नेपालको अवस्था अत्यन्त जटिल बन्दै गइरहेको छ । आजकै अवस्था कायम रह्यो भने अबका केही दिनमा नेपालका सडकहरूमा यातायातका साधन देखिने छैनन्, नेपाली जनताका भान्सामा ग्याँसका सिलिण्डर रित्तिने छन् र अत्यावश्यक उपभोग्य सामग्रीको हाहाकार हुने छ । नेपालले एकातिर गम्भीर मानवीय संकट र अर्कोतिर युद्धजस्तो त्रासदीको अवस्था भोग्नुपर्ने संकेतहरू देखिन थालेका छन् ।
मधेसी दल र तिनका नेताहरूले आफ्नो आन्दोलन अपहृत भइसकेो हुनाले त्यो फिर्ता लिन संघर्ष गर्नुपर्छ र यसमा नेपालका गैरमधेसी समुदायले पनि साथ दिनुपर्छ । अहिलेका लागि मधेसी दलको पहिलो काम त्यो हो । उनीहरूको आन्दोलन भारतविरुद्ध हुनुपर्छ, किन हाम्रा मुद्दा खोसर हामीलाई राष्ट्रघातिजस्तो सावित गर्न खोजेको भनेर । त्यसैले नेपाल राज्यविरुद्धको आन्दोलन उनीहरूले तत्काल रोकेर भारतको कब्जाबाट आफ्ना माग र आन्दोलन फिर्ता ल्याउने इमान्दार प्रयास गर्नुपर्छ । जबसम्म उनीहरूले त्यो आन्दोलन फिर्ता ल्याउन सक्दैनन् त्यसलाई आफ्नो भन्नु हास्यापद मात्रै होइन षड्यन्त्रमूलक पनि ठहरिने छ ।
नेपालको संविधान २०७२ जारी भएपछि शान्ति र सम्बृद्धिको आशा गरेका नेपालीहरूले माथि उल्लेखित अनपेक्षित खतराको सामना गर्नुपरिरहेको छ । नयाँ संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई ढाल बनाएर दक्षिणी छिमेकीले आफ्नो प्रभुत्व कायम राखिरहन चलाएको तिकडमले नेपालको स्वतन्त्रता र स्वाधिनताका सबै तन्तुहरूलाई ध्वस्त बनाइदिने खतराबीच अहिले हामी बाँचिरहेका छौं । मधेसी दलहरूको ‘नाका धर्ना’ले उत्पन्न अवरोधलाई कारण देखाएर भारतले अघोषित नाकाबन्दी सुरु गरेको छ र यो अनिश्चितकालिन पनि हो ।
भारतको अघोषित नाकाबन्दीको अन्त्य कसरी हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न भने धेरै घोत्लिनुपर्ने अवस्था छैन । भारतका अभीष्टहरू पूरा नहुञ्जेल यो नाकाबन्दी कायम रहने निश्चित छ । मधेसी समुदायको असन्तुष्टिलाई भजाउँदै उनीहरूका मुद्दालाई अपहरण गरेर भारतले आफ्ना मुद्दा बनाएको छ र ती असन्तुष्टि सम्बोधन हुने वित्तिकै नाकाबन्दी हट्ने छ । यसबाट भारतले आफ्नो प्रभुत्वको निरन्तरता कायम भएको ठान्ने छ र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहने उसको ‘अधिकार’ कायम रहिरहने छ ।
अहिले देशका सामु ऐतिहासिक संकट छ । यो संकट पार गर्न नेपालीहरूका अगाडि दुईवटा बाटो मात्रै छन् । पहिलो आत्मसमर्पण गर्ने र दोस्रो स्वाधिनताका लागि निर्णायक लडाईंको चरणमा प्रवेश गर्ने ।
