन्ताको कुरालाई पादरीहरू र पुँजीवादी धर्मान्धहरूलाई छाडेर एउटा सुन्दर जीवनको लागि सङ्घर्षरत रहन्छ । आजको सर्वहारावर्ग यस्तो समाजवादको पक्षधर बन्दछ जसले धर्मको कुहिरो–विरुद्ध विज्ञानको सहारा लिएर यस धर्तीमा सुन्दर जीवनको स्थापनाको सङ्घर्षका लागि वर्तमानका मजदुरहरूलाई एकजुट पार्दै मृत्युपछिको त्यो काल्पनिक विश्वासबाट मुक्त पार्दछ ।

धर्मलाई एउटा निजी मामिला ठान्नु ठीक हुन्छ । समाजवादीहरू प्रायः गरेर धर्मप्रतिको आफ्नो दृष्टिकोण यसै अर्थमा प्रयोग गर्दछन् तर यस भनाइको ठीक–ठीक व्याख्या गरेर मात्र गल्ती र भ्रमबाट बच्न सकिन्छ । अर्थात् यसको सही व्याख्या हुनु जरुरी छ । परन्तु जहाँसम्म हाम्रो पार्टीको कुरा छ, यसलाई हामी कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्तैनाँै । धर्मसँग राज्यको कुनै पनि सम्बन्ध हुनुहुन्न र धार्मिक सङ्घ–संस्थाको पनि सरकारी सत्तासित कुनै सरोकार हुनुहुन्न । प्रत्येक व्यक्तिलाई पूर्ण स्वतन्त्रता हुनु आवश्यक छ । उसले कुनै धर्म मानोस् अर्थात् नास्तिक नै किन नहोओस् जसरी सामान्य रूपमा एउटा समाजवादी हुने गर्दछ । धार्मिक विश्वासका आधारमा जनताका साथ भेद्भाव गर्नु सर्वथा असह्य छ । सरकारी कागजपत्रमा नागरिक र धर्मको प्रसङ्ग बिनाहिचकिचाहट समाप्त पारिदिन आवश्यक छ । चलिरहेका चर्चाहरूलाई कुनै सरकारी सहायता दिनुहुन्न, न त पादरी तथा अन्य धार्मिक सङ्घ–सस्थाहरूलाई राज्यका तर्फबाट कुनै किसिमको भत्ता नै दिनु ठीक हुन्छ । यिनीहरूले सम–विचार अवलम्बन गर्ने नागरिकहरूको पूर्ण रूपमा स्वतन्त्र संस्था बन्नुपर्दछ ।

नयाँ जनवादको संस्कृति – माओ त्से तुङ

कुनै खास संस्कृति, कुनै खास समाजको राजनीति र अर्थ–व्यवस्थाको विचारधारात्मक प्रतिबिम्बन हो । चीनमा साम्राज्यवादी संस्कृति छ, जुन राजनीतिक र आर्थिक क्षेत्रमा साम्राज्यवादी शासन वा आशिंक शासनको प्रतिबिम्बन हो । साम्राज्यवादीहरूले चीनमा सोझै सञ्चालित सांस्कृतिक सङ्गठनहरूले मात्र होइन, सबै लाज–शरम पचिसकेका थुप्रै चिनियाँहरूले पनि यस संस्कृतिलाई पोस्ने काम गरेका छन् । दास विचारधारा भएका सबै संस्कृति यसै फँटमा पर्दछन् । चीनमा यहाँको अर्धसामन्ती राजनीति र अर्थव्यवस्थालाई प्रतिबिम्बित गर्ने, अर्धसामन्ती संस्कृति पनि छ र नौलो संस्कृति तथा नौलो विचारहरूको विरोधमा कम्फुसियसको पूजा, उसका धर्मसूत्रहरूको अध्ययन, पुरानो नैतिक आचारसंहिता र पुराना विचारको पुर्पच्छे गर्ने सबै मानिसहरू यस संस्कृतिका धुपौरेहरू हुन् । साम्राज्यवादी संस्कृति र अर्धसामन्ती संस्कृति नजिकका दाजुभाइ हुन् र तिनले चीनको नौलो संस्कृतिले साम्राज्यवादी सांस्कृतिक एकता कायम गरेका छन् । यसखालको प्रतिक्रियावादी संस्कृतिले साम्राज्यवादीहरू र सामन्ती वर्गको सेवा गर्छ, त्यसैले यसलाई नष्ट गर्नुपर्छ । यसलाई नष्ट नगरी कुनै पनि खालका नौलो संस्कृतिको निमार्ण गर्न सकिंदैन । विनास नभई निर्माण हुँदैन, नथुनी प्रवाह हुँदैन र स्थिरता नभई गति हुँदैन । यी दुवै जीवन–मरणको सङ्घर्षमा अल्झिएका छन् ।
नौलो संस्कृतिको हकमा, यो नौलो राजनीति र नौलो अर्थ–व्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो र यसले तिनकै सेवा गर्छ ।

पपुलर पोस्टस्