आत्मसमर्पणको अर्थ हो भारतले चाहेअनुसारको संविधान संशोधन गर्ने । अब मधेसी दल र आन्दोलनकारीका माग भारतका माग हुन् । मधेसको आन्दोलन पनि लगभग भारतकै आन्दोलन हो । मधेसी दलहरूले भारतले घुमाउरो पाराले नेपालसमक्ष प्रस्तुत गरेको ७ बुँदे संशोधनलाई स्वागत गरेका छन्, आन्दोलनका लागि भारतीय भूमिको प्रयोग गरेका छन् । त्यसैले उनीहरूले आफ्ना एजेण्डा र आन्दोलनको स्वामित्व गुमाएका छन् । अब नेपाल राज्यले ती माग र त्यो आन्दोलनलाई सम्बोधन गर्नु भनेको भारतका माग र भारतीय भूमिमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्नु हो ।
तसर्थ, हाम्रा अगाडि स्वाधिनताको मूल्यमा अब कि ती माग र आन्दोलनलाई सम्बोधन गरी आत्मसमर्पण गर्ने विकल्प छ कि सिंगो नेपाल एकजुट भई स्वाधिनताका लागि कठोर संघर्ष गर्ने बाटो छ । पहिलो बाटो रोजेमा मधेसी दल र तिनका नेताहरू आफू विजयी भएको ठान्ने छन् तर मुलुकको स्वाधिनता सँधैंका लागि बन्धक बन्ने छ । दोस्रो बाटो रोजेमा मुलुकले अनिश्चितकालिन संकटको सामना गर्नुपरे पनि स्वाधिनताको रक्षा र सम्बृद्धि हुने छ । कुन बाटो रोज्ने भन्ने निर्णय नेपाली जनताको सामूहिक विवेक र व्यवहारमा भर पर्छ ।
यहाँ मधेसी समुदायका असन्तुष्टिलाई सम्बोधन नै नगरी दोस्रो बाटो रोज्नुपर्छ भन्ने आशय होइन । मधेसी समुदायको असन्तुष्टिलाई संवोधन गरिनुपर्छ । तर, स्वाधिनताको सवाल उत्पन्न भइसकेको हुनाले पहिले भारतसँगको समस्या सुल्झाउनुपर्छ । मुलुकको स्वाधिनता नै संकटमा परेको बेला कुनै एक समुदायका समस्या महत्वपूर्ण हुँदैनन् । मुलुक हस्तक्षेपको संगीन परिस्थितिबाट मुक्त भएपछि मधेसी समुदायको माग सम्बोधन हुनुपर्छ । मुलुकलाई हस्तक्षेपको यो दुष्चक्रबाट मुक्त गर्नु मधेसी समुदायको पनि बराबरीको दायित्व हो अरु समुदायको जत्तिकै ।
मधेसी मुद्दाको अपहरण गरेर भारतले नेपालमाथि लाद्न खोजेको प्रभुत्वलाई जायज हो भन्ने सोच राष्ट्रघाति हो । हिजोका दृष्टान्तहरूको आडमा आज पनि भारतको दादागिरीलाई उचित ठान्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाउने भारतको अधिकार हो भन्ने कुतर्क पनि स्वाधिनता विरोधी हो । विगतमा नेपालीहरूले भारतको साथ मागेका थिए सिंगो देशको पद्दति बदल्न । देशको एउटा जाति वा भूखण्डले विदेशी सहयोग माग्न मिल्दैन । मधेसी दलहरूले सिंगो नेपालको हितमा काठमाडौंको सत्ता उखेल्न खोजेका होइनन् । उनीहरूको मुद्दा नितान्त जातीय हो । जातीय मुद्दामा लड्ने अधिकार उनीहरूलाई छ तर विदेशीको आडमा लड्न पाउने हक छैन । निश्चित जातिका नाममा सीमित भूखण्डका लागि विदेशीको आड खोजेका छन् उनीहरूले । एक अर्थमा यो राष्ट्रघात हो ।
त्यसैले, मधेसी दल र तिनका नेताहरूले आफ्नो आन्दोलन अपहृत भइसकेो हुनाले त्यो फिर्ता लिन संघर्ष गर्नुपर्छ र यसमा नेपालका गैरमधेसी समुदायले पनि साथ दिनुपर्छ । अहिलेका लागि मधेसी दलको पहिलो काम त्यो हो । उनीहरूको आन्दोलन भारतविरुद्ध हुनुपर्छ, किन हाम्रा मुद्दा खोसर हामीलाई राष्ट्रघातिजस्तो सावित गर्न खोजेको भनेर । त्यसैले नेपाल राज्यविरुद्धको आन्दोलन उनीहरूले तत्काल रोकेर भारतको कब्जाबाट आफ्ना माग र आन्दोलन फिर्ता ल्याउने इमान्दार प्रयास गर्नुपर्छ । जबसम्म उनीहरूले त्यो आन्दोलन फिर्ता ल्याउन सक्दैनन् त्यसलाई आफ्नो भन्नु हास्यापद मात्रै होइन षड्यन्त्रमूलक पनि ठहरिने छ ।
स्वाधिनताका लागि दुःख–कष्ट, अभाव र अनिष्ट बेहोर्ने कि आत्मसपर्ण गर्ने भन्ने प्रश्न देशभक्तहरूलाई सोध्नै नपर्ने प्रश्न हो । उत्तर प्रष्ट छ नेपालीहरूले स्वाधिनताको लागि अथक र अन्तहिन संघर्ष गरिरहेका छन् र अहिलेको नाकाबन्दीले त्यो रोकिने छैन । बरु अब सुरु हुने संघर्ष निर्णायक हुनेछ जसले सम्भावनाका हजारौं ढोकाहरू खोल्ने छ, यस्ता खालका राष्ट्रिय संकटको तयारी र व्यवस्थापनका लागि सजग बनाउने छ ।
अहिले मुलुक अघोषित युद्धमा होमिएको छ । युद्धकाल हो यो । यो युद्ध जित्ने कि हार्ने भन्ने नेपाली जनताको सामूहिक विवेक र व्यवहारमैं निर्भर छ । नाकाबन्दीका दुष्प्रभावका अगाडि घुँडा टेकेर राष्ट्रिय स्वाधिनतालाई बन्धकी राख्ने कि अन्त्यहिन लडाईं लड्दै (जारी राख्दै) स्वाधिनता, स्वतन्त्रता र आत्मनिर्भरतालाई बलियो बनाउने ? घुँडा टेक्ने भन्ने उत्तर अवश्य पनि नहोला । त्यसो भए हामीले यो देशका लागि यी दश काम गर्नैपर्छ ।
१. मधेसी समुदायका अपहृत मुद्दा फिर्ता ल्याऔं : भारतले मधेसी समुदायका मुद्दा अपहरण गरेको छ । तिनलाई फिर्ता नल्याइएसम्म ती मधेसका मुद्दा हुने छैनन् । भारतद्वारा सिर्जित राष्ट्रिय संकटको एकताबद्ध सामना गरी भूपरिवेष्ठित राष्ट्रको अधिकार हासिल गरेर समुन्द्रसम्मको पहुँच सुनिश्चित नभएसम्म ती मुद्दामा बहस गर्नु भनेको भारतका मुद्दामा बहस गर्नु हुने छ । तसर्थ, मधेसी समुदायले वृहत राष्ट्रिय स्वार्थका लागि आन्दोलन रोकेर राष्ट्रिय संकटसँग जुध्न एकतावद्ध हुनुपर्छ ।
२. जातीय सदभावको सम्वर्धन गरौं : परिस्थिति अत्यन्त संवेदनशील भएको हुनाले जातीय सद्भाव अझै सुदृढ गर्नु आवश्यक छ । सबै जातजाति र समुदायको साझा पहिचान नेपालीपन हो । आफ्नो समुदायका लागि आवाज उठाउने र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छ । त्यो अधिकारको सम्मान गर्नुपर्छ भन्ने भावना बोक्नु यतिबेला अत्यावश्यक छ ।
३. भारतीयको होइन भारतको विरोध गरौं : भारतीय जनता सधैं नेपालका मित्र हुन् । भारत राष्ट्रका नीतिहरूका कारण हाम्रो स्वाधिनता सँधैं पिल्सिएको हो । दुई मुलुकबीचको यो टक्करमा नागरिकस्तरको सदभाव कायम रहनुपर्छ अन्यथा हामी बर्बर जाति कहलाइने छौं ।
४. अनिष्टका लागि तयार होऔं : भारतले मानवियतासमेत प्रदर्शन नगरी अर्को नालापानी बनाउन सक्छ यो देशलाई । त्यसैले अकल्पनीय अनिष्टका लागि तयार रहौं । जनजीवन अत्यन्त दुष्कर बन्न सक्छ, जताततै अभाव हुन सक्छ, सडकहरूमा गाडी गुड्न छाडनेछन्, दाउरामा खाना पकाउनु पर्नेछ, आपूर्ति व्यवस्था ठप्प भएपछि सबै क्षेत्र तहसनहसतर्फ लाग्ने छ । यस्तो अनिष्ट लामो समय चल्न सक्छ ।
५. राष्ट्रिय एकताको सूत्र पहिचान गरौं : हामी नेपाली हौं, हाम्रो देश नेपाल हो भन्ने मात्रै सोचौं । नेपाल रहे नेपाली रहने हो । नेपालको स्वाधिनता नै हाम्रो स्वाधिनता हो । नेपालसँग जोडिएको हाम्रो पहिचानभन्दा ठूलो पहिचान अरु होइन भन्ने सोचका साथ संघर्ष गर्दा एकता मजबुत हुने छ ।
६. अरु मुद्दा झिनामसिना हुन् भन्ने ठानौं : राष्ट्रिय स्वाधिनताबाहेकका अरु मुद्दा अहिलेका लागि गौंण हुन् भन्ने ठान्न सकियो भने हाम्रो विजय निश्चित छ ।
७. खबरदारी गराउँदै नेतृत्वप्रति विश्वस्त रहौं : हाम्रा राजनीतिक दल र तिनका नेताहरू, संसद, सरकार र राज्यका संयन्त्रहरू नै यतिबेला राष्ट्रका अभिभावक हुन् । उनीहरूमाथि विश्वास गरौं । अनावश्यक आलोचना र विकल्पको खोजीले अवस्था झन् बिग्रिने छ । जनता उनीहरूका साथमा छ भन्ने देखाउनु पनि पर्छ । तर, राजनीतिक नेतृत्वले घुँडा नटेकोस् भन्नेमा सजग रहँदै खबरदारी गरिरहनुपर्छ । यसका लागि जनसमुदायले चोक–चोक र गल्ली–गल्लीमा प्रदर्शन गरिरहनु आवश्यक छ ।
८. संकटमा सम्भावना छ त्यसलाई चिनौंं : अहिलेको संकटले अथाह सम्भवनाहरू बोकेको छ । हामीबीचको फुटले के हुँदो रहेछ भन्ने पाठ पनि हो यो संकट । यो देश सबैको रहेछ भन्ने शासकहरूले बुझ्ने छन् । आत्मनिर्भरता कति महत्वपूर्ण हुँदो रहेछ र यस्ता संकट आउन नदिन के गर्नुपर्दो रहेछ भन्ने ज्ञान बढ्ने निश्चित छ । त्यसैले, यो संकटका सकारात्मक पक्षतिर धेरै ध्यान दिनुपर्छ ।
९. अन्तर्राष्ट्रिय समुदाय पनि छ भन्ने बुझौं : नेपाल दुई ठूला छिमेकीका बीचमा पहाडैपहाडको देश मात्रै होइन । यो विश्व समुदायको सदस्य पनि हो । निश्चिन्त रहौं हामी लड्न थाल्यौं भने विश्व समुदाय अगाडि आउने छ हाम्रो साथ दिन । फलस्वरूप विश्व समुदायको रहोबरमा हामीले स्वाधिनताको नयाँ उचाई प्राप्त गर्ने छौं र हाम्रो दुःखको प्रमुख कारक सँधैका लागि मेटिने छन् ।
१०. बीरताको नयाँ आयाम कायम गर्ने अवसर नगुमाऔं : केही समयको दुःख र कष्टले हामी हाम्रो बीरतापूर्ण इतिहासमा नयाँ आयाम थप्न सक्छौं । युद्ध जित्न आणविक बम चाहिन्न, ठूलो सैन्य क्षमता चाहिन्न भनेर नयाँ सिद्धान्त प्रतिपादन गर्ने बेला पनि हो । दुःख–कष्ट सहने क्षमता नै हाम्रो हतियार बन्नुपर्छ । हाम्रो जुझारूपन तिम्रा मिसाइलभन्दा घातक छ भनेर देखाईदिनुपर्छ अब ।
र, अन्त्यमा । देश अहिले युद्धमा छ र प्रत्येक देशभक्त नेपाली सैनिक हो । हाम्रो एकता, युद्ध जित्ने कटिवद्धता र कुनै पनि आकार–प्रकारको पराधिनताविरुद्धको संकल्प हाम्रा हतियार हुन् । यिनलाई झन् माझौं र पुर्खाहरुको प्रयत्नमा ढुंगा थपौं ।
No comments:
Post a Comment